डेढ सय कैदीबन्दीलाई ज्वरो र रुघाखोकी
काठमाडौं : सुन्धारास्थित केन्द्रीय कारागारका डेढ सयभन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएको छ। त्यससँगै ५० जनाको स्वाब कोरोना परीक्षण गर्न पठाइएको छ।
विभिन्न कारागार सुरक्षार्थ खटिएका प्रहरी र जेल प्रशासनका कर्मचारीमा कोरोना देखिएपछि सतर्कता अपनाइएको अवस्थामा कैदीमा ज्वरो र रुघाखोकी देखिएको हो। कारागार स्रोतका अनुसार बाहिरबाट सरुवा भएर आएका २ कैदीमा कोरोना देखिएको छ। उनीहरूलाई कारागारभित्रै क्वारेन्टाइन बनाएर निगरानीमा राखिएको छ।
राष्ट्रिय मानवअधिकार आयोगका कारागार हेर्ने सदस्य सुदीप पाठकले ५० जना थुनुवा र कैदी तथा ३० सुरक्षाकर्मीको स्वाब परीक्षण गर्न अस्पताल पठाएको जानकारी प्राप्त भएको बताए। ‘१ सय ५० जनामा ज्वरो आएको कारागार विभागबाट जानकारी आएको छ। कैदी र सुरक्षाकर्मीसहित ८० जनाको स्वाब परीक्षणमा पठाइएको छ’, पाठकले अन्नपूर्णसँग भने, ‘भौतिक दूरी कायम नगरे भयावह अवस्था आउने खतरा छ।’
पाठकले आयोगको अनुगमनका क्रममा केन्द्रीय जेलमा एउटै कोठामा २० जनासम्म पाइएको सुनाए। ‘जब कि कोरोनाबाट जोगिन कम्तीमा पाँच फिटको फरकमा बस्नुपर्छ’, उनले भने। साबुन, डेटोलसहितका सामग्री किन्न कैदीलाई कम्तीमा ५० रुपैयाँ उपलब्ध गराइनुपर्ने उनको भनाइ छ।
देशभरका ७१ जेलमा २३ हजार ८ सय कैदीबन्दी छन्। तर, जेल क्षमता भने १० हजार मात्र छ। जेल कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै कैदीबन्दीले बुधबार आयोगसमक्ष जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए। आयोगले बुधबारै सरकार र कारागार व्यवस्थापन विभागलाई परिपत्र गर्दै उच्च सतर्कता अपनाउन सजग गराएको थियो।
आयोगले नयाँ र पुराना कैदी बन्दीलाई छुट्टै राख्ने व्यवस्था गर्न ध्यानाकर्षणसमेत गराएको थियो। क्षमताभन्दा अधिक कैदीबन्दी एकै ठाउँ खाँदिएर बस्दा कोरोना जोखिम बढेको हो। पीसीआर गरेर थुनामा पठाउँदा पनि पछि पुनः संक्रमण देखिन सक्नेतर्फ जेलमा सावधानी नअपनाइएको भनाइ कैदीबन्दीको छ।
पाठकका अनुसार फौजदारी संहिताले तोकेअनुसारको कार्यदल बनाएर कम सजाय तोकिएका कैदीबन्दीका चालचलन हेर्न सकिए कोरोनाका बेला जिल्ला न्यायाधीशको रोहबरमा १० हजारको संख्यामा छुट्ने अवस्था छ। संहिताबमोजिम नियमावली नबन्दा जेल सुधार र कैदीको हकअधिकारमा काम गर्न बाधा परेको उनको भनाइ छ।