जहाँ बीपी रमाउँथे
चितवन : छतमा मन्दिर भएको क्षेत्रपुरमा रहेको करिब आधा शतब्दी पुरानो रातो घर। त्यही घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको खुल्ला कोठा। कोठामा सानो टेबल, काठको एउटा पलङ र दराज। कोठाबाहिर बरन्डा।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको कोठा हो यो। चालीस वर्षदेखि त्यो कोठा सुनसान छ। कोठामा रहेको पलङ अहिलेसम्म हटाइएको छैन। चितवन र आसपासका भेगमा कार्यक्रम हुँदा बीपी सबैभन्दा पहिला यहाँ आउँथे। देशका अन्य भागको यात्रामा निस्के पनि उनी एक रात बसेर मात्रै जान्थे। कोइरालाका साथी श्यामकृष्ण प्रधानको घर हो यो। आफ्नै घरजस्तो ठान्थे बीपी यो घरलाई। भरतपुर महानगरपालिका–२ स्थित क्षेत्रपुरमा रहेको स्वर्गीय प्रधानको घरमा कोइराला मुलुकका लागि राजनीतिक रणनीति बनाउँथे।
श्यामकृष्णकी श्रीमती गौरीदेवीलाई त्यो कोठामा जाँदा उनै बीपीको झल्को आउँछ। राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण ताजै छ उनलाई। ‘बीपी बाबु बस्ने कोठा यही हो, जहिले आउँदा पनि यहीँ सुत्नुहुन्थो’, ८६ वर्षीया गौरीदेवीले कोठा देखाउँदै भनिन्, ‘पूरै देश घुम्दा यहाँजस्तो आनन्द र रमाइलो अन्त लाग्दैन भन्नुहुन्थो।’ विगत सम्झँदै उनले भनिन्, ‘जहिले आउँदा पनि यहीँ बस्ने, सुत्ने गर्नुहुन्थ्यो। बिहान उठेर कार्यकर्तासँग भेटेर मात्रै निस्कनुहुन्थ्यो।’
बीपी आएपछि श्यामकृष्णको घर कार्यकर्ताले भरिन्थे। उनलाई कार्यकर्ताले एकछिन पनि छोड्दैनथे। मुलुकको शासन व्यवस्था र संकटको विषयमा राति अबेरसम्म कार्यकर्तासँग कुरा गरेर बस्थे। बीपीको सम्झनाले गौरीदेवी कहिलेकाहीँ भावुक हुन्छिन्। ‘बीपी बाबु आएपछि कार्यकर्ताले एकछिन छोड्दैनथे, सानोतिनो आमसभा नै हुन्थ्यो।’ ‘के खाने भनेर सोध्दा जे दिन्छौ त्यही खान्छु भनेको कहिल्यै बिर्सन्नँ। खालि कार्यकर्ताको चिन्ता गर्ने, उहाँजस्तो त्यागी र इमानदार नेता कोही लाग्दैन’, गौरीदेवीले स्मरण सुनाइन्।
बीपी आएको खबर पाएपछि प्रहरीबाट घर घेरिन्थ्यो। प्रशासनले अवरोध गर्न खोज्थ्यो। तर, बीपीको जनलहर देखेर प्रशासन अत्तालिने गथ्र्यो। उनी सो घरबाट निस्कँदा कार्यकर्ताको उपस्थितिले जुलुस नै तयार हुन्थ्यो। त्यो लोकप्रियताले रुष्ट प्रहरी प्रशासनले भीड बिथोल्न खोज्दा झडप भएको सम्झना छ गौरीदेवीलाई। कोइरालाका देशभरिकै मिल्ने साथीमध्येका एक थिए श्यामकृष्ण प्रधान। बीपीसँग उनको घनिष्ठता थियो। प्रधानको घरबाट पार्टीको गतिविधि सञ्चालन हुन्थ्यो। यो घर २०२६ मा निर्माण भएको हो।
बैठक बस्दा आमसभाजस्तै हुन्थ्यो। कोइराला कार्यकर्तालाई उत्साह दिन्थे। कार्यकर्ताले आन्दोलनका क्रममा पाएको दुःख, सांगठनिक गतिविधिबारे छलफल गर्थे। तर उनी कहिल्यै आत्तिँदैन थिए। कोइरालासँग हिँड्ने क्रममा बुवासँगै रहने श्यामकृष्णका कान्छा छोरा सुबोध प्रधान भन्छन्, ‘उहाँ कहिल्यै आत्तिएको देखिनँ, कार्यकर्तालाई पनि आवेगमा नआउनू, शान्त हुनुपर्छ भन्दै सम्झाउनुभएको स्मरण छ।’ उनी तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन्। सुरुदेखि नै प्रधान परिवार राजनीतिमा सक्रिय थियो।
बीपीसँगै गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पनि मन पर्ने थलो हो यो घर। बीपीले गिरिजाप्रसाद कोइरालालाई चिनाएपछि उनी पनि नियमित जान्थे। बीपीको साथमा लागेर शेरबहादुर देउवा पनि त्यहीँ पुग्थे। पञ्चायती व्यवस्थाविरुद्ध होमिएका नेता उक्त घरमा पुगेर योजना बनाउँथे। प्रजातन्त्र पुनस्र्थापनापछि नेताहरू कम आउन थाले। केही वर्षअघि नेताहरू शेरबहादुर देउवा र प्रकाशमान सिंह पुगेका थिए। अहिले खासै कोही नजाने भएकाले गौरीदेवीको घर सुनसान छ।
उक्त घरबाट पार्टीका सबै गतिविधि सञ्चालन हुन्थ्यो। सो घर नेताहरूको आ श्रयस्थल भएको नेपाली कांग्रेस चितवनका पूर्वसभापति शेषथान अधिकारी बताउँछन्। ‘हाम्रा नेताहरू आएर बस्ने कार्यकर्ता भेट्ने ठाउँ हो’, उनी भन्छन्, ‘इतिहास बोकेको घर हो यो, पछिल्लो पटक सबैले वास्ता गर्न छोडे।’ श्रेष्ठ परिवार २००७ सालको क्रान्तिअघिदेखि राजनीतिमा सक्रिय थिए। बाटो अप्ठ्यारो भएकाले बन्दीपुरमा पनि बीपी कमै जान्थे। श्यामकृष्णको परिवार २०१४ मा चितवन बसाइँ सरेपछि उनको आगमन बढी भयो। अहिले कांग्रेसभित्रको गुटबन्दीले गौरीदेवी निराश छिन्। श्यामकृष्ण र बीपीको मित्रता २००६ सालमा सुरु भएको हो। पञ्चायती व्यवस्थाविरुद्ध पर्चा पम्प्लेट यही घरमा छापिन्थ्यो। राजनीतिक आन्दोलनमा श्यामकृष्ण र गौरीदेवी सक्रिय रूपमा लागेका थिए। २०६९ पुस २६ मा श्यामकृष्णको निधन भएपछि घर झन् बिरानो भएको छ।