प्रदेश १ मा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय नाघ्यो, एउटै कार्यालयका ८७ जनामा संक्रमण

प्रदेश १ मा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय नाघ्यो, एउटै कार्यालयका ८७ जनामा संक्रमण

विराटनगर : प्रदेश १ मा नेपाल प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दुई सय नाघेको छ। विभिन्न कार्यालयमा कार्यरत १७ जना नयाँ संक्रमित थपिएसँगै  प्रदेशमा हालसम्म दुई सय ११ जना प्रहरीमा कोरोना पुष्टि भएको हो। 

नयाँ थपिएकामा सबैभन्दा बढी प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरका छन्। तालिम केन्द्रमा कार्यरत १० जना प्रहरीमा एकैपटक कोरोना संक्रमण पुष्टि भयो। त्यस्तै धनकुटा, ओखलढुंगा र मोरङमा दुई-दुई तथा झापामा थप एक प्रहरीमा कोरोना संक्रमण देखिएको हो। 

जम्मा संक्रमितमध्ये ४६ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन्। एक सय ६६ संक्रमित प्रहरी उपचाररत छन्। हालसम्म सबैभन्दा बढी नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत ८७ जनामा संक्रमण देखिएको छ। त्यस बाहेक प्रदेश १ प्रहरी कार्यालयमा ४०, तालिम केन्द्रमा १२, मोरङमा १३, सुनसरीमा १३, झापामा १२, दंगा नियन्त्रण प्रहरी गण दुहबीमा १२, खोटाङमा छ, धनकुटामा चार, ओखलढुंगा, भोजपुर र इलाममा तीन/तीन, पाँचथर, संखुवासभा र उदयपुरमा एक-एक जना प्रहरीमा कोरोना देखिएको छ। 

प्रदेश सभा सचिवालयका मर्यादापालक एक प्रहरीमा पनि कोरोना पुष्टि भएको छ। मर्यादापालकलाई मोरङको संक्रमितमा गणना गरिएको छ। धनकुटामा कार्यरत दुई प्रहरीमा पहिलो पटक जेठ ५ गते कोरोना देखिएको थियो। साउन ७ गते प्रदेश कार्यालयमै एक सिनियर अधिकृतमा कोरोना पुष्टि भयो। त्यसपछि प्रहरीभित्र संक्रमण व्यापक रुपमा बढीरहेको छ।  

अहिलेसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको रानीस्थित गणमा साउन २१ गते एक महिला प्रहरी जवानमा पहिलो पटक कोरोना पुष्टि भएको थियो। भर्खरै प्रहरीमा भर्ना भएकी उनको गण पहिलो पोस्टिङ् हो। महिला प्रहरीमा कोरोना देखिएपछि कार्यालय सिल गरेर त्यहाँ रहेका प्रहरीलाई 'क्वारेन्टाइन'मा राख्दै पीसीआर परीक्षण गराएर रिपोर्ट नआएसम्म अरुको सम्पर्कबाट टाढा राख्नु पर्नेमा त्यसो नगरिएको प्रहरीका एक उच्च अधिकारीले बताए। 

उल्टै गणमा रहेकालाई अन्यत्रका कार्यालयतिर लैजाने र अन्यत्रबाट ल्याएर नयाँलाई त्यहाँभित्र राख्ने काम हुँदा प्रहरीभित्र संक्रमण फैलिएको उनको भनाइ छ। ‘अरु प्रहरीसँगको सम्पर्कबाट टाढा राख्दै गणलाई सुरक्षित बनाउनु पर्नेमा त्यसो गरिएन,’ ती अधिकारीले भने, 'उल्टै गणमा रहेका प्रहरीलाई अन्यत्र लैजाने र अन्यत्रकालाई त्यहाँभित्र ल्याएर घुलमिल गराउने काम भयो।'

एसपी (प्रहरी उपरीक्षक)को नेतृत्वमा रहने गण 'रिजर्ब फोर्स' राख्ने नेपाल प्रहरीको युनिट हो। ‘रिजर्ब फोर्स’लाई आवश्यकता अनुसार थप मद्धतका लागि परिचालन गरिन्छ। बाहिरबाट पनि प्रहरी ल्याएर गणमा राख्ने गरिएको छ। 

गणमा कोरोना देखिएको पर्सिपल्ट साउन २३ गते ठूलो संख्यामा प्रहरी फेरबदल गरियो। साउन  २३ मा गणबाट लगेर खोटाङमा ‘क्वारेन्टाइन’मा राखिएका छ जना प्रहरीमा साउन ३१ गते कोरोना देखियो। ओखलढुंगामा पनि गणबाटै लगिएका एक प्रहरीमा भोलिपल्ट कोरोना पुष्टि भयो। 

पछिल्लो समय संक्रमण पुष्टि भएकामध्ये झापाका आठ, सुनसरीको दुहवीस्थित गणका छ, खोटाङका छ, ओखलढुंगाका तीन, संखुवासभा र मोरङका एक÷एक जना विराटनगरस्थित सशस्त्र गणबाटै लगिएका प्रहरी हुन्। अरु स्थानमा पनि गणबाटै लगिएका धेरै प्रहरीमा संक्रमण देखिएको स्रोतले बतायो। संक्रमित प्रहरी पछिल्लो समय साउन २३ देखि भदौ १ गतेसम्म गणबाट स्थानान्तरण र फेरबेदल गरिएकाहरु हुन्। 

साउन तेस्रो साताबाट मात्रै पाँच सय हाराहारी प्रहरीलाई गणबाट बाहिर लैजाने र बाहिरका ल्याएर गणमा राख्ने काम गरिएको प्रहरी स्रोतले बतायो। स्रोतले संक्रमण फैलिइरहेको गणमा अरु कार्यालयबाट समेत ल्याएर मिसाइएका कारण बाहिरबाट ल्याइएका नयाँ धेरै प्रहरीमा संक्रमण फैलिएको जानकारी दिएको छ। 

गणमा संक्रमण देखिएपछि स्थानान्तरण र फेरबदलको काम नरोकिँदा प्रदेशमा अहिले प्रहरीभित्र ठूलो संख्यामा संक्रमण फैलिएको तथा सबै हिसाबले ‘फ्रन्टलाइन’मा खटिनु पर्ने प्रहरी संक्रमित भएर बस्नु पर्ने अवस्था आएको नेपाल प्रहरीका पूर्व डीएसपी रामजी कटुवालले बताए। संक्रमण देखिएको कार्यालयबाट अर्को कार्यालयमा बिना परीक्षण लापरबाहीपूर्ण ढंगले सरुवा र स्थानान्तरण गरिँदा समूहमा बस्नु पर्ने प्रहरी कोरोनाको मार खेप्न बाध्य भएको उनको भनाइ छ। 

यसरी कोरोना देखिएको कार्यालयबाट मनपरी हिसाबमा प्रहरी फेरबदल गर्नु नेतृत्वको लापरबाही र बद्मासी भएको कटुवालले बताए। संक्रमण पुष्टि भएको कार्यालयलाई सिल गर्दै त्यहाँ कार्यरतलाई तत्कालका लागि अरुसँगको सम्पर्कबाट टाढै राखेर अन्यत्र पठाउन नमिल्ने भए पनि कोरोना महामारीकै बीचमा ठूलो संख्यामा प्रहरीको स्थानान्तरण गरिनु गलत भएको उनले बताए। 

‘स्वाबको परीक्षण गरेर कोरोना भए/नभएको यकिन गरेर मात्रै प्रहरीलाई स्थानान्तरण गर्नु पर्नेमा त्यसो गरिएन,' एक प्रहरी अधिकृतले भने, 'अहिले विभिन्न जिल्लामा प्रहरीभित्र कोरोना देखिनु र संक्रमण नभएका प्रहरी कार्यालयहरुमा पनि कोरोना भित्रिनुको मुख्य कारण यही हो।' स्थानान्तरण काम सुरु हुनुअघि प्रहरीभित्र कोरोना नदेखिएको उनको भनाइ छ। उनले संक्रमणको भयावह अवस्थामा एउटै गाडीमा भेडाबाख्रा जस्तै कोचाकोच हालेर प्रहरीलाई तराईबाट पहाड र पहाडबाट तराई गर्ने गरिएको बताए। 

असार यता हालसम्म प्रदेश १ मा दुई हजार ४४ प्रहरीलाई स्थानान्तरण गरेर एउटा कार्यालयबाट अर्कोमा पुर्‍याइएको छ। स्थानान्तरणका क्रममा पनि संक्रमणबाट बच्न अपनाउनु पर्ने कुनै पनि सुरक्षात्मक उपाय नअपनाइएको प्रहरी स्रोतको दाबी छ। 

स्थानान्तरणका कारण कोरोना फैलिएको भनेर व्यापक आलोचना भएपछि डीआईजी ईश्वरबाबु कार्कीले भदौ २ गतेबाट त्यो काम रोकेर सबै प्रहरी कार्यालयलाई पत्राचार गरेका छन्। पछिल्लो समय प्रदेशमा लगभग चार सय प्रहरी फेरबदलको तयारी थियो। 

ठूलो संख्यामा एकै ठाउँमा गतिविधी गर्नु पर्ने, बस्नु र खानु पर्ने तथा शौचालयसमेत एउटै प्रयोय गर्नु पर्ने भएकाले प्रहरीभित्र चाँडै कोरोना फैलने हुँदा महामारीका समयमा फेरबदल गर्दा ध्यान पुर्‍याउनुपर्ने सुझाव प्रहरीकै अधिकारीहरुले दिएका छन्। उनीहरुले सबैसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले प्रहरीका कारण समुदायनै जोखिममा पर्न नहुने बताए। 

डीआईजी कार्कीले प्रहरीभित्र कोरोना व्यापक फैलिएपछि अहिले स्थानान्तरणको कार्य बन्द गरिएको बताए। 'यसअघि स्थानान्तरण गरिसकेपछि सम्बन्धित ठाउँमा पुर्‍याएर 'क्वारेन्टाइन' मा राख्दै प्रहरीलाई परीक्षण गरिसकेपछि मात्रै काममा खटाउने गरिएको थियो,’ उनले भने, 'सरुवा गरिएका प्रहरीमा कोरोना देखिएका कारण दुई पटकसम्म परीक्षण गर्दै कोरोना भए/नभएको पुष्टि गरेर फेरबदल गर्ने गरी स्थानान्तरणको काम अहिले रोकिएको छ।' सवाधानी अपनाउँदा अपनाउँदै ठूलो संख्यामा प्रहरी संक्रमित हुनु परेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.