रोकिएको किताब यात्रा

रोकिएको किताब यात्रा

काठमाडौं : कोरोना कहरले अहिले जनजीवन प्रायः ठप्प छ भन्दा हुन्छ। निषेधाज्ञाले मान्छेहरू घरभित्र गुम्सिन बाध्य छन्। घरभित्र थुनिएकाहरूको प्रायः दिन कटाउने मेसो भनेको कि फिल्म हेर्नु कि किताब पढ्नु हो। तर खाद्यान्नदेखि निर्माण सामग्रीको ढुवानी खुले पनि किताबको ढुवानी अत्यावश्यक सामग्रीभित्र पारेन सरकारले। त्यसैले अहिले पूर्ण रूपले रोकिएको छ, किताब यात्रा।

लकडाउनमा पनि प्रकाशकहरूले पहिले नै तयारी अवस्थामा रहेका किताब फाट्टफुट्ट प्रकाशित गरिरहेका छन् तर बजारमा पुर्‍याउन सकिएको छैन। सांग्रिला बुक्सले लकडाउनअघि वर्षमा ४०-४५ थान पुस्तक प्रकाशन गथ्र्यो। ‘लकडाउनपछि सांग्रिलाबाट ४ वटा पुस्तक बजारमा आए, अब दसैंअघि अरू ४-५ पुस्तक प्रकाशन हुँदै छन्। तर प्रकाशन गरेर मात्रै के गर्नु, बजार पठाउने अवस्था छैन’, सांग्रिला बुक्सका मणि शर्मा भन्छन्, ‘आममान्छेलाई आर्थिक समस्या निक्कै जटिल हुँदै गएकाले अनलाइन व्यापार पनि खासै छैन।’

लकडाउन खुकुलो भएको बेला उपत्यकाभित्र किताबको डेलिभरी चार्ज थिएन, बरु डिस्काउन्ट दिएर पाठकको घरघरमा पुर्‍याइरहेका थिए। तर अहिलेको निषेधाज्ञाले त्यो पनि रोकियो। बीएन पुस्तक संसारका सूर्य बीसी लकडाउन खुकुलो भएको बेला होम डेलिभरी गरेर दैनिक तीन हजार रुपैयाँसम्मको कारोबार गरेको बताउँछन्। ‘व्यापारभन्दा पनि रिडिङ कल्चर कसरी बसाल्ने ध्याउन्नले अर्डर आएका पाठकलाई नाइँ भन्न सकिन्न’, बीसी भन्छन्, ‘लकडाउन कहिलेसम्म लम्बिने हो थाहा छैन। किताबलाई पनि अत्यावश्यक सामग्रीभित्र पारिदिए सहज हुन्थ्यो।’ उनले पाठकहरूसँग सम्पर्क बढाइराख्न लकडाउन खुले पनि होम डेलिभरी सेवा दिने योजना रहेको जनाए।

उता विवेक सिर्जनशील प्रकाशनका विजयराज आचार्य किताबको अनलाइन मार्केट गर्न नसकिएको जनाउँछन्। ‘कार्यालय खोल्ने अवस्थै छैन, कताको बजार खोज्नु। तर अब भने किताबमात्रै होइन, अन्य धेरै सामानको मार्केट अनलाइनकै हो। ढिलोचाँडो यसमार्फत नगई धरै छैन’, आचार्यले भने।

मञ्जरी पब्लिकेसनका कृष्ण अविरल दुईचारवटा किताब घरमा पुर्‍याएर व्यापार गरेँ भन्नुको कुनै अर्थ नरहेको विचार राख्छन्। उनले भने, ‘पाठकले नयाँ किताब खोज्छन्। धमाधम नयाँ किताब छाप्ने प्रकाशकहरूको अवस्था छैन। दुईचारवटा किताब घरमा पुर्‍याएर बाइकको तेल खर्च पनि उठ्दैन।’

केही प्रकाशकले लकडाउनमा पनि किताब विमोचन गरेको खबर आइरहेको छ। तर ती प्रकाशकहरू किताब छापेर गोदाममै थन्क्याउन विवश छन्। ऐरावती पब्लिेकसनका रामदेव पाण्डेको विचारमा किताबलाई पनि अत्यावश्यक सामग्रीभित्र पारेर पठन संस्कृति बढाउन सरकार उदार हुनुपर्छ। पाण्डे भन्छन्, ‘अघिल्लो लकडाउनमा किताब अत्यावश्यक सामग्रीभित्रै थियो। केहीले व्यापार पनि गरे। अहिले भने पूरै ठप्प छ। पाठकको पढ्न पाउने हक हनन भएको छ।’

नेपालयलगायत केही प्रकाशकले ईबुक पनि बजारमा ल्याएका छन्। बुकहिल पब्लिकेसनका भूपेन्द्र खड्काले आफूहरू पनि ईबुकको काममा लागेको तर नेपालमा ईबुक पढ्ने बानी विकास नभएको बताउँछन्। ‘कोरोनाले हातमुख जोड्ने समस्या छ। त्यसैले पाठकको प्राथमिकतामा किताब परेको छैन। होम डेलिभरी नाम मात्रको छ’, बुकहिलका खड्का भन्छन्, ‘कुरा प्रकाशकहरूको किताब बिक्रीको होइन, मूल कुरा पठन संस्कृतिको हो। ५ सय मिटरको दूरीमा फाइभ स्टार होटल खुल्दै छन्। भट्टी पसल भटाभट खुलेका छन्। किताब पसल भने बन्द भइरहेका छन्।’ खड्का प्रत्येक स्थानीय पालिकाहरूले सामुदायिक पुस्तकालय बनाए पठन संस्कृति अघि बढ्ने देख्छन्। तर डोजरे विकास मात्र देख्ने पालिकाहरूले सामुदायिक पुस्तकालयको सपन देख्ने विश्वास उनलाई छैन। उनको कडा टिप्प्णी छ, ‘केन्द्रीय पुस्तकालय बनाउन रोक्ने संघीय सरकारले देशव्यापी रूपमा पुस्तकालय के बनाओस् ?   ’

सरकारले गत आर्थिक वर्षबाट विदेशबाट आउने पुस्तकमा १५ प्रतिशत कर लगाएको छ। यसले पनि पठन संस्कृति घटाएको छ। बुकहिल पब्लिकेसनका खड्काको विचारमा खोज–अनुसन्धान गर्नेहरूलाई नेपाली लेखकहरूले लेखेका किताबले खुराक पुग्दैन।

किताब यात्रा

अधिकांश प्रकाशकको आफ्नो बिक्री कक्ष छैन। उनीहरू स्टेसनरी पसलको भर पर्छन्। तर आफूलाई पायक पर्ने किताब पसलमा खोजेको किताब पाइन्न। यसै परिस्थितिलाई ध्यानमा राख्दै घरमै किताब पुर्‍याउने उद्देश्यले ‘किताब यात्रा’ स्थापना गरियो। सर्लाहीका ऋषिराम अधिकारी, दाङका कृपेशकिशोर घिमिरे र मकवानपुरका विकेश भट्टराईले ‘किताब यात्रा’ स्थापना गरे २०७४ पुसमा।

अनलाइन किताब किन्ने पाठकका लागि ‘किताब यात्रा’ स्थापित ब्रान्ड भएको छ। यसले नेपालको कुनाकाप्चा मात्रै होइन, विदेशमा समेत किताब डेलिभरी गरिरहेको छ। पाठकले यसको वेबसाइट, फेसबुक, ट्विटर, इन्स्टाग्राम वा सोझै फोनमार्फत अर्डर गर्न सक्छन्। तर लकडाउनले उनीहरूको डेलिभरी सेवा ठप्प भएको छ। कृपेशकिशोर भन्छन्, ‘सरकारले किताबलाई अत्यावश्यक सूचीमा राखेको भए लकडाउन हाम्रो लागि सबैभन्दा बढी कारोबार गर्ने अवसर बन्न सक्थ्यो तर त्यसो भएन। लबिङ भनु गरिरहेका छौं।’ घिमिरेका अनुसार ‘किताब यात्रा’ले अर्डर भने लिइरहेको छ। ८ सयभन्दा बढीको किताब अर्डर गरेमा १० प्रतिशत छुटको व्यवस्था छ। डेलिभरी चार्ज पर्दैन।

सांग्रिला बुक्सका शर्मा भन्छन्, ‘पुस्तक व्यवसायीका लागि मात्र सरकारले विशेष केही गर्न पर्दैन, अहिलेको यो कोरोना कहरबाट चाहिँ चाँडै बाहिर निस्कने अवस्था सिर्जना गरे हुन्थ्यो। त्यसपछि बजार सामान्य अवस्थामा पुगेपछि किताबको व्यापार पनि सामान्य अवस्थामा आइहाल्थ्यो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.