कोरोनामा गर्भवती आत्तिनु पर्दैन !
घटना– १ : २४ वर्षीया बैंकको कर्मचारी अनि पतिको आफ्नै व्यपार। बिहे गरेको दुई वर्ष भइसकेको र हाल सात हप्ताकी गर्भवती। पहिलो गर्भ। कोरोनाको महामारी र आफ्नो कामले गर्दा घरमै बसिरहन नमिल्ने अवस्था। यस्तो समयमा गर्भलाई निरन्तरता दिने कि अहिले सुरक्षित गर्भपतन रोजेर पछि अवस्था सामान्य भएपछि गर्भको योजना बनाउने ?
घटना– २ : विराटनगरमा कोरोनाको संक्रमण बढ्दै जादा कन्ट्याक्ट ट्रेसिङ बढाएर परीक्षणको दायरा बढाएपछि सोही क्रममा मसँग नियमित गर्भको परीक्षणमा रहेकी २३ वर्षीया गर्भवतीमा पनि संक्रमण देखियो। होम आइसोलेसनमा रहनुभएकी उनको गर्भमा ६ महिनाको भ्रूण रहेको छ र अहिलेसम्म उनको अवस्था सामान्य रहेको छ।
यी दुई विराटनगरका प्रतिनिधिमूलक घटना हुन्। अहिले नेपालका धेरै सहरमा कोरोना संक्रमितको संख्या बढेको छ। यसका कारण कतै गर्भवती पनि संक्रमित भएका छन्, कतै प्रसव पीडा रहेको अवस्थामा नियमित परीक्षण गरेका अस्पताल बन्द भएका छन्। यस अवस्थामा गर्भलाई निरन्तरता दिने वा गर्भपतन रोज्ने प्रश्नहरू उब्जिएका छन् भने विकसित भइसकेको गर्भलाई कसरी हुर्काउने तथा प्रसव कहाँ गर्नेजस्ता द्विविधा थपिएका छन्।
कोभिड– १९ भाइरसको संक्रमणले गर्भको शिशुलाई असर गर्छ वा गर्दैन ? अनि यस महामारी भएका बेला गर्भ तथा शिशुको योजना बनाउने वा नबनाउने ? धेरै दम्पतीको प्रश्न रहेको मैले पाएको छु। कोभिड– १९ को संक्रमण अझै पनि नयाँ नै छ। गर्भवती महिलामा यसको संक्रमणका असरमा धेरै अध्ययन हुने क्रममै छन्। चीनमै २० जनवरी २०२० देखि २४ मार्च २०२० सम्ममा जी यान र उनका साथीहरूले कोरोनाको संक्रमण भएर अस्पताल भर्ना भएका एक सय १६ जना गर्भवती महिलाको अध्ययनले संक्रमित गर्भवतीबाट गर्भको शिशुमा संक्रमण नफैलिने देखाएको छ। कोरोना भाइरसजस्तै सेभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम (सार्स) कोभिड र मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम (मर्स) कोभिड को संक्रमण पनि आमाबाट बच्चामा नसर्ने गरेको अध्ययनले देखाएको छ। त्यसैले आफू संक्रमित भए आफ्नो गर्भमा संक्रमण फैलिने तथा शिशुलाई असर गर्छ भन्ने डर गर्भवतीले राख्न आवश्यक नरहेको देखिन्छ।
गर्भवती महिला कोरोनाको संक्रमित भए के गर्ने ? लक्षणअनुसार बिरामीलाई सहज बनाउँदै लैजानु उपचार हो, जस्तै ज्वरो आए अनि श्वासप्रश्वासमा समस्या भए अक्सिजन र भेन्टिलेटर। तर सबै संक्रमितमा लक्षण देखिँदैन र अधिकाशमा उपचारको आवश्यकता नै पर्दैन।
गर्भ योजनामा रहेका दम्पतीले कोरोना महामारीकै कारण बच्चा नपाउने भन्न सकिँदैन। अहिलेको अवस्थामा कोरोनाका संक्रमण हुँदैन भन्न सकिँदैन। नेपालमा कोरोना समुदायमै फैलिसकेको छ। यस अवस्थामा कामकाजी महिलामा संक्रमणको जोखिम अझ बढिरहेको छ। जोखिम हुँदाहुँदै बच्चाको योजना बनाउनुभन्दा केही समय टार्नु उपयुक्त हुन सक्छ तर आफ्ना व्यावहारिक पक्ष तथा आफू अनुकूलता हेर्न आवश्यक छ। दम्पतीलाई यही समय अनुकूल छ भने कोरोनाकै कारण गर्भ नराख्न भन्न मिल्दैन। गर्भको योजना बनाइसकेपछि गर्भ रहनुअगाडि नै चिकित्सकसँग परामर्श गरेर फोलिक एसिड नामक औषधि प्रयोग गरेको राम्रो हुन्छ। यसो गर्दा गर्भको शिशुको विकास राम्रो हुने तथा कुनै किसिमका जन्मदै कमजोर भएर जन्मिने सम्भावाना कम हुन्छ।
काम तथा रोजगारका कारणले धेरै दम्पती सँगै बस्ने अवसर पाएका थिएनन्। तर लकडाउनले त्यो अवसर जुटाइदिएको छ। यसबीचमा केही महिला गर्भवती पनि भएका छन्। तर यस्तो महामारीको अवस्थामा गर्भलाई निरन्तरता दिनु कि गर्भपतन रोज्नु ? अन्योलमा रहेको पाए। गर्भ निरन्तरता गर्ने वा गर्भपतन रोज्ने नितान्त व्यक्तिगत निर्णय हो। महामारी र लकडाउनमा पनि सुरक्षित गर्भपतन सेवा रोकिएको छैन र सूचीकृत स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट यो सेवा लिन सकिन्छ। तर सन्तानको रहर भएका दम्पतीले गर्भको निरन्तरता दिन सक्छन्। अहिलेसम्मको अध्ययनले कोरोनाले गर्भको बच्चामा कुनै असर भएको, गर्भ खेर गएको, अपांग जन्मेको वा कम अवधिमै जन्मेको देखाएको छैन। कोरोना संक्रमणले उच्च ज्वरो आउन सक्छ र शरीरको तापक्रम उच्च भएको अवस्थामा प्रसव व्यथा सुरु हुन सक्छ। यसको कारण संक्रमण नभएर उच्च ज्वरो रहेको र ज्वरोको औषधिले व्यथालाई रोक्न सक्ने भएकाले आत्तिनुपर्ने देखिँदैन। युके अब्सट्रेटिक सर्भेल्यान्स सिस्टमले ११ मे २०२० मा प्रकाशन गरेको ४२७ संक्रमित गर्भवतीको अध्ययनले गर्भवतीलाई कोरोना संक्रमणले अन्य महिलाको तुलनामा थप कुनै जटिलता नथपिएको देखाएको छ। त्यसैले गर्भलाई निरन्तरता दिन सकिन्छ तर यो निर्णय दम्पती आफैंले लिनुपर्छ।
गर्भवती महिला कोरोनाको संक्रमित भए के गर्ने ? यसबारे पनि चिन्ता लिनुपर्ने देखिँदैन। कोरोना संक्रमणको विशेष उपचार अहिलेसम्म पत्ता लागिसकेको छैन। यसमा लक्षणअनुसार बिरामीलाई सहज बनाउँदै लैजानु उपचार हो, जस्तै ज्वरो आए अनि श्वासप्रश्वासमा समस्या भए अक्सिजन र भेन्टिलेटर। तर सबै संक्रमितमा लक्षण देखिँदैन र अधिकाशमा उपचारको आवश्यकता नै पर्दैन। गर्भवती महिला संक्रमित भए पनि यिनै उपचार नै हो। गर्भवती भएकै कारणले कुनै थप जटिलता नथपिने भएकाले थप उपचार पनि पर्दैन स्पष्ट छ र लक्षण देखिए सोहीअनुसार उपचार चाहिने हुन्छ। अहिले कोभिड अस्पतालहरू भरिँदै गएका छन्। लक्षणविनाका संक्रमितलाई होम आइसोलेसनमा बस्न अनुमति दिइएको छ। गर्भवतीका लागि नेपाल सरकारको कोभिड– १९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ मा कुनै विशेष सावधानी तथा उपचार उल्लेख नगरिए पनि लक्षणविनाको संक्रमित गर्भवतीले पोसिलो र झोलिलो खानामा विशेष ध्यान पुर्याउनुपर्छ। आफूले नियमित सेवन गरिरहेका औषधि (आइरन, क्याल्सियम तथा अन्य) नियमित खानुका साथै भिटामिन सी र डी सेवन गर्नु उपयुक्त हुन्छ। यस अवस्थामा चिसोबाट तथा अन्य रोगबाट जोगिन बढी सर्तकता अपनाउनुपर्छ।
संक्रमित गर्भवतीले घर (होम आइसोलेसन) मा भए पनि नियमित ज्वरो नाप्नु अनिवार्य हुन्छ। उच्च ज्वरोले जटिलता थप्ने भएकाले शरीरको तापक्रम बढेमा, जाडो भएमा वा काप्ने हुनेबित्तिकै पारासिटामोल सेवन गर्नुपर्छ। घरमा पनि पल्सअक्सिमिटरको प्रयोग गरेर शरीरको रगतमा भएको अक्सिजनको मात्रा नाप्न सके अझ राम्रो हुन्छ। होम आइसोलेसनमा बसेका संक्रमितलाई स्थानीय र सम्बन्धित निकायले दिएको निर्देशनको पालना गर्नुपर्छ र आकस्मिक अवस्था आएमा कहाँ, कसलाई र कसरी सम्पर्क गर्ने ? राम्ररी बुझ्न र सम्पर्कमा बस्न आवश्यक हुन्छ। संक्रमण रहेको अवस्थामा पनि प्रसव गराउनुपर्ने हुन सक्छ। नेपालमा पनि भर्खरै धरानको बीपी केआईएचएसमा नर्मल डेलिभरी र नेपालगन्जमा सिजरियनको पनि व्यवस्था भइसकेकाले प्रसव तयारीमा रहेका गर्भवतीहरूले डराउनुपर्ने देखिँदैन।
साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।