निषेधाज्ञाले माथिल्लो तामाकोशीको निर्माण ३ महिना पर धकेलिँदै
दोलखा : कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य थप करिब ३ महिना पर धकेलिने भएको छ । पुस मसान्तसम्ममा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको ४५६ मेगावाटको आयोजनाको चीन, भारत र नेपालका विभिन्न सहरमा गरिएका खण्डीय निषेधाज्ञाले सामान र विज्ञहरु आउन नसकेको कारण थप कम्तिमा ३ महिना धकेलिने भएको हो ।
हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकलका सामानहरु, विभिन्न लटका ठेकेदारहरु र परामर्शदाता कम्पनीका विज्ञहरु आउन नसकेका कारण आयोजनाको निर्माण कार्य थप करिब ३ महिना धकेलिने निश्चितप्राय भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले बताए ।
आयोजनाले विद्युत् उत्पादन कार्यतालिका संशोधन गरिनसकेको भएपनि विद्यमान परिस्थिति र त्यसले सिर्जना गरेको समस्याले पुस मसान्तभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन परीक्षण गर्ने कार्य चैतसम्म धकेलिन सक्ने प्रवक्ता न्यौपानेको अनुमान छ । विरगञ्जबाट २–३ दिनमा आइपुग्नुपर्ने सामान खण्डीय निषेधाज्ञाको कारण चेकजाँच गराउँदै आउनुपर्ने र रातको समयमा मात्र गाडी चल्ने हुँदा ६–७ दिन लाग्ने गरेको उनले बताए ।
लट–२ को हाइड्रोमेकानिकलका भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङको सामान कोलकातामै रोकिएको छ । धेरै महत्वपूर्ण पार्टसहरु रोकिएको तथा आएका सामान जडान गर्ने प्राविधिक पनि चीन र भारतमै रोकिएका छन् ।
परामर्शदाताका विज्ञहरु पनि विदेशमै रोकिएको प्रवक्ता न्यौपानेले बताए । करिब डेढ महिनादेखि काम भइरहेको महत्वपूर्ण सुरुङको रुपमा रहेको ५० मिटर लम्बाईको बाईफोर्केसन तथा तेर्सो पेनस्टक पाइपको जडान करिब अन्तिम अवस्थामा पुगेको छ ।
जलासय, गेट, स्टपलक, डिस्यान्डरलगायतका हेडवक्र्सका संरचनाहरुको परीक्षण गर्ने क्रममा रहेको आयोजनाले कोरोना त्रासका कारण बीचैमा रोकेको थियो । आयोजनाले भूमिगत विद्युत् गृहमा गरेको सुख्खा परीक्षण यसअघि नै सफल भइसकेको छ ।
आयोजनाबाट उत्पादित २२०/१३२ केभीको डबल सर्किटको ४७ किलोमिटर लामो प्रसारणलाइनको निर्माण कार्य सम्पन्न भइ मल्टिसर्किट टावरको निर्माण कार्य पनि अन्तिम अवस्थामा रहेको प्रवक्ता डा. न्यौपानेले जनाए ।
आयोजनाबाट उत्पादित विद्युत् रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, फुलासीमा निर्माणाधिन सवस्टेशनमा विभिन्न उपकरणहरु जडान सुरु भएको छ । हालसम्म ४९ अर्बभन्दा बढी खर्च भइसकेको आयोजनामा डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्चलगायका कारण आयोजना समाप्त हुँदासम्म आयोजनाको लागत ७२ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।