रामेछापमा पाँच प्रहरी र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
काठमाडौं : रामेछापका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार आज मन्थलीस्थित तामाकोशी अस्पतालका एक महिला कर्मचारी र पाँच जना प्रहरीमा कोरोना पुष्टि भएको हो।
उनीहरुको केहि दिन अगाडि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो। योसँगै जिल्लाबाट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ हुनेको संख्या ४३ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय मन्थलीबाट ड्युटीमा खटिएका कर्मचारीमा कोरोना पुष्टि भएपछि उनीहरुको विवरण संकलन एवम् कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाउन लागिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार शुक्रबारसम्म रामेछाप जिल्लामा १२११ जनाको स्वाब संकलन गरिएको छ। जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लामा संकलन गरेर पठाइएको स्वाबमध्ये ११५२ जनाको कोरोना नेगेटिभ आएको छ भने १६ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ।
कार्यालयको विवरणअनुसार शुक्रबारसम्म देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्दै आएका रामेछापका ३६ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरुको जिल्ला बाहिर नै परीक्षणबाट कोरोना पुष्टि भएको हो। जिल्लामा १०४ वटा आइसोलेसन बेड रहेका छन्।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण रामेछापमा निरन्तर बढी रहेको र उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ २५ गतेसम्म निषेधाज्ञा घोषणा गरेको छ।