३४ दिनपछि बेनी-जोमसोम सडक जोड्ने ट्रयाक खुल्यो
जोमसोम : राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्र्तगत बेनी-जोमसोम जोड्ने ७६ किमी सडकको एकतर्फी ट्याक ३४ दिनमा खुल्ला भएको छ । कालिगण्डकी करिडोर निर्माणधिन काभ्रभीर सडकको शर्मा गजुरमुखि निर्माण कम्पनीका जनशक्ति र उपकरण,संघ तथा प्रदेश सांसद ,प्रशासन ,सुरक्षा निकाय र जनप्रतिनिधिको सामूहिक पहलमा सोमबार बिहान बेनी-जोमसोमको सिधा ट्याक खुल्ला भएको करिडोर सडकका सब-इन्जिनियर किरण घिमिरेले जानकारी दिए ।
अविरल वर्षाका कारण गत श्रावण ५ गते बेनी-जोमसोम ७६ किमी सडकको दर्जनौं स्थानमा बाढी/पहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो ।बेनी-जोमसोम जोड्ने सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गापाको तातोपानी,दाना र रुप्से झरना र मुस्ताङको थासाङ गापा—४ को लेते खोला ,कैकु ,घासा र घोप्टे ओढारमा बाढी पहिरोले सडक अवरुद्ध भएको थियो ।
यस्तै ,म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र काभ्रेभीरको तुरतुरे धाराको अग्लो पहाडमा विस्तार भएको सडकमा सुख्खा पहिरो जादा त्यहा करिव ७० मिटर सडक संरचना भासिएको थियो । मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकको सबैभन्दा जोखिम र अप्ठ्यारो सडकको रुपमा काभ्रेभीर सडक मानिएको छ । ठूला-ठूला कडा चट्टाने पहरा फोरेर विस्तार भएको उक्त स्थानमा बर्सेनि पहिरोले सडक अवरुद्ध हुँदै आइरहेको छ ।
करिडोरले अन्य स्थानमा सडकको एकतर्फी सडक खुल्ला गरेपनि काभ्रेभीरको सडक खोल्न एकसाता अघि पहल गरेको थियो । बेनी-जोमसोम सडकको सिधा यातायात सञ्चालन गर्न म्याग्दीको रुप्सेमा करिव २ सय मिटर सडक डाइभर्सन निर्माण गरी एकतर्फी सडक सूचारु गरेको सब-इन्जिनियर किरण घिमिरेले बताए । त्यहाँ साविक सडकको करिव २५ मिटर तलबाट वैकल्पिक सडक निर्माण भएको उनले जानकारी दिए । यस्तै घोप्टे ओढार र म्याग्दीको दानमा सववेश निर्माण गरी सडक सूचार गरिएको थियो । यस्तै, म्याग्दीको रघुगंगा गापाको गलेश्वरको क्षतिग्रष्त बेलिब्रिज २ साता अघि सञ्चालनमा ल्याएको थियो ।
पछिल्लो सयम बेनी-जोमसोम जोड्ने एकमात्र अवरुद्ध काभ्रेभीर सडकको निर्माण कम्पनी,सांसद ,सुरक्षा निकाय र जनप्रतिनिधिले निकै जोखिम मोलेर सडक आउजाउ सहज बनाएको थासाङ-४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए । यो संगै अब बेनी-जोमसोम सडकमा एकतर्फी कामचलाउका रुपमा सडकको ट्याक खुल्ला भएको वडाध्यक्ष शेरचनले बताए । त्यहाँ सडक खोल्न बिस्पोटक पदार्थको सहयोग लिएको थियो । लगातार मौसम प्रतिकुलताका कारण सडक स्तरोन्नति गर्न असहज पर्दै आईरहेको उनको भनाइ छ ।
बेनी-जोमसोम सडकको सिधा ट्याक खुल्ला गर्न मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन ,प्रदेश सांसदद्धय महेन्द्रबहादुर थकाली र चन्द्रमोहन गौचन लगायतको टोली काभ्रेभीर सडकमा पुगेको सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए । सांसदहरुकै उपस्थितीमा पोखराबाट आउँदै गरेका एक दर्जन मालवाहक ट्रकलाई मुस्ताङ प्रवेश गराइएको थियो ।
बेनी-जोमसोम सडकमा लगातार एक महिना लामो सडक अवरुद्धले मुस्ताङमा खाद्यान्न ,पेट्रोलियम पदार्थ र निर्माण समाग्री ढुवानीमा समस्या परेको सांसद महेन्द्रबहादुर थकालीले बताए । यस्तै सडक अवरुद्धले मुस्ताङमा उत्पादित स्याउ ,आलु र गाजर लगायतका कृषिजन्य वस्तुको बजारिकणमा समस्या पर्दै आइरहेको थियो । सांसद थकालीले लामो र अथक प्रयासका बावजुद सडक संञ्चालन गर्न सफल भएको र यसले मुस्ताङलाई ठुलो राहत दिलाउने उल्लेख गरे ।
बर्सेनि राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड र मुस्ताङको थासाङ खण्डमा कमजोर भू-वनावटका कारण बाढी/पहिरो र नदी कटानले सडक अवरुद्ध हुने गर्छ ।