संक्रमितले ‘नाम, नम्बर र ठेगाना’ गलत दिँदा स्वास्थ्यकर्मीलाई हैरानी

संक्रमितले ‘नाम, नम्बर र ठेगाना’ गलत दिँदा स्वास्थ्यकर्मीलाई हैरानी

ललितपुर : कोरोना भाइरस परीक्षण गराउने समग्र संक्रमितमध्ये १० प्रतिशतले गलत विवरण टिपाउने गरेको देखिएको छ। गलत विवरणका कारण स्वास्थ्यकर्मीले हैरानी झेल्नु परेको गुनासो गरेका छन्। कोरोना देखिएका बिरामीले एम्बुलेन्स लिएर घर छेउछाउ लिन नआउन आग्रह गरेको नमिठो अनुभव स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालले सुनाए। 

उनका अनुसार डेरामा बस्नेहरु गलत विवरण दिने गरेका छन्। स्वास्थ्य कार्यालयका प्रमुख गेलालका अनुसार गत साता धापाखेलमा कोरोनाको रिपोर्ट पोजिटिभ आएको थाहा पाउने बितिकै कार्यालयले एम्बुलेन्सलाई कल गरेर संक्रमित लिन जान आग्रह गर्‍यो। एम्बुलेन्स चालकले संक्रमितलाई लिन आउँदै गरेकाले तयारी भएर बस्नु भन्दै फोन गरे। तर संक्रमितले उल्टै आफ्नो घर छेउछाउ नआइदिन अनुरोध गरे। संक्रमितले भने,‘एम्बुलेन्स लिन आउँदा यहाँ छिमेकीले देखेर के भन्छन ? भो म आफैँ चोकसम्म हिँडेर आउँछु।’ 

सामाजिक तिरस्कार र लाञ्छनाबाट बच्न यस्ता घटना दिनानुदिन बढिरहेको गेलालले गुनासो गरे। उनले भने, ‘धापाखेलमा केस देखियो भने सातदोबाटोमा लिन आउनु भन्छन्।’कोरोना लागेको आफ्ना छर छिमेकीले थाहा पाउँलान् भनेर घर छेउछाउ नआउन थुप्रैले आग्रह गरेको उनले अनुभव सुनाए।

सामाजिक लाञ्छनाको त्रासले नै पछिल्लो समय वास्तविक ठेगाना र सम्पर्क नम्बर नलेख्नेको संख्या पनि उल्लेख्य रहेको गेलालले जानकारी दिए। उनले भने ‘समग्र संक्रमितमध्ये कम्तिमा दश प्रतिशतले गलत ठेगाना र नम्बर टिपाएका छन्।’ जसले गर्दा संक्रमितको पहिचान गर्न तथा कन्ट्याक ट्रेसिङका काममा निकै समस्या परेको उनको जनाए। 

यसै साता देखिएका केही संक्रमितको उदाहरण दिँदै उनले भने ‘एउटाको नाम लेखिएको हुन्छ। कल गर्दा अर्कोतिर पुग्छ। फोन नम्बर नै अरुको  टिपाएर हैरान गराएका छन्।’ यो समस्या समाज, आफन्तले के भन्लान भन्ने भयले गर्दा भएको बताए। यस्ता संक्रमितले गर्दा अरुमा जोखिम बढेको र  उनीहरुलाई खोज्न निकै समस्या परेको छ। विशेष गरी भाडामा बस्ने मानिसहरुले गलत विवरण दिएको अनुभव उनको छ। तर, कोरोना लागेकालाई नराम्रो दृष्टिकोणले नहेर्न र इमान्दारीपुर्वक सही नाम, ठेगाना, नम्बर टिपाउन आग्रह गरे। यस्ता गल्तीका कारण समुदायमा कोरोनाले भयावह रुप लिनसक्ने अनुमान उनको छ। गलत विवरणका कारण संक्रमित खोज्न र सम्पर्क गर्न धेरै दिनसम्म लागेको घटना पनि सुनाए। कोरोना लागिहाले पनि नकारात्मक रुपमा नहेर्न उनको आग्रह छ। 

यस्ता समस्याले गर्दा मन्त्रालयले दैनिक दिने प्रेस व्रिफिङ र स्वास्थ्य कार्यालयको रिपोर्ट फरक देखिने गरेको उनले बताए। स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बुधबारसम्म ललितपुरमा ११ सय ८५ जनामा कोरोना पोजिटिभ देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.