'भान्छामै पाइने मसला कोरोनासँग लड्ने अचुक औषधि’
काठमाडौं : भान्छामा प्रयोग हुने विभिन्न खाले मसलाहरु कोरोनासँग लड्ने अचुक औषधिका रूपमा काम गर्न सक्ने डा. रामआधार यादवले बताएका छन् ।राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा. यादवले हामीले भान्छामा प्रयोग गर्दै आएका सुँठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायतको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाविरुद्ध लड्न सहयोग पुर्याउने बताए।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बेलायतको बर्नमाउथ विश्वविद्यालयको सहयोगमा आयोजना गरेको कार्यक्रममा डा. यादवले जडिबुटीका प्रयोगले कसरी कोरोनाबाट बच्न सकिन्छ भन्ने विषयमा जानकारी गराए ।
विशेषगरी उमेर पुगेका पाका व्यक्ति र दिर्घ रोगीहरूलाई कोरोनाको जोखिम बढी हुने भएकाले गुर्जोको सेवन अमृतसमान हुने पनि उनले जानकारी दिए । गुर्जो तीतो हुने हुँदा यसलाई सेवन गर्दा रक्तचाप घट्छ भन्ने आम धारणा गलत रहेको पनि उनले औंल्याए । त्यसैगरी कोरोना लाग्दा श्वासप्रश्वासमा अप्ठेरो पर्ने भएकाले यस्तो समस्या हुनै नदिन असुरोको पातको काँडा बनाएर सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्ने उनको भनाइ छ ।
कोरोना पोजिटिभ देखिएका बिरामीसँग भौतिक दूरी कायम राखे पनि भावनात्मक दूरी भने कायम राख्न हुने उनको धारणा छ । डा. यादवले भने, 'उनीहरूलाई ढाडस र साहस प्रदान गरेर बिरामीको सधैं मनोबल उच्च राख्नुपर्छ ।' रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम भएको बताउँदै सकेसम्म फ्रिजमा राखेको खानेकुरा नखाने, ताजा बनाएर खाने बानी बसाल्ने, भान्छा प्रयोग हुने ७० प्रतिशतभन्दा बढी मसलामा औषधिजन्य गुण हुने भएकाले त्यसको प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।
कोरोना महामारीपछि स्यानिटाइजरको प्रयोग व्यापक बनेको छ । तर घर र कार्यालयमा स्यानिटाइजर प्रयोग गर्नुभन्दा सकेसम्म साबुन पानीले हात धुने बानी बसाल्नुपर्ने सुझाव उनको छ ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष निर्मला आचार्यको जिज्ञासामा डा. यादवले हालसम्म कीर्तिपुर अस्पतालमा २९६ जना बिरामी आएकामा २०९ जनाको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको बताए । पोजिटिभ देखिएका बिरामीलाई पुन एक सातापछि अर्को परीक्षण गराउने गरिएको पनि उनले जानकारी दिए । हालसम्म कोरोना निको भइ नेगेटिभ देखिएर १८४ जना घर फर्किसकेका पनि उनले बताए ।
कार्यक्रममा बरिष्ठ पत्रकार लीला शाहले आफ्नै घर आँगनमा पाइने र पैसा पनि नपर्ने जडिबुटीले पनि कोरोनालाई परै राख्न सहयोग पुर्याउने ज्ञान डा.यादवमार्फत पाएको प्रतिक्रिया दिइन् ।
डब्लुडब्लुजेकी कोषाध्यक्ष रुक्मीणी पोखरेलले सञ्चालन गरेकी कार्यक्रममा संस्थाकी अध्यक्ष अमिका राजथलाले आयुर्वेदको प्रयोगले चीनमा पनि कोरोना नियन्त्रणमा ठूलो भूमिका निभाएकाले नेपालमा पनि यसको प्रयोग गरि फाइदा लिन सकिने बताइन् ।
कार्यक्रममा बरिष्ठ पत्रकार एवं नेपालको पहिलो महिला सरोदबादक रुपा न्यौपाने, रमिता लामा, शोभा मानन्धर, लक्ष्मी बस्नेत, डम्मर आचार्य, कालिका खड्का, सावित्री गिरी, एमुना राना, कोकिला केसीलगायतले सहभागिता जनाएका थिए ।