शिक्षणलाई नम्बर एक बनाऔं

शिक्षणलाई नम्बर एक बनाऔं

देशको भविष्यरेखा वर्तमानको कक्षाकोठामा कोरिन्छ। भोलि देश हाँक्ने व्यक्तिलाई पढाउने शिक्षक आफ्नो पेसाप्रति सन्तुष्ट छैन भने उसको शिक्षण ‘जागिरे’ मात्रै हुन्छ। अर्कातिर स्वयं शिक्षक नै कमजोर र अयोग्य भएमा त्यसको मूल्य विद्यार्थी र देशले चुकाउनुपर्छ। कक्षाभित्र पसेर पढाइमा ‘ट्यालेन्ट’ भनिएका विद्यार्थीलाई भोलि तिमी के बन्न खोज्दै छौ भनेर सोध्ने हो भने उनीहरूले डाक्टर, इन्जिनियर, सीए बन्ने चाहना प्रकट गर्छन्।

कत्तिले विदेश जाने भन्न भ्याइहाल्छन्। आज कक्षाको अघिल्लो बेन्चमा बस्ने विद्यार्थी पाएसम्म शिक्षक बन्न चाहन्न। पढाइमा कमजोर विद्यार्थी भोलि शिक्षक बन्दै छन्। देशले भोलि यसको झन् ठूलो चुकाउनुपर्ने हुन सक्छ। ‘चक’ र ‘च्यालेन्ज’ को सामना गर्न ‘ब्रिलियन्ट’ र ‘ब्रेभ’ नै चाहिन्छ।

शिक्षण व्यक्तिको अन्तिम विकल्प बनेको छ। शिक्षाशास्त्र संकायमा भर्ना हुने विद्यार्थी अक्सर कम ग्रेड ल्याएका हुन्छन् भन्ने थाहा पाउँदा पनि शिक्षा मन्त्रालय नयाँ ‘भिजन’ का साथ अगाडि आउँदैन। तीक्ष्ण मस्तिष्कलाई शिक्षणमा आकर्षित नगरी कहिल्यै पनि शिक्षामा क्रान्ति आउँदैन।

आइन्स्टाइन, अब्दुल कलाम, स्टेफन हकिङ, जिम्मी कार्टरसँग कक्षाकोठाभित्र अद्भुत पढाउने कला थियो वा थिएन थाहा भएन, तर यी व्यक्तिको भौतिक उपस्थितिले मात्रै विद्यार्थीमा सकारात्मक ऊर्जा सञ्चार हुन्थ्यो भन्ने अनुमान गर्नचाहिँ सकिन्छ। अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरू नोबेल पुरस्कार विजेतालाई सम्मानका साथ खोजीखाजी पढाउन बोलाउँछन्। पाएसम्म प्रतिभाशाली व्यक्तिलाई शिक्षणमा निम्त्याउनुपर्छ भन्ने यसको सन्देश हो।

पर्फेक्ट शिक्षक उत्पादन

शिक्षाशास्त्र संकायले शिक्षक उत्पादनको जिम्मा पाएको छ। सर्वप्रथम यो संकायमा जागरण आउनुपर्छ। आधुनिकीकरण नभईकन नयाँ खालका शिक्षक यसले तयार गर्न सक्दैन। मनोविज्ञान, शिक्षा र पाठ्यक्रमका एउटा किताब घोकाएर मात्रै शिक्षक तयार भइसकेको हुन्न। युरोप, अमेरिकातिर शिक्षक बन्न ठूलो परि श्रमबाट गुज्रनुपर्ने हुन्छ। चारपाँच वर्षसम्म सैद्धान्तिक र व्यावहारिक तालिम र प्रशिक्षणबाट खारेर शिक्षक जन्माइन्छ।

बेर्टिन भन्छन्, ‘विद्यार्थीमाथि के खन्याइयो त्यसले खास अर्थ राख्दैन, विद्यार्थीभित्र के रोपियो, त्यसले अर्थ राख्छ।’ विद्यार्थीमा आविष्कारको भोक रोप्न सक्ने शिक्षक तयार पार्न आवश्यक छ।

शिक्षकजस्तो गर्विलो पेसालाई हामीले हलुका बनाइदिएका छौं। जोकोहीलाई शिक्षक बनाइदिएका छौं। मेडिकल साइन्स, नर्सिङ, इन्जिनियरिङको पढाइ जति विशिष्ट हुन्छ शिक्षाको पढाइ त्यति विशिष्ट छैन। यसले शिक्षकको योग्यतालाई कम महत्व दिएको छ। शिक्षकको गरिमालाई खस्काइदिएको छ।

महान् शिक्षक उदयका लागि शिक्षकको सम्मानका सबै बाटो खोलिनुपर्छ।

एउटा अयोग्य इन्जिनियरका कारण एउटा पुल मात्र भत्किन्छ तर एउटा अयोग्य शिक्षकका कारण देशको भविष्य भत्किन्छ। शिक्षणलाई सस्तो पेसा बनाइएको छ। आर्टस्, म्यानेजमेन्ट, साइन्स पढ्ने पनि शिक्षक बनेका छन्। घरमा बसेर एकबर्से बीएडको किताब घोक्ने, परीक्षा दिने र पास भएपछि शिक्षा संकायबाहेकको व्यक्तिले शिक्षणको लाइसेन्स पाइहाल्छ। उसका लागि स्थायी शिक्षक बन्ने बाटो खुल्छ। प्राइभेट स्कुलमा त्यति पनि चाहिँदैन, जे पढेको भए पनि हुन्छ। यस्तो सम्म गर्न मिल्छ भने शिक्षाशास्त्र संकाय खारेज गरिदिए पनि हुन्छ।

डाक्टरलाई बिरामी जाँच्न लाइसेन्स चाहिन्छ। वकिललाई अदालतमा वकालत गर्न लाइसेन्स चाहिन्छ, तर शिक्षण गर्न लाइसेन्स नभए पनि हुने बनाइएको छ।

शिक्षाशास्त्र संकाय र शिक्षक सेवा आयोगका बीचमा गहन छलफल हुन्छ जस्तो लाग्दैन। कुन–कुन विषयका, कस्ता–कस्ता उत्कृष्ट शिक्षक, कसरी उत्पादन गर्ने, शिक्षक लाइसेन्स दिन वैज्ञानिक परीक्षा कसरी लिने, देशलाई चाहिएको कस्ता शिक्षक हुन् भन्ने कुरामाथि गहिरो छलफल आवश्यक पथ्र्यो।

एकपटक साहस गरौं

ट्यालेन्ट विद्यार्थीलाई शिक्षणमा आकर्षण गर्ने प्रमुख हतियार भनेकै तलब हो। साहस गरेर हालको तलबमा एकपटक सय प्रतिशत वृद्धि गरिदिने हो भने शिक्षाशास्त्र पढ्न विद्यार्थीको भीड लाग्छ। त्यहाँबाट छानेर ‘ब्रिलियन्ट स्टार’ लाई शिक्षाशास्त्र पढाउने हो भने ऊर्जाशील र उत्कृष्ट शिक्षक देशले पाउँछ। विद्यार्थी देश विकासको निर्माणाधीन मेरुदण्ड हो। शिक्षक मेरुदण्डका ‘आर्किटेक्ट’ हुन्।

स्विट्जरल्यान्डमा शिक्षकको तलब एक लाख डलरभन्दा माथि छ। अस्ट्रेलिया– अमेरिकामा शिक्षकले ६० देखि एक लाख अमेरिकी डलरसम्म पाउँछन्। रसिया, जर्मनी, नर्वे, फिनल्यान्ड सबै देशमा शिक्षण एक आकर्षक र लोभलाग्दो पेसा हो। देश यत्तिकै बन्दैन। त्यहाँ शिक्षक हुन पाएपछि अरू केही कुराको चिन्ता गर्नुनपर्ने अवस्था छ। सामाजिक र आर्थिक रूपमा सम्मानित छन्। तर, हाम्रोमा शिक्षक भइसकेपछि पनि व्यक्तिले पाएसम्म अरू विकल्पको खोजीमा दौडिरहेको हुन्छ। निजी शिक्षण संस्थामा चार–चार महिनामा शिक्षक फेरिइरहँदा पनि काम चलेकै छ।

निजी स्कुलका शिक्षकको अवस्था अझ दर्दनाक छ। कैयन् निजी स्कुलमा सरकारी स्केलभन्दा आधा तलबमा शिक्षकहरू काम गर्न बाध्य छन्। देशमा बढ्दो बेरोजगारको फाइदा उठाएर निजी स्कुलका सञ्चालकले शिक्षकको चरम श्रम शोषण गरेका छन्। कोरोनाका कारण देखाएर लाखौं निजी शिक्षकलाई तलब दिइएन। तिनै शिक्षकले काममा जोतिएर विद्यार्थीको ग्रेड सरकारीको भन्दा राम्रो ल्याइदिएका छन्। शिक्षकमाथिको यो चरम अपमान हो।

कपालमा कैंची चलाउने हजामले शरीरमा कैंची चलाउन थाल्यो भने के हुन्छ ? डाक्टरको काम हजामले गर्न खोज्दा दुर्घटना हुन्छ। शिक्षाभन्दा परका शिक्षाको मर्म नबुझेका व्यापारीले शिक्षा क्षेत्रमा पसेर यसलाई विकृत बनाएका छन्। ठेकेदार, नक्सा कोर्ने इन्जिनियर, राजनीतिक नेता स्कुलका सञ्चालक हुन्छन्। विद्यार्थी, शिक्षक र कर्मचारीको आवश्यकतासँग यिनीहरूको खास सरोकार रहन्न।

निजी स्कुलका विद्यार्थीलाई कहिल्यै यही देशमा काम गर्ने हो भन्ने सिकाइन्न। उनीहरूका सपना सानोमा कतार–मलेसिया र ठूलोमा अस्ट्रेलिया–अमेरिका हुन्छ। त्यहाँका ट्यालेन्ट विद्यार्थीको बालमस्तिष्कमा सानैदेखि शिक्षण दुःखको पेसा हो भनेर सिकाइएको हुन्छ। हरेक दिन ‘एसेम्ब्ली’ मा राष्ट्रिय गीत गाउन त लगाइन्छ तर कक्षाकोठाभित्र विदेशी कामदार बन्ने योग्यता निर्माण गरिदिएको हुन्छ।

डाक्टर कि टिचर ?

एकजना डाक्टरले पाँच मिनेट बिरामी जाँच्छ र पाँच सय रुपैयाँ लिन्छ। एकजना शिक्षकले एक घन्टा विद्यार्थी पढाउँछ र पाँच सय नै लिन्छ। यहाँ, डाक्टरको पाँच मिनेट बराबर शिक्षकको एक घन्टा हुन्छ। विद्यार्थीले यति मात्र देखेको छ। यसकारण सकेसम्म आजका विद्यार्थी, शिक्षक हैन डाक्टर नै बन्न चाहन्छ।

बुद्ध, ओशो, कृष्णमूर्ति, विवेकानन्द, परमहंस, विकासानन्दहरूलाई डाक्टरका रूपमा हैनन्; महान् गुरुका रूपमा दुनियाँले सम्मान गर्छ भन्ने विद्यार्थीले सुनेको हुन्न। शिक्षक गुरुकै एक रूप हो। आखिर शिक्षण सबै पेसा जन्माउने पेसा हो। डाक्टर शिक्षकले बनाउँछ तर डाक्टरले शिक्षक बनाउन सक्दैन। हाम्रो संस्कारमा गुरुपूर्णिमा छ तर डाक्टर पूर्णिमा भन्ने छैन।

समाज विकासका क्रममा शिक्षण एउटा पेसा बन्यो। पुँजीवादी समाजमा शिक्षकले पनि बाँच्नु त पर्‍यो। शिक्षण पनि कमाउने एउटा भाँडोका रूपमा रूपान्तरण भयो। हाम्रा शिक्षक ‘हेलमेट टिचर’ मा रूपान्तरण भए। सरकारले शिक्षकलाई पुग्ने गरी सेवासुविधाको ग्यारेन्टी गर्न सकेन। ‘गुरु’ भन्ने ओजपूर्ण शब्द ‘मास्टर’ मा संकुचित भयो। यसकारण प्रतिभाशाली व्यक्ति शिक्षक बन्न सकेसम्म इन्कार गर्दैछ।

‘हजार दिनको कठोर अध्ययनभन्दा महान् शिक्षकसँगको एक दिन बढी उपलब्धिपूर्ण हुन्छ’ यो जापानिज भनाइ यत्तिकै जन्मिएको हैन। शिक्षणको प्रतिफल बेलुका नै देखिन्छ भन्ने छैन। यो अदृश्य रूपमा रहन्छ र दशौं वर्षपछि देखिन सक्छ। स्कुल पढाएका शिक्षकका कतिपय स्वभाव हामी आज आएर पछ्याइरहेका हुन्छौं। महान् शिक्षक उदयका लागि शिक्षकको सम्मानका सबै बाटो खोलिनुपर्छ। शिक्षणप्रति आकर्षण बढाउन अरू कर्मचारीलाई भन्दा शिक्षकलाई बढी सेवासुविधा दिइनुपर्छ, तब अब्बल व्यक्तिले शिक्षणमा अब सामाजिक सम्मान र आर्थिक सुनिश्चितता भेट्नेछ। यो टपर्सहरूको सपनाको पेसा बन्नेछ। महान् शिक्षकले मात्र देशको भविष्यको कल्पना चित्र कक्षाकोठामा उतार्छ।

[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.