उपचार नपाएर बाटोमै जान्छ सुत्केरीको ज्यान

उपचार नपाएर बाटोमै जान्छ सुत्केरीको ज्यान

कालिकोट : घरमै सुतकेरी भएकी महिलाको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको छ । बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा समयमै अस्पताल पुर्‍याउन नसक्दा रास्कोट नगरपालिका २ सिप्खानाकी २८ वर्षीया सिता सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो ।

घरमै सुत्केरी भएकी सिताको रक्तश्राव नरोकिएपछि स्वास्थ्य चौकी सिपखाना लगियो । सिपखाना स्वास्थ्य चौकीले उनलाई थप उपचारका लागि रास्कोटमै रहेको सामुदायिक अस्पताल रिफर गर्दा त्यहाँ ल्याउदै गर्दा बाटोमा मृत्यु भएको उनका जेठाजु हरसिंह सार्कीले बताए । उनले भने, 'सुरुमा व्यथा लाग्दा घरमा कसैले पनि थाहा पाएनन् । जटिल बनिसकेपछि उनलाई स्वास्थ्य चौकी लिने तयार गर्दा गर्दै घरमै बच्चा जन्मियो । '

घरमै बच्चाको नाभी काटियो । पछि सुत्केरीमा अत्याधिक रक्तश्राव हुन थालेपछि स्वास्थ्य चौकी लगियो। त्यहाँका स्वास्थ्यकर्मीले थप उपचारका लागि सामुदायिक अस्पताल रिफर गरिदिए। अस्पताल हिँडैको २० मिनेट नपुग्दै उनको मृत्यु भयो । उनलाई स्टेचरमा बोकेर करीब एक घण्टाको समय लाग्ने रास्कोट सामुदायिक अस्पताल लगिँदै थियो।

हरसिंह सार्की अनुसार सीतालाई भदौ ४ गते राती ११ बजेतिर सुत्केरी व्यथा लागेको थियो । १२ बजे घरमै छोरा जन्माइन् तर सालनाल नखसेपछि र रक्तश्राब नरोकिएपछि बर्थिङ सेन्टरमा लगिएको थियो। गाडीमा ५ मिनेटमै पुगिने बर्थिङ सेन्टरमा स्ट्रेचरमा लैजाँदै गर्दा आधा घण्टा भन्दा बढी समय लाग्यो।

'समयमै स्वास्थ्य चौकी पुर्‍याउन नसकिँदा भाइबुहारीले अकालमै ज्यान गुमाइन्,आमाको मृत्यु भएपछि दूध खान नपाएर नाबालक बच्चाको समेत एकदिनपछि मृत्यु भयो,' उनले भने।

यस्तै गत वर्षको चैत महिनामा जिल्लाको नरहरीनाथ गाँउपालिका ७ निवासी मीना शाहीको घरमै सुत्केरी हुँदा अत्याधिक रुपमा रक्तश्रावबाट मृत्यु भयो । नगरहरीनाथ गाँउपालिकाको माल्कोट निवासी २० वर्षीया शाहीको घरमै सुत्केरी हुँदा अत्याधिक रुपमा रक्तश्राव भइ अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

यस्तै नरहरिनाथ गाउँपालिका  ४ रप्साकी ३० वर्षीया देवी सहकारीको पनि अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । गत वर्षको साउन ९ गते सुत्केरी हुन जिल्ला अस्पताल कालिकोटमा भर्ना भएकी सहकारीको उपचार सम्भव नहुने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफर गरिएको थियो । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिँदै गर्दा कालिकोटको तिलागुफा नगरपालिका  १ नाग्ममा बाटोमै मृत्यु भएको थियो ।

कालिकोटमा भौगोलिक विकटता, यातायातको असुविधा र परिवारको लाप्रबाहीका कारण वर्षेनि सुत्केरीको अस्पताल नपुग्दै ज्यान जान्छ । गाउँमा संचालनमा रहेको बर्थिंङ सेन्टरमा पनि आवश्यक सामग्रीको अभाव छ । 

ग्रामिण क्षेत्रका महिला अहिले पनि समयमै प्रसूति सेवा लिन अस्पताल जाँदैनन् । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले भने, 'अकालमै सूत्केरीको ज्यान जानुमा धरै पक्षको कमजोरी छ । पहिलो त स्वयम व्यक्ति, दोस्रो परिवार, तेस्रो स्वास्थ्यकर्मी र चौथो सरकार ।'

उनले अहिलेसम्म प्राय गर्भवती महिलाहरुले आफ्नै घरमा बच्चा जन्माउन खोजेको, परिवारले पनि प्रसूति सेवा लिन अस्पताल लिन चाँसो नदेखाएको, स्वास्थ्यकर्मीले पनि गर्भवतीलाई सुत्केरी हुने समय आउन लाग्दा स्वास्थ्य संस्था आउनुस् भनेर फलोअप नगर्नु जस्ता समस्या देखिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.