बागलुङमा एक साता निषेधाज्ञा थप
बागलुङ : समुदायस्तरमा कोरोना संक्रमण र जोखिम बढ्दै गएपछि बागलुङ नगरमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ। बागलुङ नगर क्षेत्रमा संक्रमित र उनीहरुको सम्पर्कमा भएकाहरुलाई समेत ठुलो संख्यामा संक्रमण भएको पाइएपछि थप कडाइका साथ एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए।
सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङ र सरोकारवाला बीचको बैठकले बुधबार रातिदेखि आगामी भाद्र १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयले यसअघि मंगलबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।
बैठकले बैंक, सहकारी तथा वित्तिय संस्था पनि पुर्ण रुपमा बन्द गर्ने र अत्यावश्यकीय खाद्य, तरकारी लगायतका पसल दिनमा बिहान बेलुका सञ्चालन खुल्ला गरिएकोमा एक समय मात्र बिहान ७-९ बजेसम्म मात्र खुलाउने निर्णय गरेको प्रजिअ न्यौपानेले बताए। संक्रमितको फेरि संख्या बढ्न थालेपछि अब लक्षण देखिएकालाई धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको आइसोलेसन तथा लक्षण नदेखिएकालाई धौलागिरी बहिरा स्कुल रामरेखामा राख्ने गरी व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ।
बागलुङ नगरपालिकामा दुई व्यवसायी महिलामा कोरोना संक्रमणपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसबाट ठुलो संख्यामा संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर यसबीचमा पीसीआर परीक्षण कार्यलाई तीव्र पारिएको छ। जिल्लाभरमा हालसम्म २ सय ८३ जना कोरोना संक्रमित भएका छन्। जसमा २ सय ६० जना निको भएर घर फर्किसकेका छन् भने एक युवकको मृत्यु भएको छ।