हे राम न्याय देऊ !
गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा असली रामजन्मभूमि नेपालको ठोरीमा भएको भनी एउटा अप्रत्यासित अभिव्यक्ति दिए। उनको उक्त अभिव्यक्ति अकल्पनीय किसिमको लागे पनि उनी प्रधानमन्त्रीको हैसियतमा दिएको अभिव्यक्तिलाई सामान्य ढंगले लिन मिल्दैन। प्रधानमन्त्रीको अभिव्यक्तिपश्चात् विभिन्न कोणबाट ओलचनाको वेग बढ्दै जाँदा परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको थियो।
‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्याउने आशय नरहेको’, परराष्ट्रले भन्यो। तैपनि प्रधानमन्त्रीको आलोचना भने रोकिएन। भारत र नेपाल दुवै देशका करोडौं हिन्दुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आलेचना गरिनै रहे। आलोचना हिन्दु धर्मप्रति आस्था राख्नेले मात्र गरेनन्, प्रधानमन्त्रीको उक्त भनाइलाई उनकै पार्टी नेकपाका कतिपय नेताले बेमैसमी बयानबाजीको संज्ञा दिए र नेकपाइतरका राजनीतिक दल तथा बौद्धिक समाजबाट समेत ओलीले आलोचना आउनु स्वाभाविक नै भयो। इतिहासविद् महेशराज पन्तले त, ‘इतिहासको व्याख्या र प्रामाणिकता केलाउने कुरामा बहकिएर बोल्नुको अर्थ नरहेको धारणा राख्दै अल्पज्ञानका भरमा आसेपासेले भरिदिएको चेतना लिएर प्रधानमन्त्री ओलीले इतिहासको अवव्याख्या गरिरहेको भनी सार्वजनिक रूपमा भनेका छन्।’
पंक्तिकारको मत अलि फरक छ। के यो राम नामकै चमत्कार हो कि धर्मलाई अफिमको संज्ञा दिने कम्युनिस्टका नेता हाम्रा प्रधानमन्त्रीले राम मन्दिर नै बनाउनुपर्छ भने मनस्थितिमा पुग्नुभयो त ! प्रधानमन्त्रीको शपथ लिँदा भगवान्लाई साक्षी नमान्ने र कम्युनिस्टहरूले काल माक्र्सको पूजा गर्नुपर्छ भनी चर्चा गर्ने कम्युनिस्ट पार्टीका नेताको रामप्रतिको झुकावले ठूलो अर्थ लाग्छ। राम र राम मन्दिर निर्माणलाई लिएर प्रधानमन्त्रीको इच्छाको वेग यहाँसम्म देख्नमा आयो कि उहाँ गएको साउन २३ गते चितवनको माडी नगरपालिका– ९ का वडाध्यक्षलाई काठमाडौं बोलाएरै राम जन्मभूमिबारे चासो देखाउन भ्याए भनी समाचार बाहिर आएको रहेछ। नेपालको अयोध्यापुरी नै सक्कली अयोध्या हो त्यसकारण यसका गतिविधि बढाउन मात्र भनेनन्; ओलीले ठोरीमा रामायणमा वर्णन गरिएका प्रमुख पात्रहरू राम, लक्ष्मण र सीताको प्रतिमासहितको राममन्दिर निर्माण कार्य सुरु गर्न आदेशसमेत दिएका रहेछन्। ओलीले ठोरी नै रामको वास्तविक जन्मभूमि भएको उल्लेख गर्दै त्यहाँ अयोध्या धाम निर्माण गर्नसमेत निर्देशन दिए र उक्त योजनामार्फत गर्न लाग्ने पैसा संघीय सरकारले व्यवस्था गर्ने भनी विश्वस्त बनाएर पठाए।
नेपालमा कम्युनिस्टको बलियो सरकार छ। नेपालका कम्युनिस्ट धारका पार्टीभित्र धर्ममा आस्था राख्नेहरूको ठूलो जमात छ। जसले पार्टीभित्र पनि भ्रातृ संगठनहरू खोलेका छन्। कुनै व्यक्ति कुनै राजनीतिक दलप्रति आस्था राख्नु भनेको उक्त दलको नीति तथा सिद्धान्त मन पराउनु हो। कम्युनिस्टहरूको विश्व इतिहास हेर्ने हो भने उनीहरूको सिद्धान्त धर्मका पक्षमा देखिँदैन। नेपालका कम्युनिस्टहरूका पनि धर्मप्रति सकारात्मक देखिएको थिएन (छन् ? ) यद्यपि धर्मकर्ममा विश्वास गर्ने कम्युनिस्टहरू आफ्नो पार्टीको सिद्धान्तसँग कसरी सहमत छन् भने विषय सोचनीय रहँदै आएको छ। राम जन्मभूमिको मुद्दा भारतमा कयौं वर्षदेखि उठ्दै आएको थियो। उक्त मुद्दाले भारतीय राजनीतिमा ल्याएको गहन बहसका कारण राम जन्मभूमिको चर्चा अन्तर्राष्ट्रिय स्तरमै चर्चाको विषय बन्दै आएको छ।
रामको जन्म नेपालमा भएको रहेछ भने हाम्रा प्रधानमन्त्रीले ‘राम कार्ड’ फ्याँक्नुको अर्थ नेपालको ऐतिहासिक एवं पुरातात्विक महत्वप्रति सचेत र गम्भीर रहेको दर्शाउने छ।
यसको इतिहासबारे अध्ययन गर्दै जाँदा यसको जडा १५२६ बाट सुरु भएको बुभिन्छ। सन् १५२६ को कुरा हो। जब दिल्लीको सल्तनत (सत्ता) माथि बाबरले आक्रमण गर्यो र दिल्लीका बादशाह (राजा) इब्राहिम लोदी पराजित हुन पुगे अनि भारतमा मुगल शासनकाल प्रारम्भ भयो। त्यसको दुई वर्षपश्चात् अर्थात् सन् १५२८ मा बाबरका सेनापति मीर बाकीले बाबरी मस्जिदको निर्माण गर्न लगाएका थिए भनी भारतीय इतिहासमा उल्लेख छ।
उन्नाईसौं शताब्दीमा सन्त रघुवर दासले मस्जिदको प्रांगणमा भगवान् रामको जन्मभूमि रहेको र त्यहाँ पूजापाठ गर्नका लागि ‘रामचबुतरा र सीता रसोइ’ को निर्माण गरे। हिन्दु र मुस्लिम दुवै धर्मावलम्बीको आस्था रहेकाले विगतका समयमा अनेक दंगा भड्किएका थिए तत्कालीन भारतमा। मुगल साम्राज्यको अन्त्यपश्चात् १८५८ मा ब्रिटिस सरकारले विवाद हल गर्नका लागि मस्जिद र चबुतराबीच पर्खाल निर्माण गरे तर विवादले कुनै निकास पाएन। झन्डै ४६४ वर्षसम्म अयोध्यामा कायम रहेको बाबरी मस्जिद विभिन्न हिन्दु संगठनको योजनाअन्तर्गत ६ डिसेम्बर १९९२ मा ढालियो।
भारतीय जनता पार्टीका तत्कालीन अध्यक्ष लालकृष्ण आडवाणीले सोमनाथदेखि आयोध्यासम्मको रथयात्रा निकालेका थिए। र त्यहीबेलादेखि नै मस्जिद तोड्ने योजना बन्न थालेको इतिहास छ। बाबरी मस्जिदको अवसानभन्दा ४३ वर्षअगाडि सन् १९४९ मा अचानक मस्जिदको मध्यभागमा रामललाको मूर्ति प्रकट भयो। हिन्दु संगठनहरूले भगवान् राम स्वयं आफ्नो जन्मस्थलमा प्रकट भएको दाबी गरे। यो मुद्दा अदालतमा पुग्यो। र अदालतले मूर्ति यथावत् राखी मस्जिद र त्यसको प्रांगणमा रहेको रामचबुतरा र सीता रसोई पनि सील गर्ने आदेश दियो। पछिल्लो समय अदालतले नै उत्त ठाउँमा राम मन्दिर बनाउने आदेश पनि दियो। अगस्त ५ तारिखमा आयोध्यामा राम मन्दिरको शिलान्न्यास गरिएको छ।
विश्वका हिन्दुहरूका लागि ५ अगस्त ऐतिहासिक दिनका रूपमा दर्ज हुन पुगेको छ। शिलान्न्यासकै दिन तत्कालीन मिथिलाको राजधानी तथा सीताको जन्मभूमि जनकपुरमा अवस्थित जानकी मन्दिरका महन्थले पाँचवटा चाँदीका इँटा लिई राममन्दिर शिलान्न्यासको साक्षी बन्न अयोध्या पुगे। त्यति मात्रै होइन; काठमाडौंलगायत नेपालको अधिकतम ठाउँमा हिन्दु र हिन्दुवादी संगठनहरूले ५ अगस्तमा अयोध्यामा बन्न लागेको बहुप्रतीक्षित राम मन्दिरको उपलक्ष्यमा दीप प्रज्ज्वलनसमेत गरेका थिए। हाम्रो प्रधानमन्त्रीले त्यस्ता समाचार आवश्यक पढ्नु भएको होला भने आशा छ मलाई। तैपनि प्रधानमन्त्रीलाई लागेको छ कि होइन, असली अयोध्या हाम्रै नेपालमा छ र रामको जन्मभूमि पनि नेपालै हो भने एउटा कुशल अनुसन्धानको खाँचो छ।
चितवनको माडीमा अयोध्यापुरी पुरातत्व विभागले अनुसन्धान सुरु गरेको थियो। त्यसको प्रतिवेदन अहिलेसम्म बाहिर आउन सकेको छैन। म त के भन्छु भने, नेपाल सरकारले बरु भारतसँग मिलेर संयुक्त रूपमै अनुसन्धान थाल्नुपर्छ। अनुसन्धान वस्तुपरक ढंगले भयो भने त्यसले ल्याउने वास्तविकताले अर्थ राख्ने छ। वास्तवमै रामको जन्म नेपालमा भएको रहेछ भने हाम्रा प्रधानमन्त्रीले ‘राम कार्ड’ फ्याँक्नुको अर्थ नेपालको ऐतिहासिक एवं पुरातात्विक महत्वप्रति सचेत र गम्भीर रहेको दर्शाउने छ। अन्यथा, कम्युनिस्टका नाममा आफ्ना समर्थकलाई अँध्यारोमा राख्न र धर्मको सहारा लिन बाध्य भए भनी बुझिने छ।