ढोरपाटनको भुजी खोलामा बाढी : मृत्यु हुनेको संख्या ९ पुग्यो

ढोरपाटनको भुजी खोलामा बाढी : मृत्यु हुनेको संख्या ९ पुग्यो

बागलुङ : ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार १३ जना बेपत्ता छन्। 

राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको छ। 

अहिलेसम्म बाढीमा परेर मृत्यु भएका नौ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। मृतकमध्ये तीन जना पुरुष र एक बालिकासहित ६ जना महिला छन्। जसमा एक महिलाको भने सनाखत भएको छ।  ढोरपाटन नगरपालिका वडा नम्बर ९ की २६ वर्षिया केशमाया बिक रहेको रेग्मीले बताए। 

शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएको छ। शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीमा बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ बस्ने ३५ वर्षीया कौशला पुन, उनको ६ वर्षीय छोरा हिक्मत पुन, ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, २८  वर्षीया कुमारी बि.क.,  १९ वर्षीया पुतली बि.क., ३२ वर्षीया करमती घर्ती मगर, ३५ वर्षीया रीना घर्ती मगर, ३५  वर्षीया दिलमाया घर्ती मगर, उनको ६ वर्षीय छोरा रहेका छन्। 

यसैगरी ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन, गलकोट नगरपालिका- ४ घर भई ढोरपाटन घुम्न गएको २४ वर्षीय नविन भण्डारी बेपत्ता भएका छन् भने भण्डारी सँगै घुम्न गएका अन्य ३ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। 

ढोरपाटनको वडा नम्बर ६,७ र ८ मा नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य शुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। ‘बाढीका कारण सबै ठाउँमा सवारी अवरुद्ध भएको खबर छ,’ प्रजिअ न्यौपानेले भने, ‘जिल्ला तहबाट हेलिकप्टरमार्फत उद्धारको पहल पनि भएको छ, हामी जतिसक्दो छिटो सम्भाव्य स्रोत साधन परिचालन गरेर उद्धार कार्य अघि बढाउछौ।’

बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.