परिवारभित्र लैंगिक विभेद

परिवारभित्र लैंगिक विभेद

प्रसंग तीन महिनाअगाडिको हो। मेरो छिमेकी दाजुका तीनजना छोरी छन्। हाम्रोजस्तो देशको परिवारका लागि पाँचजनाको परिवार पूर्ण नै हो। तर पनि उहाँलाई अझै एउटा छोराको इच्छा थियो। भाउजू गर्भवती हुनुभयो। त्यो गर्भमा छोरा छ भने जन्म दिने, छोरी भए गर्भपतन गर्ने भन्ने निर्णयमा पुगेकाले त्यो गर्भमा छोरी भएको कुरा अहिलेको आधुनिक प्रविधिले पत्ता लगायो; गर्भपतन गरियो तर भाउजूको मनसाय भने थिएन। सन्तान ईश्वरका वरदान मान्ने, धर्मपुत्र÷धर्मपुत्री पाल्ने यो समाज आज आफ्नो सन्तानलाई जन्माउनुअगाडि नै मृत्युवरण गराउने इच्छा मलाई लाग्छ; कुनै आमाको हँुदैन। उहाँले सामाजिक कुसंस्कारको परिबन्दमा परेर गर्भपतन गराउनुभयो। उहाँहरूलाई यो लकडाउनको अप्ठ्यारोले पनि केही असर पारेन गर्भपतनका लागि। हामी जन्मिनेबित्तिकै लैंगिक विभेद भएको छ भन्छौं। तर यहाँ गर्भमै छोरी भए तुहाउने गरिन्छ।

पहिले–पहिले छोरीलाई लक्ष्मी भनी पुज्थ्यौं तर अहिले अलक्षिनीको संज्ञा दिइन्छ। आफ्ना सन्तानै मार्ने हत्यारा घरघरमा छन्। निर्दोष शिशुलाई मारिरहेका छन्। अझ कतिपयले त बिहे हुनुपूर्व नै लुकिछिपी यौन सम्बन्ध राख्ने गरेकाले गर्भपतन गर्ने प्रचलन धेरै छ। खुलारूपमा गर्भपतनका औषधि बजारमा छ्यापछ्याप्ती पाइनुले पनि यो समस्या विकराल बन्दै गइरहेको छ। प्रसिद्ध लेखिका तसलीमा नसरिनको ‘बिग्रेकी केटी’ (सन् १९९३) किताबको ‘भावनाको भास्कर्य’ शीर्षकअन्तर्गत पेज नम्बर १२०, अनुच्छेद ३ मा लेख्नुहुन्छ, ‘गर्भ स्त्रीको हो। त्यस गर्भमा केही धारण गर्न वा गर्भपतन गर्नका लागि स्त्रीका लागि स्त्रीको निर्णय नै अन्तिम हुनुपर्छ। त्यस गर्भमा कुनै पनि पुरुष या राष्ट्रको अधिकार व्यक्त गर्नु हुँदैन। जबसम्म स्त्रीलाई गर्भपात या गर्भधारणको स्वतन्त्रता प्राप्त हुँदैन, त्यतिखेरसम्म कुनै पनि स्त्रीलाई ‘मासुको थुप्रो’ भन्न मलाई कुनै द्विविधा छैन।’

केही समयअगाडि प्राध्यापक साथीकी छोरी भएकोमा मैले बधाई दिएको थिएँ। सोचेको थिएँ धन्यवाद भन्छन् होला भनेर, तर उनले गाली गर्दै भने, ‘केको बधाई ?   छोरा जन्मिएको भए पो बधाई लिनुहुन्थ्यो।’ यो संवादले हाम्रो समाज, सोच र व्यवहार झल्काउँछ। जन्मिनेबित्तिकै छोरीले प्राध्यापक बुवाबाटै विभेद भोग्नुपरेको छ। समाजलाई नेतृत्व गर्ने, शिक्षा दिने व्यक्तिबाट त यस्तो घृणित व्यवहार छ भने गाउँ वा दूरदराजमा रहेकाको स्थिति के छ होला ?   अनि कसरी छोरीले माया, स्नेह र सम्मान पाउँछिन् ?   समाज जति नै शिक्षित भए पनि हाम्रो सोच परिवर्तन नभएसम्म कतै पुगिँदैन। भनिन्छ– निदाएको मान्छेलाई ब्युँझाउन सजिलो छ तर निदाएको बहाना गर्नेलाई जे गरे पनि ब्युँझाउन सकिँदैन।

अब परिवारभित्रैको विभेदको कुरा गरौं। जसले जे भने पनि केही अपवादबाहेक हाम्रो परिवारको संरचना पितृसत्तात्मक नै छ। परिवार वा समुदायमा केही निर्णय लिँदा महिलाले केही धारणा राखे भने ‘पोथी बासेको राम्रो हुँदैन’ भन्ने चलन छ। घरमै बोल्न दिइँदैन। छोरीचेलीलाई स्वतन्त्रता दिइँदैन। अपमानित गरिन्छ। उनीहरूको क्षमतामाथि प्रश्न उठाइन्छ। अनि उनीहरूको आत्मविश्वास सदाका लागि मरेर जान्छ। महिलासँग पनि क्षमता र विचार हुन्छ, सम्मान गर्नुपर्छ, विचारको कदर गर्नुपर्छ भन्ने कुरा हाम्रो समाजले बुझेकै छैन। जुन हाम्रो समाज विकासका लागि निकै पीडादायी र लज्जित विषय पनि हो।

अर्कातर्फ समाजमा जरो गाडेर रहेको समस्या भनेको घरेलु हिंसा हो। त्यसका केही उदाहरण हेरौं। पत्नीले पतिलाई खुवाएपछि मात्र आफूले खानुपर्ने, पतिले पहिले खान नहुने, पतिले नै खाएकै जुठो थालमा पत्नीले खानुपर्ने यो कस्तो प्रथा हो ?  यस्तो कुचलन अझै हाम्रो घरपरिवारभित्रै छ। खाने विषयमा त पतिको अनुमति चाहिने यो मेरो देशमा अन्य महत्त्वपूर्ण काम गर्दा त झन् महिलालाई समाहित गरिन्छ त ? एकपटक सोचौं त ?  अहँ, गरिँदैन। यसबाट के प्रस्ट हुन्छ भने महिलालाई दबाइएको छ। हेपिएको छ। कमजोर ठानिएको छ।

परिवारको सर्वसत्तावाद पुरुषमै निहित छ। सहरबजारका महिला त अलि शिक्षित छन्। उनीहरू आफूलाई अन्याय भएको बुझ्न सक्छन्; बोल्न पनि; विरोध पनि गर्छन् तर गाउँमा त त्यस्तो छैन। प्रायः अशिक्षित नै छन्। बरु उल्टै यी त महिलाका निम्ति बनाएका नियम हुन्। यो हामीले पालना गर्नुपर्छ भन्ने बुझाइ महिलाको छ। हुन त धूमपान वा मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन् तर पनि एउटै घरमा बुवाले आमाका अगाडि खुलारूपमा धूमपान वा मद्यपान गर्न हुने तर महिलाले किन बाथरुमभित्र लुकेर खानुपर्ने ? ती र यस्ता अव्यक्त भावना आफ्ना मनमा रहेका पीडा, दुःखसुःख, रोदनलाई बिसाउने ठाउँ नै पाउँदैनन् कुनाकन्दराका महिलाले। माइती वा तीजपर्वका अवसरमा वर्षको एकपटक भए पनि दुःखसुःख साट्ने गर्छन्।

छोरीलाई सानैदेखि परिवारले लज्जालु हुन सिकायो; कोमल हुन सिकायो भने छोरालाई चाहिँ विद्रोही, बहादुर तथा कडा स्वभावको। जस्तो भनौं, छोरालाई बन्दुक खैलौना ल्याइन्छ र बहादुरीको पहिचान दिन खोजिन्छ तर त्यही घरकी छोरीलाई चाहिँ भाँडाकुटी वा भनौं गुडिया ल्याइदिई घर व्यवहारको सांकेतिक सुरुवात गरिन्छ। कोमल हुन सिकाइन्छ। तिमीचाहिँ घरव्यवहारमै रमाउनुपर्छ; सीमित हुनुपर्छ भनिन्छ। कमजोर सावित गर्न खोजिन्छ। यो नै यथार्थमा हिंसाको सुरुवाती पक्ष हो।

नेपालको संविधान २०७२ को धारा ३८ महिलाका हकमा ‘महिलालाई धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन।’ भनिएको छ। संविधान त बन्यो तर संस्कार परिवर्तन भएन। महिलाकै लागि भनेर ३३ प्रतिशत आरक्षणको व्यवस्था छ तर अवसर छैन। सन्दर्भ र सिद्धान्त जति नै परिवर्तन भए पनि समाजले एउटी नारीलाई हेर्ने सोचमा व्यावहारिक परिवर्तन नभएसम्म महिला हिंसा रहिरहन्छ। नारीलाई आधा आकाश ढाक्ने हुन् भन्ने कुरा त्यतिबेला सार्थक हुन्छ जतिबेला उनीहरूलाई आत्मसम्मानका साथ छाती फुलाएर गर्व गर्न सक्ने वातावरण सिर्जना हुन्छ।

एकजना राष्ट्रपति महिला हुँदैमा, प्रधानन्यायाधीश हुँदैमा, सभामुख हुँदैमा सम्पूर्ण महिलाको अधिकार सुनिश्चित हुन्छ भन्नु त गलत हुन्छ। आरक्षणका आधारमा महिला कुनै पदमा पुगेको उदाहरण दिँदै महिला–पुरुष समान छौं भन्नु गलत हो। स्वामी विवेकानन्दले भनेका छन्, ‘संसारलाई परिवर्तन गर्नुपूर्व आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ।’ विभेदरहित समाजको परिकल्पना गर्न हरेक व्यक्ति, परिवार, समुदायले सकारात्मक सोचौं। महिलाले यो गर्न हुन्छ, यो गर्न हँुदैन भनेर सीमा निर्धारण नगरौं। महिला भएकै आधारमा उचनीचको व्यवहार नगरौं। विभेदरहित समाज निर्माणमा हातेमालो गरौं। जसको सुरुवात तपाईंहाम्रै परिवारबाटै गरौं।

अन्त्यमा, जबसम्म पुरुषवादी समाजलाई यी र यस्ता कुराको जानकारी हुँदैन र महिलालाई जानकारी भएर पनि अन्यायको भण्डाफोर गर्ने आँट, साहस आउँदैन तबसम्म परिवर्तनलाई घाममा सुकाउनुजस्तै हो। नेपालको सन्दर्भमा हामी पुरुष ५१ प्रतिशत नारीलाई हामी घर र समाजरूपी झ्यालखानामा बन्द गरेर सभ्यता परिर्वतनका नाममा बढेका छौं। नीतिनियम राज्यले ल्याउने हो, त्यो ल्याएकै छ अब बाँकी छ त हाम्रो संस्कार र सोचमा परिवर्तन ल्याउन। ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ भनेर त वैदिककालमै नारीलाई सम्मान गरिएका प्रमाण धार्मिक ग्रन्थहरूमा सुरक्षित छन् तर हामी सभ्यताका विकासक्रममा कहाँ पुग्यौं ? जसले हामीलाइ यति कठोर बनायो अबको चिन्तनको विषय यही छ, होइन र ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.