मलसँगै किसानलाई बालीको चिन्ता, सिन्धुलीमा २२ प्रतिशत धानबालीमा रोगको प्रकोप
सिन्धुली : धान रोपोको तीन महिना वितिसक्दा समेत रसायनिक मल नपाएर हैरान भएका किसानलाई फेरी धान बालीमा रोगको चिन्ता थपिएको छ । युरीया मल अभाव हुँदा रोपो नै हुर्कन मुस्किल भएको धान बालीमा विभिन्न रोगको संक्रमण बढेपछि किसानहरु चिन्तित भएका हुन् ।
केही दिनयता सिन्धुलीका किसानले लगाएको २२ प्रतिशत् धनबालीमा गबारो, पातडडुवा, पात सेतो र रातो हुने रोगको संक्रमण तीव्रगतिमा फैलिएको छ । मल नपाए पनि अलिअलि भएपनि फल्छकी भन्ने आशाले गोडमेल गरेको धानको पुरैपात रातो भएर सुक्न थालेपछि थप चिन्ता थपिएको कमलामाई नगरपालिका ५ संगमचोककी कृषक सिता विकको भनाइ छ ।
'तेह्र कट्ठा क्षेत्रफलमा लगाएको धानमा युरीया मल नपाएर हाल्न पनि पाएका थिएनौं । अर्मपरम गरेर रोपो गोढेपनि अहिले पुरैपात रातो हुन थाल्यो,' उनले भनिन् । कमलामाई नगरपालिका ११ का किसान शेरबहादुर कार्कीपनि धानको बेर्ना सबै कालो भएर डड्न थालेपछि चिन्तामा छन् । उनले धानको पात डढेर सकिन थालेपछि कृषि प्राविधिकसंग सरसल्लाह लिन जिल्ला सदरमुकाम आइपुगेको सुनाए ।
'गाउँका अधिकांश कृषकहरुको धान बालीमा गबारो, पातडडुवा, पात सेतो र रातो हुने रोगको संक्रमण भएको छ । यो दिनदिनै बढ्दै गएपछि खेत सबै बाँझै हुने होकि भन्ने चिन्ताले सताएको छ,' उनले भने ।
जिल्लामा धानबालीमा विभिन्न रोगको एकै साथ संक्रमण भएको किसानहरुले गसनासो गरेपछि अनुशन्धान थालिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका निमिक्त प्रमुख श्रीकृष्ण अधिकारीले बताए ।
‘यहाँको कमलामाई र दुधौली नगरपालिकाका साथै मरिण, तिनपाटन र घ्याङलेख गाउँपालिकामा सबैभन्दा बढी गबारो, पातडडुवा र पात सेतो र रातो हुने रोग लागेको पुष्टि भएको छ,’ अधिकारीले भने । अधिकांश किसानको धान बालीमा पात रातो हुने समस्या देखिएको छ । अधिकारीले भने, त्यो माटोको तत्वमा जिंकको कमी भएका कारणले भएको पूर्वामनुमान गरिएको छ । त्यो भन्दा समस्या गोबारो र पात डडुवाले धानबालीमा क्षति पुर्याएको पाइएको छ ।'
सिन्धुलीमा यो वर्ष कुल १४ हजार ६ सय ८८ हेक्टरमा धानबाली लगाइएको छ । उक्त क्षेत्रफलमध्ये झण्डै २२ प्रतिसत क्षेत्रफलमा लगाइएको धानबालीमा यस्ता विभिन्न रोगको संक्रमण भएको अधिकारीको भनाइ छ । यस्तो रोगको संक्रमण नियन्त्रण गर्न रसायनिक विषादीकै प्रयोग गर्नु पर्ने भएपनि सबै स्थानीय तहका प्राविधिसँग समन्वय गरेर एकैपटक यसको उपचार गर्ने तयारी गरिएको उनले जनाए ।