नवलपरासीमा ७ प्रहरीसहित एकै दिन ४० जनामा संक्रमण
परासी : पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकै दिन ४० जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार संक्रमण देखिएकामा सबैभन्दा बढी सुनवल नगरपालिकामा ४ वर्षीय बालकसहित २७ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख गौरब ढकालले जानकारी दिए।
संक्रमण देखिएका प्रहरीमा सुनवल नगरपालिकास्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका रहेका छन्। नगरपालिकाका वडाअध्यक्ष, सोही नगरपालिकामा बस्ने जिल्ला स्तरीय नेता र मुटु अस्तपतालमा उपचारका लागि गएका बिरामीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको नगर प्रमुख भीमबहादुर थापाले बताए।
एकै दिन थपिएका अन्य १३ जनामा पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ जना छन्। हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ३ सय १२ जना पुगेको छ। ५ सय ४९ को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।