२४ घण्टामा कोरोनाले सात जनाको ज्यान गयो : मृतकको संख्या १६४ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएसँगै मृतकको संख्या १६४ पुगेको हो।
मन्त्रालयका अनुसार एक मलिला र ६ पुरुष गरेर सात जनाको मृत्यु भएको हो। प्रवक्ता गौतमका अनुसार काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ। सँगै सिरहाका २२, पर्साका ६८, धनुषाका ७६ वर्षीय, रुपन्देहीका ५६ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो।
काठमाडौंका १९९, भक्तपुरका १४ र ललितपुरका १९ गरेर उपत्यकामा २३२ सहित पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए। सोमबार मात्रै उपत्यकाका २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ। होम आइसेलेसनमा भने पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ। क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन्।
२४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ।
मन्त्रालयका अनुसार सात जिल्लामा ५ सय बढी संक्रमित रहेका छन्। मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन्। मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !