‘फ्रन्टलाइनर सिपाही’लखेट्ने हर्कत !
चिकित्सक तथा स्वास्थ्यकर्मी कुनै अस्पतालका कर्मचारी मात्र होइनन्; फ्रन्टलाइनमा उभिएर कोरोनासँग लडिरहेका राष्ट्रका सिपाही पनि हुन्। उनीहरूलाई अपमान गर्ने वा लखेट्ने हर्कत कृपया बन्द गरौं।
राजधानीको बानेश्वरमा स्वास्थ्यकर्मीलाई होस्टेलबाट लखेट्न टोलवासीले घेराउ गरेको घटनाको चर्चा गर्नुअघि एकजना डाक्टर सा’पको ट्वीटबाट सुरु गरौं।
म एउटा काठमाडौंको केन्द्रमा रहेको अस्पतालमा कार्यरत छु।
राज्यले जोखिम भत्ता भनेर भाषणमा भन्यो तर हाम्रो अस्पतालमा कसैले बुझेको मेरो जानकारीमा छैन।
जोखिम भत्ता त धेरै टाढाको कुरा, ९५ मास्क पनि आफैं किनेर लगाइरहेका छौं। पीपीईचाहिँ महावीर पुन सरबाट जुटाएर लगाउने धेरै छन्।
जय होस !
सिभिल अस्पतालमा कार्यरत मेडिकल डाक्टर सञ्जय गेलालले अगस्त २० मा गरेको ट्वीट हो यो। उनको यो ट्वीटबाट थाहा हुन्छ– कोरोना कहरमा दिनरात खटिएका हाम्रा स्वास्थ्यकर्मीको सुरक्षा र सुविधाको हालत कति दयनीय छ भन्ने कुरा। यो सञ्जयको मात्र सकस होइन; सबै स्वास्थ्यकर्मीले सामना गरिरहेको नमीठो सत्य हो। अरूलाई बचाउन खटिएका स्वास्थ्यकर्मीको सुविधा र सुरक्षाप्रति राज्य विल्कुल उदासीन देखिएको छ। कोरोना रोकथामका नाममा साउन मसान्तसम्म झन्डै १२ अर्ब खर्च भइसकेको छ। तर फ्रन्टलाइनमा कोरोनासँग लडेका स्वास्थ्यकर्मीले यो १२ अर्बबाट कति राहत र सुविधा पाए ? डा. सञ्जयको ट्वीटले यसको उत्तर दिएको छ।
यो त राज्यबाट भएको व्यवहारको कुरा भयो। अब ती स्वास्थ्यकर्मीमाथि हामी नागरिकले कस्तो व्यवहार गर्दैछौं ? त्यो पनि हेरौं। सिभिलमै कार्यरत स्वास्थ्यकर्मीमाथि हालै भएको अभद्र व्यवहारको घटना नै यसका लागि पर्याप्त छ।
राजधानीको केन्द्रमा रहेको होस्टेलमा स्वास्थ्यकर्मीलाई निकाल्न हुलहुज्जतसहित घेराउ गरेको घटनाले यतिबेला सामाजिक सञ्जाल तरंगित भएको छ। काठमाडौं बानेश्वरको मिलन चोकस्थित लर्ड बुद्ध होस्टलमा बस्ने सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई निकाल्न दबाब दिँदै स्थानीयले साउन ७ गते डेढ घन्टा होस्टल घेराउ गरे, सञ्चालकलाई हातखुट्टा भाँच्ने धम्की दिए। कोरोना प्रहरीले हस्तक्षेप गरेपछि अवस्था सामान्य बन्यो। हुलहुज्जत गर्ने टोलवासीको माग र आरोप अचम्मलाग्दो थियो। स्वास्थ्यकर्मीले अस्पतालबाट कोरोना ल्याउँछन् भन्ने आरोप अनि होस्टेलबाट हटाउनुपर्ने माग।
कोरोनाको कहरमा ज्यान जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको यो व्यवहारले हाम्रो समाजमा लुकेको छुद्र चित्र र चरित्र उदांग भएको छ। यो आफैंमा निन्दनीय घटना हो। काठमाडौंबाहिर यस्ता खालका घटना र व्यवहार यसअघि पनि छिटफुट रूपमा हुँदै आएका थिए। तर राजधानीको केन्द्रमा भएको यो घटनाले सबै स्वास्थ्यकर्मीलाई दुःखी मात्र होइन; सिंगो समाजलाई स्तब्ध बनाएको छ।
कोरोना महामारीको ६ महिनाको अवधिमा स्वास्थ्यकर्मीले जुन तनाव र दबाबमा काम गरेका छन्, अरू कुनै पेसाकर्मीले त्यो अवस्था भोग्नुपरेको छैन। परिवार र निजी जीवनलाई बेवास्ता गर्दै उनीहरू कोरोना संक्रमितको जाँच तथा उपचारमा दिनरात खटिएका छन्। परिवारसँग राम्ररी बस्न पाएका छैनन्। बिदा भन्न पाएका छैनन्। निजी रहर अनि रमाइलो सबै त्याग्नुपरेको छ। घरमा पाकेको मीठो–मसिनो तातै खान पाएका छैनन्। अनेक अभाव र सकस सहेर उनीहरू सेवामा अविचलित खटिएका छन्। न राज्यले उनीहरूलाई कुनै सुविधा तथा सुरक्षा प्रदान गरेको छ न कार्यरत रहेको संस्थाले नै त्यो प्रत्याभूति दिएको छ। बरु उनीहरूले नानाथरी आक्षेप, अपमान र अपजस समाना गर्नुपरेको छ।
छिमेक तथा विदेशमा कोरोनासँग जुधिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई राज्य तथा नागरिक दुवैतिरबाट सम्मान तथा अभिनन्दन गरिएका दृश्य हिट भइरहेका बेला हामीकहाँ भने स्वास्थ्यकर्मीलाई लखेट्न खोजेका तथा दुर्व्यवार गरेका भिडियो भाइरल भइरहेका छन्।हामी सबैका लागि यो लज्जा र हीनताबोधको विषय हो।
छिमेक तथा विदेशमा कोरोनासँग जुधिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई राज्य तथा नागरिक दुवैतिरबाट सम्मान तथा अभिनन्दन गरिएका दृश्य हिट भइरहेका बेला हामीकहाँ भने स्वास्थ्यकर्मीलाई लखेट्न खोजेका तथा दुर्व्यवार गरेका भिडियो भाइरल भइरहेका छन्।कोरोनाबाट हामीलाई बचाउन ज्यान हत्केलामा राखेर अनवरत खटिएका स्वास्थ्यकर्मीमाथि हामीले कस्तो व्यवहार गर्दै छौं ? हामी सबैका लागि यो लज्जा र हीनताबोधको विषय हो।
मन्दिर, मस्जिदमा समेत ताला लागेका बेला अस्पताल चालु अनि स्वास्थ्यकर्मी उपलब्ध छन्। मालिकको चाहनाले मात्र त्यो सम्भव हुन सक्दैन; तीनै डाक्टर अनि स्वास्थ्यकर्मीको तत्परता अनि सेवाभावले यो सबै सहज भएको हो। छरछिमेकमा बस्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई अस्पतालबाट कोरोना ल्याउँछन् भन्दै टोलटोलबाट लखेट्ने अनि भोलि कोरोना लाग्यो भने उपचार गर्न कहाँ कोसँग जाने ? एकछिन सोचौं त। त्यो अवस्था कति कहालीलाग्दो हुन्छ होला ? कोराना नलाग्दै हाम्रो दिमाग किन यति कुँजिएको होला ? यस्तो सोच र शैलीले कोरोनासँगको युद्ध कसरी अनि कहिले जित्न सक्छौं हामीले ? महत्वपूर्ण प्रश्न अहिले यो हो।
अग्रपंक्तिमा रहेर कोरोनासँग लडिरहेका स्वास्थ्यकर्मी नै सबैभन्दा बढी जोखिममा छन् यतिबेला। झन्डै पाँच सयजति स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। उनीहरूको खटाइमा तलब भत्ताको आकर्षण होइन, मानव मूल्यप्रतिको सम्मान अनि सेवाभाव बढी जोडिएको छ। यतिखेर हरेक नागरिक अनि सिंगो मुलुकले स्वास्थ्यकर्मीको समर्पण र सेवालाई सराहना गर्दै सलाम गर्नुपर्ने बेला हामीबाट हुने यस्ता ‘अछूत व्यवहार’ ले उनीहरूको मन कति नमीठो र अमिलो भएको होला ? यसले उनीहरूको मनोबलमा कति नकारात्मक असर पर्छ होला ? यस्ता नीच व्यवहारबाट दिक्क भएर भोलि अस्पताल–अस्पतालमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले हात उठाउने अवस्था आयो भने के हुन्छ हालत ? के हामीले कहिल्यै सोचेका छौं यसतर्फ ? भलै हाम्रा जिम्मेवार स्वास्थ्यकर्मीबाट त्यस्तो गल्ती कहिल्यै हुँदैन।
डाक्टरी पेसा सजिलो छैन। डाक्टर बन्न गर्नुपर्ने संघर्षको आफ्नै कथा छ। पाँच वर्षको एमबीबीएस पढाइ तथा अभ्यास अनि फेरि एमडी गरेर व्यावसायिक डाक्टर बन्न कम्तीमा करोडभन्दा बढी लगानी चाहिन्छ। अझ व्यक्तिले गर्ने मेहनत, परिश्रम र लगनशीलताको मूल्य यसमा जोडिएको हुँदैन। लगानी, मेहनत र संघर्षको तुलनामा अहिलेको नयाँ पुस्ताले पाउने तलब भत्ता वा उनीहरूको कमाइ खासै आकर्षक छैन। पुरानाले नेपालमै पनि धेरै कमाए होलान् तर नयाँ पुस्ताका डाक्टरहरूको व्यथा आफ्नै खालको छ। अरूजस्तै उनीहरू पनि पीआर वा ग्रीन कार्ड लिएर विदेश जान सक्थे होलान्। यहाँभन्दा आकर्षक तलबभत्तासहितको जागिर अनि आरामदायी जिन्दगी हुन्थ्यो होला त्यहाँ। तर त्यो सबै छाडेर मातृभूमिमै सेवा गर्न रमाएका स्वास्थ्यकर्मीलाई हामीले प्रोत्साहित गर्नुपर्छ। उनीहरूको सेवाभावको प्रशंसा गर्नुपर्छ।
स्वास्थ्य क्षेत्रमा पनि थुप्रै विकृति तथा समस्या छन्। अस्पताल तथा स्वास्थ्य संस्थाबाट केही कमजोरी तथा लापरबाही पनि भएका छन्। यसमा स्वास्थ्यकर्मीको नियतभन्दा पनि मेडिकल मालिकहरूको नाफाखोर मनोवृत्ति जोडिएको छ। यसको समीक्षा र बहस गर्ने उपयुक्त अहिले समय होइन।
यतिबेला सिंगो समाज कोरोना कहरमा छ। पूरै विश्व आक्रान्त छ। अर्थतन्त्र पूरै थला परेको छ। समाज ठप्प छ। सबै घरघरमा खुम्चिएका छन्। मानिसका कयौं सपना, महत्वाकांक्षा र योजना पनि होम क्वारेन्टाइनमा कैद भएका छन् भने कति रहर लकडाउनसँगै 'लक' भएका छन्। गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाले आठ महिनामा सम्पूर्ण विश्व ढाकिसकेको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणबाट विश्वभर आठ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। नेपालमा पनि डेढ सयको मृत्यु भइसकेको छ भने ३२ हजार बढी मानिस संक्रमित भएका छन्।
अहिलेसम्म कोरोनाको कुनै भ्याक्सिन तथा औषधि उपलब्ध छैन। यद्यपि अनुसन्धान जारी छ। अहिलेका लागि कोरोनाको यसको सबैभन्दा उत्तम दबाइ भनेकै आत्मविश्वास, स्वस्थ खानपिन, सक्रिय दैनिकी अनि सकारात्मक सोच हो। कोरोना कहरमा कहिलेसम्म यसरी कुँजिएर क्वारेन्टाइनमा बस्नुपर्ने हो ? त्यसको पनि टुंगो छैन। मृत्यु र संक्रमितको अंकगणित आफ्नो ठाउँमा छ तर यसले आम मानिस र समाजमा सिर्जना गरेको त्रास र संकट कहालीलाग्दो छ। हरेक व्यक्ति, संस्था, समाज र राष्ट्रको जीवनमा कोरोनाको पीडा असाध्यै गहिरो र दीर्घकालीन हुनेछ।
चिकित्सक तथा स्वास्थ्यकर्मी कुनै अस्पतालका कर्मचारी मात्र होइनन्; फ्रन्टलाइनमा उभिएर कोरोनासँग लडिरहेका राष्ट्रका सिपाही पनि हुन्। हाम्रो साथ, सम्मान र सद्भाव नै कोरोनालाई पराजित गर्ने उनीहरूको बलियो हतियार हुन सक्छ। उनीहरूको मनोबल जति बलियो हुन्छ, हामी सबै कोरोनाबाट त्यति सुरक्षित हुनेछौं।
मानव मूल्य नै संकटमा परेका बेला हामीले यस्तो असहिष्णुता प्रदर्शन गर्ने होइन; आपसमा सम्मान र सद्भाव बाँड्न वा साट्न सिक्नुपर्छ। कोरोना कुनै पूर्वजन्मको पाप वा अभिशाप होइन; यो सबैलाई लाग्न सक्ने भाइरल वा संक्रमण हो। त्यसैले संक्रमितलाई सम्मान र सक्दो स्नेह प्रदान गरौं आआफ्नो क्षेत्र र समुदायमा। जाँच र उपचार गर्ने स्वास्थ्यकर्मीको व्यावसायिक सम्मान, स्वाभिमान र सुरक्षामा आँच आउने वा ठेस पुर्याउने कुनै पनि हल्ला र हर्कत कसैले नगरौं। जति सकिन्छ हार्दिकता र हौसला प्रदान गरौं। 'फ्रन्टलाइनर सिपाही' लाई अपमान गर्ने र लखेट्ने हर्कत कृपया बन्द गरौं।