स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, उयदपुरमा संक्रमितको संख्या १ सय १२ पुग्यो
उदयपुर : उदयपुरमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको छ । त्रियुगा नगरपालिका २ स्थित स्वास्थ्यचौकीमा कार्यरत ४८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो । उनी पछिल्लो तीन महिनायता राती मोतिगडा क्वारेन्टाइनमा र दिउँसो स्वास्थ्यचौकीमा काम गर्दै आएका थिए । विराटगरस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट उनलाई सक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले जानकारी दिए ।
उनलाई क्वारेन्टाइनमा बस्न आएकाहरुबाट नै सरेको हुनसक्ने अनुमान गरिएको छ । कोरोना विरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी जोखिममा रहेको बेला उदयपुरको हकमा उनी पहिलो संक्रमित बन्न पुगेका छन् ।
उनी संक्रमित भएपछि उनको परिवारको कन्ट्रयाक ट्रेसिङ्ग गरिएको त्रियुगा नगर स्वास्थ्य उपसंयोजक अवधनारायण चौधरीले जानकारी दिए । यसअघि उदयपुरमा एक प्रहरी, एक सञ्चारकर्मीमा पनि कोरोना संक्रमण देखिएको थियो । सरुवा भई सुनसरीबाट आएका प्रहरीमा पनि कोरोना देखिएको थियो।
कोरोनाबाट उदयपुर एक शिक्षक मृत्यु भइसकेको छ । मोतिगडा घर भएका शिक्षक उपचारको क्रममा काठमाडौं गएका थिए । उतै परीक्षणबाट संक्रमण पुष्टि भएको थियो । उनको परिवार, उपचार भएको उदयपुरको स्वास्थ्य संस्थामा संक्रमण नदेखिएकाले अस्पतालमै संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको छ ।
स्वास्थ्यकर्मीसहित उदयपुरमा हालसम्म १ सय १२ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये एकजना बालिका होम आइसोलेसनमा छन् । कटारीका एकजना बेल्टार आइसोलेसनमा छन् ।