अल्काकी गीताको शव लेलेको जंगलमा भेटियो, हत्याको आशङ्का
ललितपुर : अल्का अस्पतालमा काम गर्ने एक महिलाको शव ललितपुरको गोदावरी नगरपालिकाको लेले जङ्गलमा भेटिएको छ। तीन दिनदेखि हराइरहेको उजुरीको आधारमा प्रहरीले गीता केसीको खोजी गरेको थियो।
महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख कृष्णराज ओझाका अनुसार शनिबार माटोले अनुहार छोपिएको अवस्थामा उनको शव भेटिएको हो। उनी ललितपुर महानगरपालिका २२ वडा बुङमतीकी हुन्। ४४/४५ वर्षीया केसी अल्का अस्पतालमा हाउस किपिङ सम्बन्धी काम गर्दै आएकी आफन्तले बताएका छन्।
उनको हत्या भएको हो कि होइन भन्ने विषयमा अहिले खोजी भइरहेको जनाइएको छ। पोस्टमार्टमका लागि शव पाटन अस्पताल लगिएको छ। ओझाले भने, 'सरसर्ती हेर्दा बाहिरी चोटपटक देखिंदैन। पोस्टमार्टम रिपोर्ट नहेरी भन्न सकिन्न।'
हत्याको आशंकामा उनको एक आफन्तलाई प्रहरीले भैंसीपाटीबाट पक्राउ गरिसकेको जनाएको छ। ओझाका अनुसार उक्त जङ्गलमा धेरै पटक शव भेटिएको छ।