सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुग्यो
सिरहा : कोरोना भाइरसको संक्रमणबाट शुक्रबार राति सिरहाको लहान नगरपालिका- १८ भदैयाको एक जनाको मृत्यु भएको छ। मृत्यु हुने वृद्ध ८४ वर्षका थिए। योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।
मृत्यक वृद्धलाई मृगौलामा समस्या भएर प्रतिष्ठानको आकस्मिक कक्षमा भदौ ६ गते भर्ना भएका उनलाई मेडिसिन वार्डमा सारेर मिर्गौलाको डाइलासिस हुँदै थियो। भदौ ७ गते पीसीआर रिपोर्ट कोरोना पोजिटिभ देखिएपश्चात उनलाई तत्काल प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो। मृगौलाका दिर्घरोगी भएका उनको स्वास प्रस्वासमा गम्भीर समस्या आएका कारण मृत्यु भएको जनाएको छ।
शुक्रबारै लहान नगरपालिका-९ की ६५ वर्षीया वृद्धको पनि विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनको शव नेपाली सेनाले कार्यविधि अनुसार व्यवस्थापन गरेका छन्।
शव व्यवस्थापनमा अवरोध
बिहिबार सुखीपुर नगरपालिका ८ का ६५ वर्यीय एक वृद्धको धरानमा कोरोनाबाट मृत्यु भएको थियो। स्थानीय प्रशासनले शुक्रबार १० बजे मृतकको शव लहान नगरपालिकामा मेयरसहित प्रहरी प्रशासन शव व्यवस्थापन गर्न पुगेका थिए। तर, स्थानीयले त्यहाँ शव व्यवस्थानमा अवरोध गरेका थिए। अवरोधले ६ घण्टासम्म शवलाई खोलामै एम्बुलेन्स भित्रै राख्नुपरेको थियो। सोही क्रममा प्रहरीसँग स्थानीय झडप पनि भएको थियो।
पहिलो खाल्डो खनेका स्थानीयको अवरोधका कारण शव व्यवस्थापन भएका थिएनन्। अवरोधपछि अर्को खाल्डो खनियो। त्यसपछि जिल्लाका विभिन्न स्थानबाट मगाइएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको कडा सुरक्षाघेरामा शुक्रबार अपराह्न साढे ४ बजे शव व्यवस्थापन गरिएको थियो।
मृतकको शव शुक्रबार बिहान ल्याइएपछि सुखीपुर– ८ मा पर्ने महदेवा, दहीपौडी जाने बाटोमा सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीय युवाहरूले मृतकको पुरानै गाउँ लगेर व्यवस्थापन गर्न माग गर्दै अवरोध गरेका थिए। स्थानीय कृष्णमोहन चौधरीका अनुसार सुखीपुरका जनप्रतिधि र सुरक्षाकर्मीले सम्झाउने प्रयास गरेपनि नमानेपछि प्रहरी परिचालन गरी सुखीपुर– ३ र ८ को सीमा क्षेत्रमा व्यवस्थापन गरिएको हो।
उच्च रक्तचाप र क्षयरोग भएर १८ महिना औषधि सेवन गरेका मृतकलाई श्वास–प्रश्वासमा समस्या भएपछि ६ भदौमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमा भर्ना गरिएको थियो। भर्ना भएपछि स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा ८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यसअघि मृत्यु भएका चारजनाको सम्बन्धित स्थानीय तहको समन्वयमा मृतकका परिवारको सहमतिमा सेनाकै टोलीले शव व्यवस्थापन गरेको, तर सुखीपुरमा मापदण्ड पुर्याएर शव व्यवस्थापन गर्न खोज्दा अनावश्यक विरोध भएपछि जनप्रतिनिधिहरूले पनि दुःख व्यक्त गरेका छन्।
सिरहामा कोरोना संक्रमितको कारणले मृत्यु हुनेको संख्या ७ पुगेको छ। ८ भदौमा लहान नगरपालिका २४ का २२ वर्षीय पुरुष, ३ भदौमा मिर्चैया नगरपालिकाका ६० वर्षीय पुरुष, २९ साउनमा विष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुष र २२ साउनमा गोलबजार नगरपालिकाका २३ वर्षीय पुरुषको मृत्यु भएको थियो।