मुख्यमन्त्री राईको निर्देशन : अस्पताल आएका बिरामी फर्कनु नपरोस
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य विरामीहरुलाई छुट्टा/छुट्टै राखेर उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। अस्पतालमा आउने अन्य विरामीले उपचार नपाएको र फर्कनुपरेको गुनासो बढेपछि मंगलबार आफ्नै कार्यकक्षमा बोलाएर मुख्यमन्त्री राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका हुन्।
उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मी तीनैजनालाई मुख्यमन्त्री राईले बोलाएका थिए। मुख्यमन्त्री राईले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन समेत निर्देशन दिदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न पनि निर्देशन दिएका छन्।
पाँच सय बेड क्षमताको आइसोलेशन तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन पनि उनले सुझाव दिए।
मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु भोलीबाटै थाल्ने जानकारी गराएका थिए। सो क्रममा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए।