कैलालीमा थप पाँच दिन निषेधाज्ञा
धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा जारी निषेधाज्ञा पाँच दिन थप गरेको छ। यसअघि १० दिनसम्म जारी गरेको निषेधाज्ञा आइतबार राति १२ बजेदेखि सकिँदै थियो।
जिल्लामा अझै कोरोना संक्रमणको दर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले यही १९ भदौ राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण फैलने जोखिम बढिरहेकाले निषेधाज्ञालाई थप पाँच दिन लम्ब्याइएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। सरोकारवाला सबैको सुझाब, सल्लाह पनि संक्रमण फैलन नदिन निषेधाज्ञा जारी राख्नुपर्ने रहेकोले निषेधाज्ञा थपिएको बोहराको भनाई छ।
निषेधाज्ञामा अतिआवश्यक कामबाहेक हिँडडुल गर्न रोक लगाइएकोले संक्रमणको ‘चेन ब्रेक’ हुने आशासहित निषेधाज्ञालाई लम्ब्याइएको हो प्रमुख जिल्ला अधिकारी बोहराले भने, यो अवधिमा अत्यावश्यक काम बाहेक जथाभावी हिँडडुल नगरी निषेधाज्ञाको पालना गरिदिनहुन जिल्लाबासीलाई अनुरोध छ।
कैलालीमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ। हालसम्म जिल्लाभर एक हजार ६ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी संक्रमित प्रदेश राजधानी धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका तथा लम्की–चुहा नगरपालिकालगायत तहमा देखिएका छन्।