राहत पाइयो, अब चुल्हो बल्छ
कालिकोट : खाँडाचक्र नगरपालिका–२ निवासी धनसोभा विकले सेरीघाटमा कर्णाली राजमार्गको किनारमा झण्डै दुई गाडी गिट्टी कुटेकी छिन्। उनका श्रीमान भारतमा छन्। घरमा छोरा छोरीहरुसहित सात जनाको परिवार छ। सधैँ गिट्टी कुटेर भारी बोकेर कमाएको पैसाले उनको चुल्हो बल्थ्यो।
तर आजभोलि उनले कुटेका गिट्टी पनि बिक्रि भएका छैनन्। भारी बोक्ने काम कोरोनाका कारण बन्द भएको ६ महिना पुग्यो। घरमा खानेकुरा नहुँदा समस्या भयो। लकडाउनका बेलादेखि नै छिमेकीसँग चालम सापट लिएर धान्दै आएकी थिइन्। वडा कार्यालय र नगरपालिकाले वितरण गर्ने राहतमा उनको नाम समावेश भएन्। उनी लगायत खाँडाचक्र नगरपालिका वडा नं. २ का ६० जना विपन्न परिवारहरु वडा कार्यालय र नगरपालिका घेराउसम्म गरे। पछि राहत दिउला भनेर आश्वासन पाए तर राहत मिलेन्।
राहत नपाएर पीडित भएका यी परिवारलाई नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, तारा शाहा र पदमबहादुर शाहीले राहत उपलब्ध गराएका छन्। आफै उनीहरुले आफ्नै खर्चमा दाल, चामल, साबुन लगायतका दैनिक उपभोग्य सामान राहतस्वरुप दिएको बताएका छन्।
स्थानीय सरकारको राहतको सूचीमा नपरेकाहरु राहत पाएपछि निकै खुसी भएका छन्। मजदुरीबाट जीविका चलाउने स्थानीय बालकौरा परियार भन्छिन् ‘लकडाउनपछि काम नपाएर बिजोग थियो, सरकारले हामीलाई राहत दिएन्। छाक टार्नै समस्या भइरहेका बेला २० किलो मात्र भएपनि चामल पाइयो।’
भुपेन्द्रजंग शाही २०७४ सालको प्रतिनिधि सभामा पराजित उम्मेद्वार हुन्। पदमबहादुर शाही स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिकाको प्रमुखमा पराजित भएका थिए। कांग्रेस नेतृ तारा शाही निर्माण व्यवसायी संघकी केन्द्रीय पनि हुन्।
उनीहरुले खाँडाचक्र नगरपालिका १ र २ का २ सय विपन्न परिवारहरुलाई राहत वितरण गरेका हुन्। प्रति परिवार २० किलो चामल, दुई किलो दाल, एक पोका तेल, मास्क लगायतका सामाग्र्रीहरु २ सय परिवारहरुलाई वितरण गरिएको हो।