ढोरपाटन बाढीमा मृत्यु हुनेको संख्या १५ पुग्यो, २३ अझै बेपत्ता
बागलुङ : जिल्लाको ढोरपाटन भुजीखोलामा पहिरोसँगै आएको बाढीमा ज्यान गुमाउने संख्या १५ पुगेको छ। २३ जना अझै बेपत्ता छन्।
नेपाली सेना र नेपाल प्रहरीको टोलीले तीन दिनदेखि निरन्तर खोजी तथा उद्धार गर्ने क्रममा शनिबार बिहान थप एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए।
यसअघि १४ जनाको शव फेला परेको थियो। जसमध्ये १३ जनाको सनाखत समेत भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा ज्यान गुमाउनेमा ढोरपाटन वडा नं ९ का २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमाकुमारी घर्ती मगर, २६ वर्षीया केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक, ११ वर्षीय डल्ली बिक, ५ वर्षीया ज्योती पुन, ६ वर्षीय बिराज बिक, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनी बिक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर बिक छन्। दुई जनाको सनाखत हुन बाँकी छ।
बाढीले ८० घरमा पूर्ण रुपमा क्षति पुर्याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ। भूजीखोलमा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडा अन्धकार बनेको छ। बाढीले बुर्तिबाङ–ढोरपाटन सडकसमेत बगाउँदा यातायात ठप्प भएको छ। यसले गर्दा राहात सामग्री पुर्याउन कठिन परेको छ।
बुधबार राति ढोरपाटन शिकार आरक्षको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो। बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको एक जीप पनि बगाएको छ।