दाङमा रात्रिकालिन निषेधाज्ञा
दाङ : कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातीमा जारी निषेधाज्ञा कायमै हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निषेधाज्ञालाई कायमै राख्ने निर्णय गरेको हो।
दाङमा भदौ १ गते देखि नै रात्रिकालिन निषेधाज्ञा जारी हुदै आएको छ। बैठकले रातको समयमा बजार, गाडी सञ्चालन र हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा स्थानीय सरकारका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको वैठकले रात्रिकालिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो।
११ गते देखि निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड बिजोड प्रणाली लागू गर्ने, बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पुरा नगर्नेलाई कारबाही गर्ने निर्णय भएको छ। बैठकले सबै गाउँपालिकामा क्वारेन्टाइन, आइशोलेसनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, जाँच बढाउने निर्णय गरेको छ। साथै बढि भिडभाड हुने वैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयहरुमा हुने कामकारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य माक्स प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउने पनि निर्णय गरेको छ।