फुड बैंकबाट राहत

फुड बैंकबाट राहत

ललितपुर : गोदावरी नगरपालिका टाहाखेलमा सञ्चालित ‘फुड बैंक’मा खाद्यान्न लिने लाइनमा थिइन्, गंगा विक। उनी खानेकुरा सकिएको र आफन्त कोही नभएको बताउँदै थिइन्। त्यही बेला प्रहरीले ‘माथिको आदेश’ भन्दै फुड बैंक बन्द गर्न भन्यो। फुड बैंकका संयोजकहरू लाइनमा बसेकालाई माफी माग्दै खानेकुरा वितरण गर्न नसक्ने बताउँदै थिए। विक भुइँमा थचक्क बसेर रुन थालिन्।

‘रासन पाइन्छ कि भनेर आएकी थिएँ। खानेकुरा छैन। आफन्त छैनन्, बहुलाईझैं जताततै हिँड्दै छु’, उनले भनिन्।

यो घटना गत मंगलबारको हो। विकजस्ता खान नपाउनेहरू थुप्रै लाइनमा थिए। सबैले आँसु थाम्न सकेनन्। लाइनमा दैनिक मजदुरी गर्ने, अपांगता भएका व्यक्तिदेखि ससाना बच्चा भएका महिलासमेत देखिन्थे।

गोदावरीका वडा नम्बर १० र ११ मा १० दिनसम्म फुड बैंक चलेको थियो। नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरका खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले उक्त कार्यको संयोजन गरेका थिए। तरुण दलले नेतृत्व गरेको भनेर उक्त काम प्रशासनले रोकेको आरोप महर्जनले लगाए।

‘फुड बैंक गरिबका लागि अमृत हो। निःस्वार्थ गरेको काममा राजनीतिक आँखाले हेरेपछि समस्या भयो’, उनले भने। विपक्षीले स्थानीय र प्रहरीलाई जुधाउन खोजेपछि फुड बैंक बन्द गर्नु परेको उनको भनाइ छ। भने, ‘समस्यामा परेकालाई घर–घरमा पुगेर खानेकुरा बाँड्ने तयारीमा छौं।’

स्थानीय उमेश मेहेर कायस्थका अनुसार लकडाउनका बेला बहालमा बस्नेले १०–२० रुपैयाँ माग्न थालेपछि उनीहरूका लागि केही गर्ने सोच आएको बताए। ‘आफ्ना जिल्लाका मान्छेले यसरी माग्न थालेपछि हामी सोच्न बाध्य भयौं’, उनले भने। त्यसैले भदौ ९ देखि उक्त काम सञ्चालन गरेको तर पटक–पटक प्रशासनले बन्द गराउन खोजेको गुनासो उनको छ।

उनले दूरी कायम गरी मास्क, स्यानिटाइजर लगाएको बताए। अति नै गरिबहरू मात्रै आउन भनेर दुई किलो चामल, आधा किलो दाल, तेल, नुन, मस्यौरालगायत सामग्री बाँडेको उनले सुनाए।

नगर प्रमुख गजेन्द्र महर्जनका अनुसार निषेधाज्ञा भएकाले हाललाई उक्त काम स्थगन भए पनि चाँडै निरन्तरता दिइने बताए। सुरुमा तरुण दलको अगुवाइमा फुड बैंक सञ्चालन भए पनि उनीहरूले सम्पूर्ण सामग्री नगरपालिकालाई हस्तान्तरण गरेर वितरण गरिएको महर्जनको भनाइ छ। उनका अनुसार दैनिक २ सय जनाले रासन लैजान्थे। खाद्यान्न लिएर जाने मात्र होइन, दिन आउनेको संख्या पनि उल्लेख्य थियो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारले सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएकाले कुनै दल या समूहले त्यस्तो काम गर्न नपाउने बताए। ‘तरुण दलले सञ्चालन गरेको सुनियो। दलविशेषले सञ्चालन गर्न पाइएन। त्यसैले बन्द भएको हो’, भट्टले भने।

आफ्ना नागरिकले खान पाए, पाएनन् हेर्ने जिम्मेवारी स्थानीय तहको भएकाले उनीहरू नै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। उनले एकदमै समस्यामा परेकाहरूको पहिचान स्थानीय तहले गर्नुपर्ने बताए।

काठमाडौं महानगरपालिकाका सिनामंगल, भीमसेनगोलालगायत ठाउँमा फुड बैंक सञ्चालनमा रहेको नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलले बताए। फिलिपिन्सका रेस्टुरेन्टमा देखेको अवधारणा यहाँ लागू गर्न खोजेको उनको भनाइ छ।

‘एक प्लेट मम अर्डर गरेर दुईवटा बाँकी राख्ने र त्यसैलाई फ्रिजमा राखेर पैसा तिर्न नसक्नेलाई खान दिइँदो रहेछ’, उनले उताको अनुभव सुनाए, ‘सबैको पेटमा अन्न परोस् भन्ने हो, पेटभरि खान दिइएको हैन।’

उनले दैनिक २५ परिवारमा खाद्यान्न बाँडिँदै आएको पनि बताए। सुरुमा धरानबाट सुरु भएको यो अवधारणा नेपालभरि पुगेको बुझाइ उनको छ। तर, कसले पहिला काम सुरु गर्‍यो भन्ने आआफ्नै दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.