आइसोलेसनका एक्ला अभिभावक
हेटौंडा : कोरोना संक्रमण देखिन थालेपछि हेटौंडा—४ कर्रास्थित श्रमिक माविमा आइसोलेसन स्थापना गरियो। तर, स्वास्थ्यकर्र्मी नै त्यसको व्यवस्थापनमा जान हिच्किचाउँथे। त्यस्तो अवस्थामा हेटौंडा उपमहानगरपालिकाले जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंलाई अनुरोध गर्यो।
चौलागाईं जिम्मेवारी सम्हाल्ने क्रममा गत चैत १३ गते त्यहाँ पुगे। त्यसको भोलिदेखि आइसोलेसन वार्ड इन्चार्जको भूमिकामा खटिए। हेटौंडा अस्पतालका प्राविधिक र डाक्टरहरू आउन डराएका कारण आफूलाई उपमहानगरपालिकाले जिम्मेवारी दिएको उनी सुनाउँछन्।
कर्रा आइसोलेसन साढे ४ महिना जिल्लाको एकल आइसोलेसन वार्डका रूपमा सञ्चालनमा रह्यो। त्यस अवधिमा उनले आफ्नो सम्पूर्ण समय आइसोलेसनमै बिताए। ‘त्यस अवधिमा यो गेटबाट कहीँ पनि गइनँ’, उनी भन्छन्।
उनी गत साउनमा एक साता उपनगरमा नियमित काममा फर्किए। त्यति बेला परीक्षण, रिपोर्टिङजस्ता आइसोलेसनको आंशिक भूमिका निर्वाह गरे। उनी साउन अन्तिमतिर जिल्लामा संक्रमितको संख्या बढेसँगै पुनः आइसोलेसनकै जिम्मेवारीमा फर्किए।
कर्रा आइसोलेसनको क्षमताले संक्रमित नथेग्ने भयो। बागमती प्रदेश सरकारले यसको विकल्पस्वरूप गौरीटारमा आइसोलेसन सार्यो। उनी त्यसपछि पनि कर्राको सेवा व्यवस्थापनको जिम्मेवारीमै छन्। यहाँ हाल इमर्जेन्सी आइसोलेसनका रूपमा इन्चार्ज, ४ नर्सिङ कर्मचारी, २ ल्याब र १ जना कार्यालय सहयोगीसहित राखिएको छ।
उनी कन्ट्याक्ट ट्रेसिङमार्फत अथवा लक्षण देखिएका बिरामीको परीक्षण गराउने, रिपोर्ट दिने र आइसोलेसनमा रहेका संक्रमितलाई सेवा दिने गर्छन्। यहाँबाट दैनिक सयभन्दा बढीको परीक्षण भइरहेको छ। ‘सुरुमा कामको खासै प्रेसर थिएन। आँट गरेर आउनु नै ठूलो कुरा थियो’, उनी भन्छन्।
आफ्नै नेतृत्वमा रहेको आइसोलेसनमा राखेर ६ सय ८२ जनालाई सेवा दिएको सुनाउँदै गर्दा उनको मुहारमा छुट्टै खुसी थियो। आइसोलेसनमा रहेकामध्ये १ सय ३२ जना त संक्रमित थिए। सरकारले हेटौंडामा संक्रमित पहिचान गर्ने र भरतपुर रेफर गर्ने व्यवस्था गरेको थियो।
‘खाना खानसम्म फुर्सद हुँदैन। कति दिन त काम गर्दागर्दै राति ११–१२ बज्छ। त्यसपछि भोकै सुत्नुपर्छ’, उनी भन्छन्, ‘फेरि बिहान पनि ५ बजेदेखि नै काम सुरु गर्नुपर्ने हुन्छ। सुरुमा लक्षण भएका बिरामीलाई पनि राखियो। कतिपय सेवाग्राही डराएर सास फेर्न गाह्रो भएको भन्थे। अक्सिजन जोडिदिनु पथ्र्यो। कसैलाई स्लाइन दिनुपर्ने। सामान्य मास्कको भरमा बिरामीको प्रेसर हेर्ने, अक्सिजनको लेभल हेर्ने, मुटुको चाल हेर्ने गर्नु पथ्र्यो।’
पटक–पटक पोजिटिभले हैरान
यहाँको आइसोलेसनबाट संक्रमित पहिचान भएको पहिलो व्यक्तिलाई जतिसक्दो चाँडो भरतपुर पठायौं। एम्बुलेन्स खोज्नुपर्यो। घर चिन्नुपर्यो। उहाँले जुन नम्बर दिनुभएको थियो, त्यो बन्द रहेछ। वडाध्यक्षमार्फत घर पत्ता लगाएर त्यहाँ पुग्यौं। त्यसरी अलिकति ढिला हुँदा कतिपयले गाली गरे। त्यसरी पठाउँदा नमज्जा पनि लाग्यो।
हामीले दोस्रो संक्रमितलाई जबरजस्ती राख्यौं। प्रायः डाक्टर भरतपुर नै पठाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो। हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष र म पठाउन हुँदैन भन्नेमा थियौं। हामीले सबैलाई पठाएपछि यहाँ आइसोलेसनको इज्जतै रहेन। समस्या आयो भने पठाऊँला अहिले यहीँ राखौं भन्यौं।
डर पनि थियो। मान्छेको ज्यान हो, के ठेगान हुन्छ र ! केही गरी समस्या पर्यो भने भोलाले जबरजस्ती गरेर यस्तो भयो भन्ने हो कि ! अर्को दुर्भाग्य, त्यही मान्छेको जति परीक्षण गरे पनि पोजिटिभ नै आइरह्यो। ५ पटकसम्म पोजिटिभ आउँदा यहाँको टिम आत्तियो।
यहाँ राखेर हुँदैन भन्ने भयो। एउटा मान्छेलाई कति समय राख्नुपर्ने ? मन्त्रालय, मिडिया सबैतिरबाट प्रश्न आउन थाल्यो। के हो ? निको हुँदैन क्यारे, पठाइदिनपर्छ क्यारे भन्ने कुरा आए। धेरैले यहाँ नराख्नू, अब पठाइदिनू भने।
२५ औं दिनमा भएको परीक्षणमा बल्ल उहाँको नेगेटिभ आयो। त्यो दिन धेरै खुसी लाग्यो। त्यतिन्जेल क्वारेन्टाइन मात्र चलेकामा त्यो पहिलो केस थियो। उहाँलाई गरेको सेवाबाट २५ औं दिनको स्वाब परीक्षण रिपोर्ट २६ औं दिनमा आयो। रिपोर्ट नेगेटिभ थियो र हामीले उहाँलाई २७ औं दिनमा बिदाइ गर्यौं।