कोरोनाबाट उदयपुरका शिक्षकको काठमाडौंमा मृत्यु
उदयपुर : त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा मृत्यु भएका उदयपुरका शिक्षकको शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड कमिटीका सञ्चार संयोजक माधबप्रसाद घिमिरेले त्रियुगा नगरपालिका ४ का ५२ वर्षीय शिक्षकको मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि गरे ।
यो उदयपुरका लागि पहिलो घटना हो । यधपि जिल्ला भित्रै हो वा काठमाडौंमा उपचारका क्रममा कोरोना संक्रमण सरको पुष्टि हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए ।
सुवेदीका अनुसार उनको पीसीआर उदयपुरमा नगरिएकाले काठमाडौंमै तथ्यांक रहने बताए । निमोनियाको आशंकामा गत मंगलबार (भदौ ९ गते) राती ११ बजे हस्पिटल पुर्याए लगत्तै उनलाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन २८ गतेदेखि बिरामी रहेको परिवारका सदस्यले बताएका छन् । ज्वरोको लक्षण देखापरेपछि भदौ २ गते जिल्ला अस्पताल बोक्सेमा पुगेका उनी सामान्य उपचार पछि घर फर्किएका थिए ।
अस्पतालको औषधिले पनि ठिक नभएपछि निमोनियाको आशंकामा त्रियुगा नगरपालिका ३ स्थित राजेश हेल्थकेयर सेन्टर प्रा.ली.मोतिगडामा उनले भदौ ४ गते रगत परीक्षणका लागि रगत दिएको र ६ गते भर्ना भई उपचार गरेको परिवारले जनाएको छ । तीन दिनसम्म पनि उपचार गर्दा ठिक नभएपछि परिवारले भदौ ८ गते राती डिस्र्चाज लिई काठमाण्डौँ लगेका थिए ।
लकडाउनकै विचमा लिम्चुङ्गबुङ्ग गाउँपालिका १ स्थित आधारभूत प्राथामिक विद्यालय बाँस्बोटेबाट सरुवा भई आएका उनी साउन २७ गते त्रियुगा नपा ७ स्थित आधारभूत विद्यालय कौवाईमा हाजिर भएका थिए ।
यता प्रहरीले उनले उपचार गरेको हेल्थकेयरमा सिल गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले अब कन्ट्याक्ट ट्रेसिङ गरिने बताए । उनले पहिलोचरणमा संक्रमण कहाँबाट सर्यो भन्ने एकिन पछि उनीसँग सम्र्पक रहेका व्यक्तिको खोजी गरिने बताए ।