जेलमा कोरोनाको उच्च जोखिममा
काठमाडौं : देशभरका ७० वटा जेलमा यतिवेला २१ हजार भन्दा बढी कैदी वन्दी छन्। एउटै जेलमा क्षमता भन्दा दोब्बरतेब्बर कोचाकोच राखिएको छ। साँघुरा घाम र हावा नछिर्ने साघुँरा कोठामा उनीहरुलाई बस्न र सुत्नका लागि सकस छ। झन् यतिवेला नयाँ कैदीवन्दी थपिँदा भित्र कोरोना संक्रमणको उच्च जोखिम छ।
काठमाडौं सुन्धारास्थित केन्द्रिय कारागार, बाँके, सुनसरी, सिराहा, पर्सा कारागारमा सुरक्षार्थ खटिएका प्रहरी र जेल प्रसासनका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि कैदीहरुले जेलभित्रैबाट आफ्नो जर्जर अवस्था दर्शाउँदै राष्ट्रिय मानवअधिकार आयोगसँग जिवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेका छन्। कैदीको आग्रहपछि आयोगले देशैभरका जेलरलाई परिपत्र गर्दै नयाँ थपिएका कैदी वन्दिलाइ छुट्टै राख्ने व्यववस्था गर्न ध्यानाकर्षण गरेको छ।
कारागारहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै कैदी वन्दीले जिवन रक्षको माग गरेपछि आयोगले साबधानीका लागि बुधबार कारागार प्रसासनलाई परिपत्र गरेकोे हो। आयोगले नयाँ कैदीको अनिवार्य पिसिआर गर्न र केही समय अरुसँग छ्यासमिस गरेर नराख्नसमेत भनेको छ। मुलुकका कारागारका सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयोगले उच्च सतर्कता अपनाउन निर्देसन दिएको जानकारी आयोग सचिव वेद भट्टराईले दिए। क्षमता भन्दा बढी वन्दिलाइ कोचाकोच राखेका कारण जेलमा कोरोनाको त्रास फैलिएको भट्टराइले बताए। आयोगले पिसिआर गरेर जेलमा लैजाँदा पनि पछि संक्रमण देखिनसक्नेतर्फ साबधानी अपनाउन भनेको छ। सबै जेलका कैदी वन्दि र थुनुवाको अवस्थाबारे आयोगले विवरणसमेत मगाएको छ।
‘विरामी भएका कैदीलाई उपचारमा लैजाँदा र भित्रिँदा पनि जोखिम देखियो। नयाँ थपिँदा पनि त्रासको अवस्था छ’, आयोग सचिव भट्टराईले भने, ‘आयोगकै अनुगमनबाट जेलमा क्षमता भन्दा अधिक कैदीवन्दी रहेको पाइएको छ। आयोगले नयाँ कैदी थपिँदा पनि पिसिआर गराएर मात्र राख्न सजग गराउँदै उच्च सावधानी अपनाउन भनेको छ।’
महान्यायाधिवक्ताको कार्यालयले पनि केही समयअघि ३७ जिल्लाका जेलको अनुगमन गरेको थियो। यो प्रतिवेदनले पनि जेलमा क्षमताभन्दा दुई गुणा बढी कैदी थुनुवा रहेको औंल्याएको छ। अनुगमन गरिका ३७ जेलको क्षमता तीन हजार आठसय ६० रहेको तर कैदी थुनुवाको संख्या भने सात हजार दुई सय ४३ देखिएको प्रतिवेदनले औंल्याएको छ। बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्युठान र रूपन्देही लगायतका जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा पाइएको छ।
अधिकाँस प्रहरी हिरासत कक्षमासमेत घाम र उज्यालोको अभाव रहेको, हावा खेल्ने भ्यान्टिलेसन नरहेको, साना झ्याल रहेको, साँघुरा कोठा, चर्पी र नुहाउने कक्ष अपर्याप्त रहेको औंल्याइएको थियो। सवारीसाधन अभावले उपचार गराउन लैजान र अदालतमा उपस्थित गराउनसमेत असहज छ। अधिकाँस कारागारमा स्वास्थ्यकर्मीसमेत छैनन्। कैदी र थुनुवाको नियमित स्वास्थ्य परीक्षण गराइँदैन।