झापामा युवकको शव फेला
झापा : झापाको शिवसताक्षी नगरपालिका–११ सतासीधाम जाने बाटोमा एक युवा मृत अवस्थामा फेला परेका छन्। शिवसताक्षी नगरपालिका मैनाचुलीका २८ वर्षीय गोमनसिंह मगर मंगलबारदेखि बेपत्ता भएका थिए।
परिवारले झिलझिले प्रहरीमा मगरको खोजी गरिदिन जानकारी गराएका थिए। अन्तत: मगरको शव धारिलो हतियार प्रहार गरेको अवस्थामा बुधबार बिहान १० बजे भेटिएको हो। सतासीधामको रतुवामाई वृक्षारोपणका बन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए।
प्रहरीका अनुसार मृतक मगरको घाँटी तथा शरीरका विभिन्न भागमा गहिरो चोट देखिएको छ। शवको प्रकृति हेर्दा हत्याको आशंकामा घटनाको थप अनुसन्धानका लागि धरानबाट कुकुर बोलाइएको इलाका प्रहरी प्रमुख पण्डीतले जानकारी दिए।