अब हातले होइन, दिमाागले चलाउने कम्प्युटर !
विद्युतीय कार निर्माता टेस्लाका संस्थापक इलोन मस्कले मस्तिष्कमा कम्प्युटर चीप राखिएको एक सुँगुर सार्वजनिक गरेका छन्। सो कार्यक्रमले उनको महत्त्वाकाङ्क्षी मस्तिष्कलाई उपकरणमा जोड्ने तरिकाको प्रदर्शन गरेको छ ।
'यो मस्तिष्कमा साना तार जडित सानो उपकरण हो,' उनले वेबकास्टमार्फत भने। उनको स्टार्टअप कम्पनी न्यूरालीङ्कले मानिसको यो प्रविधि परीक्षण गर्न गत वर्ष आवेदन दिइसकेको छ ।
यो प्रविधिले नसामा समस्या भएकाहरूलाई सोचेकै भरमा फोन वा कम्प्युटर नियन्त्रण गर्नसक्ने बनाउने बताइएको छ । त्यस्ता चीप क्रमिकरूपमा डिमेन्सिया, पार्किन्सन्स र मेरुदण्डमा समस्या भएका मानिसहरूको अवस्था सुधार गर्नका लागि प्रयोग गर्न सकिने मस्कले दाबी गरे । तर दीर्घकालीन रूपमा भने यसको आंशिक उद्देश्य मानव जातिलाई नष्ट पारिदिन सक्ने कृत्रिम बुद्धिमत्ताविरुद्ध उभिनु रहेको उनले बताए ।
प्रदर्शन गरिएको गेट्रुड नामको सुँगुरले खाना खाँदा वा बास्ना लिँदा ती गतिविधिहरू ग्राफमा देखिएको थियो । उनको मस्तिष्कमा जडित उपकरणले ताररहित सङ्केत पठाएको थियो जसले खानाको खोजी गरिरहेका बेला उनको नाक र मुखमा नशाको गतिविधि देखाएको थियो ।
गत वर्ष सार्वजनिक गरिएको न्यूरालीङ्क उपकरणलाई अझ सरल र सानो बनाइएको मस्कले बताए। 'यो सहजरूपमा तपाईँको मस्तिष्कमा अट्छ । यो तपाईँको कपालमुनि हुनसक्छ र तपाईँलाई यसबारे थाहा पनि हुँदैन,' उनले भने ।