गुल्मी ल्याइएको पीसीआर मेसिन काठमाडौं लगियो
गुल्मी : प्राविधिकहरुको व्यस्तता र थप उपकरण जडानका लागि गुल्मी ल्याइएको पीसीआर मेसिन काठमाडौं लगिएको छ । मेसिनका लागि आवश्यक पर्ने थप उपकरण जिल्लामै जडान गर्न सम्भव नदेखिएपछि काठमाडौं लगिएको गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पाच्याले जानकारी दिए ।
मेसिन केही दिनभित्रै उपकरण जडान सकाएर जिल्ला ल्याइने उनले बताए । 'मेसिन नचलाउने गरी फिर्ता पठाइएको होइन्,'पाच्याले भने, 'अपुग भएका उपकरण जडानका लागि मात्र पठाएका हौँ।'
उनले मेसिन जडानका लागि काठमाडौंबाट प्राविधिकहरुको टोली आएपनि थप उपकरण नहुँदा सहज जडानका लागि पठाइएको बताए । केही समय ढिला भएपनि जिल्लामै पीसीआर परीक्षण हुनेमा विश्वस्त रहन उनले जिल्लावासीलाई आग्रह समेत गरे ।
परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य प्रदिप ज्ञवालीको पहलमा गत साउन ३ गते पीसीआर मेसिन गुल्मी ल्याइएको थियो । मन्त्री ज्ञवाली नै उपस्थित भएर रेसुंगा नगरपालिकालाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।
मेसिन संचालनका लागि जिल्लाका सबै स्थानीय तहले आर्थिक सहयोग जुटाउने सहमति भएको छ । रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले पीसीआर मेसिन संचालनका लागि भौतिक संरचना निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको बताए ।
उपल्लो तम्घासमा रहेको साविकको महिला तथा बालवालिका कार्यालयको भवनलाई आइसोलेसन बनाइएको छ । आइसोलेसनलाई चिदीचौरमा रहेको महेन्द्र मावीमा स्थानान्तरण गरी सोही भवनमा पीसीआर मेसिन राख्ने तयारी भइरहेको समेत गौतमले बताए । पीसीआर मेसिन खरिद बाहेक अन्य उपकरण खरिद गर्न करिब ४० लाख रुपैयाँ खर्च लाग्ने उनको भनाइ छ ।
जिल्लाबासीको सेवाका लागि ल्याइएको मेसिन संचालन भएरै छाड्ने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका प्रमुख स्वकीय सचिव जंग नेपालीले बताए । 'मेसिन जडान गर्न काठमाडौंबाट प्राविधिकसहितको टोली लिएर गृह जिल्ला आएको थिए’,उनले भने, 'जडान गर्ने क्रममा सफ्टवेयरमा समस्या देखिएपछि प्राविधिकको सल्लाहमा काठमाडौं लैजानुपर्ने अवस्था आएको हो ।'
केही दिनमै जडानको काम सकेर जिल्लामा मेसिन लैजाने उनले बताए । जिल्लामै पीसीआर परीक्षण भएपछि गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, प्यूठान र स्याङजाका नागरीक लाभान्वित हुनेछन् । हाल पीसीआर परीक्षणका लागि जिल्लाबाट प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब पठाउने गरिएको छ ।