कांग्रेसको पुस्तान्तरण
पुरानो मन नपराउनु र नयाँ मन पराउनु वा पुरानो मन पराउनु र नयाँ मन नपराउनु स्वाभाविक मानवीय चरित्र हो। विशेषतः राजनीतिक क्षेत्रमा पुराना र नयाँ भन्ने शब्दलाई सर्वाधिक बहसको विषय बनाउने गरिएको छ। र, केवल नयाँ र पुरानो भन्ने एक्ला शब्द होइनन्, तिनका साथ गाँसिएर आउने पुस्ता–शब्दमाथि निकै बहस चल्ने गरेको छ।
देशका राजनीतिक पार्टीहरूमा अधिकांशतः पुराना पुस्ताको आधिपत्य छ। र, त्यो पुस्ता अभैm पनि दाबी गरिरहेछ, ‘हामीबिना पार्टी चल्दैन।’ जब पार्टी चल्दैन भने देशमा राजनीति कसले गर्छ ? शासनसत्ता कसले हाँक्छ ? केही वर्षअघि नै ७० नाघिसकेका शेरबहादुर देउवाले त मुख खोलेरै भनेका थिए, ‘कसले भन्यो म बूढा भएँ भनेर ? भर्खर त ७० पुगें।’ मानौं, पार्टी चलाउन मात्रै होइन, राजनीति गर्नका लागि केश नै फुल्नुपर्ने ‘क्राइटेरिया’ पूरा गर्नुपर्छ। त्यसका अलावा वर्षाैंवर्ष जेलको सजाय काटेकै हुनुपर्ने खालको विसंगतपूर्ण विशेषता (? ) लाई पार्टीहरूले अवलम्बन गर्ने गरेका छन्।
तर जब–जब पार्टीको महाधिवेशनको समय आउँछ, तब बहस सुरु हुन्छ। बहस मात्रै होइन, आरोप नै लगाउन थालिन्छ कि बूढा पुस्ताले पार्टी हाँक्न सकेन। यस्तो स्थितिमा त्यसको विकल्प के त ? जवाफ सहजै आइहाल्छ– नयाँ पुस्ता।
नयाँ पुस्ताका कुरा उठ्नासाथ वर्तमान परिप्रेक्षमा नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल; नेकपाका घनश्याम भुसाल, योगेश भट्टराई, भानुभक्त ढकाल, रामकुमारी झाँक्री; राप्रपाकाका राजेन्द्र लिङ्देल, साझा पार्टीका रवीन्द्र मि श्रलगायत गैरराजनीतिक क्षेत्रबाट राष्ट्रियस्तरका मुद्दा उठाउने टेलिभिजनका सशक्त प्रस्तोता रवि लामिछाने, भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही, अर्का राष्ट्रवादी स्वरका धनी स्वागत नेपाल, म सचेत नेपालीका पुण्यप्रसाद प्रसाईंजस्ता नयाँ पुस्ताका युवाहरूको अनुहार स्वभावतः अगाडि आइपुग्छ।
यहाँनिर युवाको अर्थ उमेरसँग सम्बन्धित छ। उमेरका हिसाबले युवा भन्नेबित्तिकै तन्दरुस्त, अर्थात् शारीरिक शक्तिले समेत बूढापुस्ताभन्दा निपुण हुन्छ भन्ने बुझ्नुपर्छ। तर त्यही बुझाइभित्र एउटा गहन प्रश्न भने उठ्न सक्छ, युवा हुँदैमा मानसिक रूपले समेत ऊ योग्य हुन सक्छ ? सोचौँ त, आजको राजनीतिक सन्दर्भमा कुनै युवाले सातसाले राजनीतिक सोच राख्यो भने के होला ? कांग्रेसको कुरा गर्दा, पार्टीका कुनै युवाले बीपीको समाजवादी नीतिअन्तर्गतको ‘एउटा बस्ने छाप्रो, एउटा दुहुना गाई र घेरो नफाटेको टोपी’ को कल्पना गर्ने हो भने आजको सन्दर्भमा कति हास्यास्पद मानिएला ! यस दृष्टिकोणले, उसको त्यस्तो सोचाइलाई समसामयिक नमानिने कारण त्यस्तो युवालाई पक्कै पनि ‘बूढो’ भनिनेछ। तर अर्कातर्पm, यही कल्पनालाई कदाचित बूढा पुस्ताकै कुनै कांग्रेसीले विम्बका रूपमा लिएर नयाँ चिन्तनका साथ व्याख्या गरे भने ? जस्तो कि, बीपीको त्यो कल्पनामुताबिकको एउटा बस्ने ‘छाप्रो’ भनेको एउटा आधुनिक ‘घर’ हो, दुहुना गाई भनेको आपूm र आफ्नो परिवारलाई मज्जासँग पाल्न सकिने ‘कमाइ’ हो र घेरो नफाटेको टोपी भनेको लाज ढाक्ने वस्त्र मात्रै नभई समयअनुसारका आवश्यक ‘लत्ताकपडा’ को व्यवस्थापन हो भन्ने अर्थमा तिनले बुझाउन सके भने तिनलाई कुन पुस्ताका रूपमा बुझ्ने ? यस अर्थमा, पुस्ताका विषयमा बहस गर्दा केवल मान्छेको उमेरलाई मात्रै ध्यान दिनु गलत हुन जान्छ। जब कि वृद्ध उमेरका मान्छेले पनि नयाँ सोच राख्न सक्छ। यसलाई एकैछिन मानेर हेर्दा, एउटा जिज्ञासा भने पैदा हुन्छ, ‘त्यसो भए के आजको नेपाली राजनीतिक पार्टीहरूका पुराना पुस्ताका नेताहरूमा नयाँ सोच छ होला त ? ’
कांग्रेसको आजको यही अवस्थामा पुस्ता हस्तान्तरणको रट लगाएर र कदाचित नयाँ पुस्ताका हातमा पार्टी आइहाल्यो भने पनि आखिर हुन्छचाहिँ के ? परिवर्तन के हुन्छ ? नयाँ ‘रोडम्याप’ के छ ? केही छ भने कुन युवा कांग्रेससँग छ ?
कांग्रेसकै कुरा गरौं। एकातिर, बीपीको विचारधारा भनिएको छ, तर नियालेर हेर्ने हो भने उनको विचारधाराको धरातल रसातलमा पुगिसकेको देखिन्छ। बीपी जयन्तीका नाममा उनको फोटोमा माल्यार्पण गर्नुबाहेक उनको सिद्धान्त, उनको दूरदर्शितालाई आजका कांग्रेसले पोलेको कलिलो मकै बनाएर दारिसकेका छन्। स्पष्ट छ– उनका धारणाहरू केवल शाब्दिक रूपमा मात्रै बुझेका छन् उनीहरूले, तिनका अन्तर्य बुझ्न सकेका छैनन्। वास्तवमा बीपीका हरेक शब्दहरूको मर्म केलाएर तिनलाई नयाँ रूपमा परिभाषित गर्न सक्ने क्षमता कसैमा हुँदो हो त आज कांग्रेसको हालत पक्कै पनि यति दयनीय हुँदैनथ्यो। यसो हेर्ने हो भने, साँच्चै बीपी नहुँदा थिए त कांग्रेसको जन्म नै पो हुँदैनथ्यो कि ! सुवर्णशमशेरको तत्कालीन राष्ट्रिय कांग्रेससँग प्रजातान्त्रिक कांग्रेसले गठबन्धन गरेर सिंगो एउटा ठूलो कांग्रेस पार्टी बनाउने बीपीको प्रस्तावलाई गणेशमानजीले त ठाडै विरोध गर्दै प्रस्टसँग भनेकै थिए, ‘जुन राणाका कारण एक सय चार वर्षसम्म नेपालीले शोषण र अत्याचारमा बाँच्नुपर्यो, त्यही राणाका सन्तानसँग मिल्ने ? यो त आकाश र धरती मिल्नेजत्तिकै कुरा हो। हुँदैन, यसो गर्नु कदापि हुँदै हुँदैन।’
तर भयो। कांग्रेस एक भयो। गणेशमान–किसुनजीको सहमतिमै बीपीले नेपाली कांग्रेसको स्थापना गरे। तर आज कांग्रेसले आफ्नो त्यो गौरवमय इतिहास बिर्सेको छ। कतिसम्म भने बीपीको त्यो व्यक्तिगत विरासतसमेत लागूपदार्थ सेवन गरेर ढुलमुलिएको अवस्थामा छ। दिवंगत गिरिजाप्रसादले केही हदसम्म सम्हाल्न खोजेका हुन्, तर पछिल्लो पुस्ताका सुजाता, शेखर, शशांकमा बीपीको कुनै प्रतिबिम्ब झल्किने अलिकति पनि संकेत देखिएन। बीपीको इतिहासमा लेखिने उनको वंशको यो एउटा दुःखद पक्ष हो। तर समय भट्किसकेको छैन। प्रदीप गिरिजस्ता ‘थिंक–ट्यांकर’ कांग्रेसभित्र छन्। तर यतिचाहिँ भन्नैपर्छ– कांग्रेसको अहिलेको अवस्था नाजुक छ। सही शब्द चयन गर्नुपर्दा, ‘हारेको जुवाडे’ हो अहिलेको अवस्थाको कांग्रेस। त्यसैले प्रश्न पक्कै छ– कांग्रेसको आजको यही अवस्थामा पुस्ता हस्तान्तरणको रट लगाएर र कदाचित नयाँ पुस्ताका हातमा पार्टी आइहाल्यो भने पनि आखिर हुन्छचाहिँ के ? परिवर्तन के हुन्छ ? नयाँ ‘रोडम्याप’ के छ ? केही छ भने कुन युवा कांग्रेससँग छ ? अन्यथा, केवल चाउरी परेका अनुहारका ठाउँमा केही सफाचट अनुहारहरूका पदार्पण होला ? अरू हुन्छ के ? तर यसको आशय यो होइन कि पार्टी सधैं बूढापाकाकै हैकममा चल्नुपर्छ। मित्र विनोद न्यौपानेले यही पृष्ठमा केही दिनअघि लेखेका ‘प्राइभेट कम्पनी होइन पार्टी’। कुरो यो पनि होइन कि सधैं शेरबहादुर र रामचन्द्रबीच ‘जुँगा लडाइँ’ चलेर जगहँसाइ भइरहनु हुन्न।
साँच्चै कांग्रेसलाई अब बचाउने नै हो भने व्यक्तिको उमेरले कतै केही रोक्दैन। इतिहास पनि हेरिरहनु परेन, वर्तमानमै हेरौं, साढे सात दशक उमेरका डोनाल्ड ट्रम्पले महाशक्ति राष्ट्र अमेरिका हाँकिरहेका छन्। केवल आवश्यकता छ– साहस र प्रतिबद्धताको। यति हो, व्यक्तिगत लाभ र स्वार्थ त्यागेर देश बनाउने संकल्प गर्न भने जरुरी छ। र, यहाँनिर एउटा बुँदाचाहिँ ख्याल राख्नैपर्छ– आपूmमा परिवर्तन नगरेसम्म अरूलाई परिवर्तन गर्न सकिन्न। त्यसैले भन्ने गरिएकै छ– पहिले आफैंबाट सुधारको थालनी गर्नुपर्छ। बस्, यति भनिसकेपछि अब ढुक्कले यसो भन्न सकिन्छ– शंकै छैन, यस्तो संकल्पित यात्रामा उक्लिँदै गरेको बाटो पनि स्वयं ओरालो लाग्छ।