मलको मूल्य दोब्बर

मलको मूल्य दोब्बर

इटहरी : ६५ वर्षीय मनकलाल चौधरी मधेसा र एकम्बा जोड्ने पुल छेउको छहारीमा बसेर टोलाइरहेका छन्। बुढ्यौलीका रेखाहरूसँगै मेहेनतको पसिना उनको अनुहारमा प्रष्ट झल्किन्थ्यो। सँगै तनाव पनि।

‘यसपटक दोब्बर मूल्य हालेर मल किन्नुपर्‍यो’ अडेस लागेको घाँसको भारी उठाउँदै उनले भने, ‘खाद्य संस्थानले दिन सकेन, नाराबाजी नै भयो, तर के गर्नु, ब्ल्याकमा किनेर ल्याउनुपर्‍यो।’

खाद्य संस्थानले नदिएपछि धेरै किसानले झैं उनले पनि सीमावर्ती बजारहरूबाट दोब्बर मूल्य तिरेर मल किने। ‘पहिले ८–९ सय रुपैयाँमा पाइन्थ्यो, यो पटक १६ सय हालेर किनेँ,’ उनले भने, ‘यसरी त खर्च पनि उठ्दैन।’

संसारभर कोरोना कहर बढिरहँदा पूर्वी तराईका किसानहरूले भने मलको चर्को समस्या सामना गरिरहेका छन्। कोरोनाभन्दा ठूलो संकट उनीहरूसामु छ, ‘मल अभाव।’

‘गाउँको चिया पसलमा आउने एक व्यक्तिको श्रीमतीलाई कोरोना भएपछि चिया पसल बन्द भयो,’ कोरोनाको प्रभाव नै नदेखिएको त होइन, तर त्यसले कृषकको जीवनमा खासै फरक पारेको छैन। हाट बजार बन्द भएको समयमा पनि गाउँका कृषिजन्य गतिविधिहरू चलायमान छन्। उनले भने, ‘बजारको पनि समस्या त छ, तर पहिले खेती गर्न मल त पाउनुपर्‍यो नि।’

इटहरी— १६ का भगवनलाल चौधरीले दुई बिघामा धान लगाएका छन्। अलिकति बारीमा तरकारी उमारेका छन्। हिँडडुल गर्न समस्या छैन। मास्क लगाउनु परेको छैन। कोरोनाको डर छैन, तर मलको अभावले भने उनलाई पनि पिरोलेको छ।

लौकही पुगेर उनले १६ सय रुपैयाँ तिरेर एक बोरा मल ल्याए। लौकही सुनसरीको दक्षिण सीमावर्ती गाउँ हो। अघिपछि ८–९ सय रुपैयाँमा पाइने मल आजकल दोब्बर मूल्य तिरेर ब्ल्याकमा किन्नु परेको उनले गुनासो गरे।

भारतबाटै तस्करी गरेर ल्याइएको मल सीमावर्ती नेपाली बजारमा दोब्बर मूल्य हालेर इटहरी— १५ वि श्रामपुरका धेरैजसो किसानले प्रयोग गरे। स्थानीय सोनालाल चौधरीका अनुसार यसअघि मलको अनिकाल उनले कहिल्यै भोगेका थिएनन्।

‘मास्क लाउनै पर्दैन, कोरोनाको केही असर छैन,’ परिवारका साथमा सडक छेउ बसिरहेका उनी भन्छन्, ‘तर महँगोमा मल किन्नुपर्‍यो, खर्च उठाउन पनि गाह्रो हुने भयो।’

साझा संस्थानमा तीन दिनसम्म धाए पनि इटहरी— ६ का बाबुराम आचार्यले मल पाउने आशा मारेका छैनन्। ‘बाहिर महँगो पर्छ, फेरि मलको गुणस्तर पनि टुंगो हुँदैन,’ उनले भने, ‘मल पाइन्छ भनेर दिनभर पालो कुर्‍यो, अन्तिममा सकियो भन्दिन्छ, अनि फक्र्यो।’

लकडाउनले अरु क्षेत्रलाई झैं कृषिलाई पनि असर गर्‍यो। धेरै किसानहरूले समयमा उपज बेच्न पाएनन्। तर पनि खेती गर्नै पर्ने बाध्यतामा छन् उनीहरू। एकम्बाकै हरिचरण चौधरीले पाँच महिना जग्गा बाँझै छाडे। अहिले केही नलागेपछि चार जना मिलेर १७ कठ्ठा जग्गा लिएर उनले खेती थालेका छन्। ‘अलिअलि बिक्यो भने पैसा आउँछ, चाडपर्व आइसक्यो, कसरी धान्ने हो ’, उनी भन्छन्।

मनकलालले १६ सय रुपैयाँ तिरेर मल ल्याएका छन्। तर उनलाई थाहा छ, मलको समस्या र कोरोनाबीच सम्बन्ध छैन। किनकि मलको समस्या किसानहरूले बर्सेनिजसो भोगेका छन्। ‘कोरोनासँगको लडाइँ यो पहिलो हो, तर मलको लागि सधैं झगडा गर्नुपर्छ’, उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.