सागले बिरामी, सागले आत्महत्या !
बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका-५ रिजाल चोकका ७८ वर्षीय रनबहादुर विकले गत वर्ष जंगलबाट जरिङ्गो नामको साग लिएर घर छेउमा सारे। अहिले उक्त साग हराभर भयो पनि। गत बिहीवार साग टिपे र केही आफुले खाने गरी विकले राखे। केही भने छिमेकीलाई दिए। तर साग खाएको केही समयमै चार जना बेहोस बने।
स्थानीय ३७ वर्षीया चिजा कँडेल, ७१ वर्षीया देउरुपा कँडेल, ३७ वर्षीय चुडामणी कँडेल र १७ वर्षीय सन्तोष कँडेल गम्भीर बिरामी परेपछि तत्काल धौलागिरी अस्पताल बागलुङ लगियो। धौलागिरीमा सामान्य उपचार पछि रेफर गरेर थप उपचारका लागि उनीहरु सबैलाई गण्डकी शिक्षण अस्पताल पोखरा पठाइयो।। बिरामीका दाजु गणेश कँडेलका अनुसार अहिले चुडामणी कँडेलको आइसियुमा राखेर उपचार भैरहेको छ भने अन्यको अवस्था सामान्य बनेको छ।
दु:खद कुरा साग आफु पनि खाएर बिरामी पर्ने छिमेकीलाई साग दिने ७८ वर्षीय रनबहादुर विक झुण्डिएको अवस्थामा मृत फेला परे। साग खाए पनि केही समय अरु जस्तै बिरामी परेका विकलाई अरुलाई जस्तो गम्भीर समस्या देखिएको थिएन। ‘जरिङ्गो नामको साग बिषालु रहेछ, विकले मदिरासँग खाएकाले केही कम लागेको जस्तो देखिएको थियो,’ काठेखोला ५ का वडा अध्यक्ष शिव कंडेलले भने, ‘उमेर बढी भए पनि शारिरिक रुपमा खासै असर देखिएको थिएन, मैले गर्दा अरु बिरामी परे भन्ने सोचेर होला शुक्रबार दिउँसो २ बजे घरबाट निक्लिएका रहेछन्, शनिबार घर नजिकैको चुलेत्रोको रुपमा झुण्डिएको अवस्था भेटियो।’
मृतक विकको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी राजेन्द्र रेग्मीले बताए। प्रारम्भिक अनुसन्धानबाट जरिङ्गो जस्तो विषालु साग खाँदाको केही शारिरिक असर र आफुले दिएको सागले छिमेकीमा गम्भीर बिरामी परेको कुराले मानसिक रुपमा आघात पुगेको निष्कर्षले यस्तो निर्णयमा पुगेको पाइएको डिएसपी रेग्मीले बताए।
धौलागिरी अस्पतालका मेडिकल सुपुरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले वर्षायामको सागसब्जी, च्याउलगायतका खाँदा विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए। ‘यदी जंगलबाट लिएर खाइरहने गरेका सागसब्जी, च्याउहरु छन् भने पनि अलि सावधानी लिएर राम्ररी धोइपखाली पकाउनु पर्दछ,’ डा.पोखरेलले भने, ‘नयाँ खालको पहिचान नभएको साग, च्याउलगायतका जडिबुटी छन् भने प्रयोग नगर्नुस्, यसले ज्यान समेत लिने जोखिम हुन्छ।’