काठमाडौंका सांसदको बैठकः सांसद विकास कोषको रकम आइसोलेसन निर्माणमा

काठमाडौंका सांसदको बैठकः सांसद विकास कोषको रकम आइसोलेसन निर्माणमा

काठमाडौं : काठमाडौं जिल्लाबाट प्रतिनिधत्व गर्ने सबै दलका सांसदले सांसद विकास कोषको रकम आइसोलेन सेन्टर निर्माणमा खर्च गर्ने सहमति जनाएका छन्। काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेसँगै सांसदले पनि आफ्नो सक्रियता बढाएका हुन्।

कांग्रेस सांसद एवं पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको संयोजनमा बुधबार बसेको काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको बैठकले संसद विकास कोष र बाँकी विकास बजेट कोरोना नियन्त्रणमा खर्च गर्ने निर्णय गरेका हुन्। काठमाडौं जिल्ला १९ मध्ये बुधबारको बैठकमा १० सांसदको उपस्थिति रहेको थियो। 

‘आजको बैठकले सांसद विकास कोषको रकम खर्च हुन पाएको छैन, त्यसलाई आइसोलेसन सेन्टर निर्माणमा खर्च गर्ने सहमति भएको छ,’ भेलाको संयोजन गरेका सांसद प्रधानले भने, अरु विकास बजेट पनि खर्च भएको छैन। अहिले सबै बजेट कोरोना नियन्त्रणमा खर्च गर्नुपर्छ भन्नेमा हामी एकमत भएका छौं।’ सांसद प्रधानले काठमाडौं उपत्यकामा तत्काल १० हजार शैय्याको आइसोलेसन सेन्टर आवश्यक रहेको बताए ।

सांसदको भेलाले कोरोना नियन्त्रणमा तीनै तहको सरकारले गर्नुपर्ने कामका बारेमा सुझाव प्रतिवेदन तयार गर्ने र प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको सांसद प्रधानले अन्नपूर्णलाई जानकारी दिए। ‘कुन सरकारले के गर्ने भनेर हामी सांसदकातर्फबाट तीनै तहको सरकारलाई सुझाव दिन्छौं,’ उनले भने, ‘यसले कोरोना नियन्त्रणलाई सघाउ पुग्ने हाम्रो विश्वास छ।’ प्रतिवेदन लेख्नका लागि सांसद प्रधानसहित गगन थापा र विन्दा पाण्डेलाई जिम्मेवारी दिइएको छ।  

२०७० सालको संविधान सभा निर्वाचनपछि काठमाडौं उपत्यका लागि कसरी बस्न योग्य बनाउन सकिन्छ भनेर काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको संस्था गठन गरिएको थियो। त्यतिबेला सांसदले सुझावसहितको प्रतिवेदन तयार गरेर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका थिए। त्यसपछि सांसदको उक्त संस्था निष्क्रिय बन्दै आएको थियो। 

‘अहिले सांसदको भूमिका देखिएन भनेर गुनासो आउन थालेपछि हामीले हाम्रातर्फबाट पनि केही पहल गर्न सकिन्छ भनेर फेरि छलफललाई निरन्तरता दिएका छौं,’ सांसद प्रधानले भने,  ‘अब यस्तो खालको बैठक निरन्तर गर्ने निर्णय गरेका छौं।’

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आइसोलेसन सेन्टर निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड छ।  सरकारले दैनिक २३ हजारको स्वाब परीक्षण क्षमता रहेको दाबी गरेपनि त्यो अनुसार आइसोलेसन सेन्टर छैनन्। 

चिकित्सकमाथि भएको दुर्व्यवहारको निन्दा
त्यस्तै सांसदले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भइरहेको दुव्र्यवहारको निन्दा गर्दै सरकारलाई त्यस्ता गतिविधिमा संलग्नलाई कारवाही गर्न माग गरेको छ। स्वास्थ्यकर्मीलाई होटलमा राख्नु उचित हुने सुझाव सांसदको छ। 

कोभिड-१९ बाट संक्रमित भएर निको भएका व्यक्तिको रगत संकलनका लागि प्लाज्मा बैंकको व्यवस्था गर्नुपर्ने  सुझाव सांसदको छ। कोभिड र नन-कोभिड अस्पताल छुट्याउन पनि उनीहरुले माग गरेका छन्। 

सबैलाई एउटै अस्पतालमा उपचार गर्दा दीर्घरोगी भएका बिरामीलाई कोरोना संक्रमणको संभावना उच्च हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसद शशी श्रेष्ठ, विन्दा पाण्डे, गगनकुमार थापा, भीमसेनदास प्रधान, दीव्यमणि राजभण्डारी, रामकुमारी झाक्री, कृष्ण गिरी लगायतको उपस्थितिे थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.