वर्षौंदेखि तुइनबाटै वारपार
जाजरकोट : प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए। २०७२ असोजमा प्रधानमन्त्रीको कार्यभार सम्हाले लगत्तै ओलीले गरेको पहिलो निर्णय थियो यो।
आर्थिक वर्ष २०७२/०७३ को बजेट भाषणमा पनि तुइन विस्थापन गर्ने घोषणा गरिएको थियो। उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएकै तीन वर्ष बित्न लाग्यो तर तुइन भने अझैं विस्थापन भइसकेका छैनन्। दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता छ।
पूर्वी जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ को ठुलाबगर र वडा नं.८ मैदे मालुवातराबाट भेरी नदी तरेर रुकुम जान तुइनको सहारा लिनु पर्ने बाध्यता छ। त्यस्तै पश्चिम जाजरकोटको शिवालय गाँउपालिकाबाट छेडागाड (ठुलो खोलालाई गाड भनिन्छ ) तरेर छेडागाड नगरपालिकाको कार्कीगाँउ जान शिवालय गाँउपालिका १ सालतडा र शिवालय गाँउपालिका ९ बालुवामा तुइन छ। त्यही तुइनको साहाराबाट स्थानीय वारपार गर्छन्।
जाजरकोटको शिवालय गाँउपालिका १ का मनवीर पुन नदी तरेर पारिपट्टि जानु परे तुइनकै साहारा लिनु पर्ने बाध्यता रहेको सुनाउँछन्। नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनकै साहारा लिनु परेको उनको भनाइ छ। झोलुङ्गे पुलको लागि पटक-पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुनइबाट वारपार गर्नु परेको उनले गुनासो गरे।
शिवालय गाँउपालिका १ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाँउ जोड्ने छेडागाड (खोला) तर्न स्थानीयले वर्षौंदेखि तुइनको साहारा लिने गरेका छन्। 'तुइन नहुँदा स्थानीयलाई छेडागाड तर्न निकै सकस हुन्थ्यो। वर्षातको समयमा ५ घण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गर्थ्यौं', छेडागाड नगरपालिका १२ कार्कीगाँउका चक्रु सिंहले भने,‘चिन्डा, नाउ(डुङ्गा) लगायतका साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाए। २५ वर्षअघि तुइन बनेपछि जोखिम भए पनि केही सहज त भएको छ। तर महिला, बालबालिका र जेष्ठ नागरिकलाई तुइन तर्न निकै सकस हुन्छ।’
त्यस्तै नलगाड १ ठुलाबगरकाका स्थानीय वर्षौदेखि तुइनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्छन्। स्कुले बालबालिका, बृद्धबृद्धा लगायतलाई तुइनकै भरमा नदी वारपार गर्नु पर्ने बाध्यता छ। ठुलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पाली लगायत गाउँका एक सय घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भरमा वारपार गर्न बाध्य भएको छ भने शिक्षक र विद्यार्थी पनि यसैगरी तुइनबाटै नदी वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानिय अमर पुनले बताए।
तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयको भनाइ छ। पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ। पुल भएको स्थानसम्म पुग्न डेड् घण्टा समय लाग्छ। त्यो पनि जोखिमपूर्ण भीरको बाटो छ। उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यान समेत गैसकेको छ। अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाति भएको नलगाड १ ठुलाबगरका वीरबहादुर पुनले बताए।