अब पालो कथानक गीतको

अब पालो कथानक गीतको

काठमाडौं : समयको गतिसँगै गीतसंगीतको पाटर्न पनि परिवर्तन हुँदै गएको छ। कुनै समय सुन्ने गीतको बोलवाला थियो। विस्तारै सुन्ने र हेर्ने गीतले बजार लियो। अहिले त्यसलाई पनि विस्थापित गर्दै हेर्ने गीतमा कथा जोड्न थालिएको छ। र, बजार पनि यस्तै गीतले लिन थालेका छन्।

गीत कति लामो हुनुपर्छ ? यसको कुनै निर्धारित मापदण्ड छैन। तर नेपाली गीतको औसत लम्बाइ पाँच मिनेटको हाराहारीमा हुने गरेको छ। सुन्नेभन्दा हेर्ने गीत धेरै हेबन्न थालेपछि गीतको लम्बाइ बढ्न थालेको छ। अरू गीतभन्दा दोहोरी गीतको लम्बाइ बढी हुने गरेको छ। कथा जोडेर गीतको भिडियो बनाउने क्रम बढेपछि गीतको लम्बाइ तन्कन थालेको हो। तीजको अवसरमा आएको गायक प्रकाश सपूतको ‘बदला बरिलै’ बोलको गीत यसको पछिल्लो उदाहरण हो। देवी घर्तीको स्वर रहेको यो गीतको भिडियो १५ मिनेटको छ।

‘बदला बरिलै’ मा मूल गीतले बलात्कार घटनाको कथा पूरा नभएपछि परिकल्पनाकार सपूतले संगीत थपेका छन्। यसले गीत मात्रै नभएर डकुमेन्ट्री वा सर्ट फिल्मको झल्को दिन्छ। यो गीतको मर्म बुझ्न सुनेर मात्रै पुग्दैन, हेर्नै पर्छ। सुन्दा मात्र यसको कथा पूर्णत बुझिँदैन।

अडियो क्यासेट हराएर युट्युबबाट भिडियो रिलिज गर्ने परम्परा बसेपछि कथा जोडेर गीत निर्माण हुन थालेका छन्।

गीतभित्र कथा जोड्नु समयको माग भएको धारणा राख्छन् सपूत। भन्छन्, ‘पहिले अडियो क्यासेटको चलन थियो, भिडियोको परिकल्पना थिएन। तर अहिले अडियो क्यासेट हराएर युट्युबबाट रिलिज गर्ने परम्परा बसेपछि गीतमा कथा जोडिएर आउन थालेका छन्। यसले गीतलाई थप बलियो बनाउँछ।’ यद्यपि गीतभित्र कथा जोडेपछि थपिएको संगीतले अडियो मात्रै सुन्ने    श्रोतालाई बोझिलो लाग्ने खतरा रहेको भने स्वीकार्छन् सपूत।

गायकहरूकै बुझाइमा अडियो मात्रै अपलोड गरिएका गीतका श्रोता कम छन्। त्यसैले भ्युजका आधारमा गतिलो आम्दानी पनि हुने भएपछि भिडियो बनाएर युट्युबमार्फत रिलिज गर्ने चलन मौलाउँदै गएको छ। भिडियो बनाउँदा गीतभित्रै कथा खोज्ने कन्सेप्ट देखिएको छ। भिडियो बनाइएका गीतमा कथा बुझाउन मूल गीतमा नरहेका केही संवाद सुरवात र पुछारमा जोड्ने चलन पनि सुरु भएको छ।

केही वर्षपहिले स्टेजमा उफ्रिँ दै गाउने गायक धीरज राईको प्रस्तुति हेरेपछि लेखक अभि सुवेदीको लिखत टिप्पणी थियो, ‘ए भाइ, एक पटकमा एउटा मात्रै काम गर न; कि गीत गाऊ कि नाच।’ अब भने लेखक सुवेदीको टिप्पणी ‘उहिलेको देशमा खुइलेको कुरा’ भएको छ। कारण प्रायः सबै गायक–गायिका आफ्नो गीतको भिडियोमा कम्मर मर्काउन थालेका छन्।

अरू त अरू, पहिलो नेपाल आइडल विजेता बुद्ध लामा पनि नृत्यतिर तानिएका छन्। यसै साता युट्युबमा सज्जा चौलागाईंसँगको संयुक्त स्वरमा उनको ‘हुन्न हुन्न, हुँदै हुन्न’ बोलको गीत अपलोड भएको छ। यसको भिडियोमा उनी आफंै देखिएका छन्।

बुद्ध लामा हिमालयन टेलिभिजनबाट यथाशीघ्र प्रसारण हुने ‘डान्सिङ विथ द स्टार’ कार्यक्रमका लागि नृत्य कक्षा पनि लिइरहेका छन्। भन्छन्, ‘कोरियोग्राफीतिर लाग्छु भन्ने रहर छैन। रुचि गायनमै छ। रियाजमा तीन घण्टा समय दिन्छु भने नृत्यमा आधा घण्टा। रमाइलोका लागि नृत्य सिक्न थालेको हुँ।’

गायक शिशिर योगीको बुझाइमा गायन र नृत्य बिल्कुल फरक विधा हो। गायकहरू गीतको रियाजभन्दा नाच्न बढी ध्यान दिन थालेपछि स्वर खस्किन्छ। गायिका समीक्षा चौधरीले केही नेपालीबाहेक आफ्नो मातृभाषाका सयौं गीत गाएकी छन्। थारू गीत पनि भिडियोसहित धमाधम युट्युबमा अपलोड गर्ने क्रम बढेको छ। तर अपवादबाहेक उनी गीतको भिडियोमा देखिन रुचाउँदिनन्। भन्छिन्, ‘भिडियो निर्माता, निर्देशकहरू अफर त गर्छन् तर मलाई अनुहार देखाउनुभन्दा स्वर मात्रै सुनाउन ठीक लाग्छ।’ भिडियो सुटिङले धेरै समय खाँदा रियाजमा असर पर्ने भएकाले जाँगर नचलेको उनको भनाइ छ।

त्यसो त स्टेज कार्यक्रम तताउन पनि गायक–गायिका नृत्यका केही स्टेप सिक्न लालायित भएको हुनुपर्छ। अहिले बन्ने गीतका प्रायः भिडियोमा कम्मर मर्काउन नजान्ने गायक–गायिका पनि गीतको केही अन्तरामा हात हल्लाउँछन्।

लकडाउनले कलाकार बेरोजगार छन्। लकडाउन खुकुलो भएको बेला विपिन कार्की, पल शाह, दयाहाङ राई, नाजिर हुसेनलगायतका कलाकारले विभिन्न म्युजिक भिडियोमा अभिनय गरेका छन्। गीत सुन्नेभन्दा हेर्ने चलन बढेपछि चल्तीका कलाकार पनि म्युजिक भिडियोमा देखिन थालेका छन्। यस्तोमा स्वयं गायकहरू पनि मोडलिङमा आउनु अस्वाभाविक होइन।

आज एउटा अर्को कथानक गीत
समयको मागसँगै अघि बढेका संगीतकर्मीको एउटा समूहले निर्माण गरेको ‘माया नयनी ताल’ बोलको म्युजिक भिडियो सोमबार अपरान्ह रिलिज हुँदैछ। सरोज साजन श्रेष्ठ (एस थ्री) को स्वर, शब्द तथा संगीत रहेको ‘माया नयनी ताल’ को भिडियोमा यसका निर्देशक विधान कार्कीले शब्द अनुसारको कथा बुनेका छन्। भिडियोमा सुशील रेग्मी, टिकटकबाट चर्चामा आएका सुधीर श्रेष्ठ र रियाशा दाहालको अभिनय छ। ‘गीतका शब्द, त्यसको भाव अनि संगीतको मर्म जोडेर भिडियोमार्फत कथा भन्ने प्रयास गरेको छु’, निर्देशक कार्कीले भने। नेपाली लोकपप जनरालाई फ्युजन गरिएको गरिएको गीतलाई सुहाउने कथा जोडिएको उनको भनाइ छ। सरोज साजन श्रेष्ठको प्रस्तुति र नेप्सिनेको भिडियो निर्माण रहेको भिडियोका निर्माता प्रेम रेग्मी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.