मच्छिन्द्रनाथको रथ तान्न पाउनुपर्ने माग गर्दै युवाले गरे प्रदर्शन
काठमाडौं : रातो मछिन्द्रनाथको रथ तान्न पाउनुपर्ने माग गर्दै युवाहरुले पुल्चोकमा प्रदर्शन गरेका छन्। रथयात्राका लागि ललितपुरको पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन्।
बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए। कुनै अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा प्रहरी उपस्थित गराइएको छ। तर प्रहरीले स्थानीयलाई माइकिङ गरेर घर जान आग्रह गरेको छ।
लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित गरेको थियो। कोरोनाका कारण उपत्यकामा धार्मिक गतिविधि तथा जमघटमा रोक लगाइएको छ।
वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ।