बोका र पाठा नबिकेपछि चिन्ता
उदयपुर : खोरभरी बोका र पाठा छन् तर बिक्री छैन। बजार लैजाउ गाडी खुल्दैन, गाउँघरमा भनेजस्तो बिक्री छैन। झण्डै ६ महिनादेखि लकडाउन जारी रहँदा उदयपुरको त्रियुगा नगरपालिका १५ नेपानेका रामकुमार राई हिजोआज निकै चिन्तित छन्।
नौ वर्र्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका उनको खोरमा १५० वटा बोका र पाठापाठी बिक्रीयोग्य छन्। गाडी लिएर व्यापारी सिधै घरमै पुग्ने र एकैपटक २५÷३० वटा लैजाने गरेकोमा व्यापारी पुग्न नसक्दा उनका बोका खोरमै थुनिएका हुन्।
खसीभन्दा बोका र पाठापाठीमा राम्रो आम्दानी हुने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘खसीबाट एकमुष्ट ठूलो रकम आए पनि बोका पाठापाठीजस्तो आम्दानी हुन सक्दैन।’
व्यवसाय सुरु गरेदेखि पहिलोपटक समयमा बोका, पाठा बिक्री गर्न नपाएको उनी बताउँछन्। २०६८ सालदेखि व्यवसायमा होमिएका राईले २०७१ मा ‘स्वईच्छा बाख्रापालन फर्म’ दर्ता गरेर व्यावसायिक बाख्रापालन गर्दै आएका छन्। लकडाउनले गर्दा समयमा बोका, पाठा बेच्न नपाएको राईले बताए।
‘यस बिचमा गाउँघरमा केही बोका बिक्री भए पनि उचित मूल्य पाउन सकेन्,’ उनले भने, ‘व्यापारीले उचित मूल्य दिएर एकमुष्ट रकम दिएर जान्छन्, गाउँघरमा मूल्य पनि कम त्यसमा अझ उधारो दिनु पर्छ, खपत पनि भने जस्तो छैन्।’ पाठा जन्मेको करिब ५ महिनामा बेच्न योग्य हुन्छ। सिजन कटिसकेको बोका पनि फर्ममा राख्नु परेको उनको गुनासो छ।
बाख्रापालनबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै आएका रामकुमारले यस वर्ष कोरोनाकै कारण आम्दानी आधाले घट्ने बताए।
व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका राईका आधुनिक तीन वटा खोर, बाख्रालाई नुहाउने डिपिङ सेन्टर, आधुनिक टाट्नोको व्यवस्था छ। अहिले फर्ममा दुई सय ५० माउ बाख्रा छन्। फर्ममा स्थानीय जातको खरी बाख्रा, जमुना पारी, बोयरलगायत प्रजातिका बाख्रा रहेको राईले बताए।
२०५७ सालमा ग्रामीण पशु स्वास्थ्य सेवा तालिम लिएर दश वर्ष गाउँ बस्तीमा पशुको उपचार गर्ने क्रममा व्यावसायिक बाख्रापालन गर्ने सोच जागेको उनी बताउँछन्। त्यहीँ सोचले श्रीमतिलाई पनि भेटनरी पढाएर अहिले दुवै जना बाख्रापालनमा लागेको उनी बताउँछन्। भेटनरी ज्ञान भएकाले रोग नलागे पनि बाख्रा सामान्य बिरामी पर्दा आफैले उचार गर्ने गरेकाले व्यवसाय गर्न सहज भएको श्रीमती जिनाकुमारी राई मगरको भनाइ छ।
बाख्रापालनका लागि राईले करिब १५ रोपनी जग्गामा घाँस रोपेका छन्। बाख्राले खान रुचाउने इपिलिपी, इन्डुला, टाँकी, किम्बु, कोइराला, नेपियर, भटमासेलगायत प्रजातीका घाँस रोपेको उनी बताउँछन्।
वोयर जातमा आकर्षण
रामकुमारले पालेका बाख्रा र बोकामध्ये सुर्खेतबाट ल्याएको बोयर जातको बोका र बाख्रा आकर्षित रहेको छ। उनले ५० केजी रहेको वोयर बोका दुई लाख ७६ हजार रुपैयाँमा सुर्खेतको अस्मिता फर्मबाट खरिद गरेको बताए। त्यसैगरी प्रतिकेजी एक हजार रुपैयाँका दरले तीनवटा उक्त जातीका बाख्रा एक लाख सात हजारमा खरिद गरेको उनले सुनाए।
राईले खसीभन्दा पनि बोका र पाठी उत्पादन गरी बिक्री गर्ने गरेका छन्। यसरी उत्पादन गरेको एउटै बोका २५ हजार मूल्यसम्म बिक्री गरेको बताए। बोयर जातका बाख्रालाई पहिलो प्राथमिकतामा राखेर व्यवसायलाई अगाडि बढाउने सोच रहेकाले फर्मलाई एउटा स्रोत केन्द्रको रूपमा अघि बढाउनेसमेत लक्ष्य रहेको उनको भनाइ छ।
‘हाम्रो बानी कुनै निकायबाट अनुदान पाउनसाथ हचुवाको भरमा व्यवसाय सुरु गर्छौ’, राई भन्छन्, ‘अनुभव, अभ्यास र इच्छाशक्ति बेगर कुनै पनि व्यवसायमा हात हाल्नु उपयुक्त छैन्।’ ज्ञानबिना व्यवसाय गर्दा सोचेजस्तो आम्दानी लिन नसकिने उनको भनाइ छ।