कृषि समृद्धिमा फस्फोराइट

कृषि समृद्धिमा फस्फोराइट

कृषिजन्य माटोको उर्वरा शक्ति र गुणस्तरमा गिरावट हुनु नेपालजस्ता विकास उन्मुख कृषिप्रधान मुलुकमा दिगो कृषि प्रणालीका मुख्य चुनौती हुन्। कृषि उत्पादन वृद्धिमा तराईजस्तो उष्ण तापीय होचो भूभागमा माटोमा फस्फोराइटको कमी हुन्छ। कृषि मलमा युरियाबाट पाइने नाइट्रोजन अभावलाई जैविक मल र माटोमा नाइट्रोजन सञ्चित गर्न सक्ने बिरुवाबाट केही पूर्ति गर्न सकिन्छ तर माटोमा फस्फोराइटको आवश्यकता पूर्ति गर्ने फस्फोराइटकै प्रयोग गर्नुपर्छ किनकि फस्फोराइट मल रासायनिकभन्दा पनि खानिजमा आधारित मल हो।

डीएपी अर्थात् डाइएमोनियम फसपेट भनेको युरियाजस्तो पूर्ण रासायनिक होइन, जसमा फस्फोराइट, अम्ल र पानी तीन पदार्थको करिब समान अनुपात हुन्छ। देशको खनिज सम्पदाको वैज्ञानिक प्रयोग गरी बढ्दो जनसंख्याको माग सम्बोधन गर्नु आजको सरकारको दायित्व हो, जसका निम्ति स्थिर कृषि प्रणालीमा जैविक र रासायनिक मल प्रयोग गरी उत्पादनमा वृद्धि गर्नुको विकल्प छैन।

अम्लीय वर्षा, जैविक मल र नाइट्रोजनको अत्यधिक प्रयोगका कारण यस क्षेत्रमा नाइट्रोजन, फस्फोरस ् पोटासको अनुपात असन्तुलित रहेकाले माटोको उर्वरा शक्तिमा ह्रास आएको छ। नेपालजस्तो भौगोलिक विविधता भएको जमिनमा माटोमा निम्न पोषण हुनुको मुख्य कारण सतहको माटोको क्षयीकरण पनि हो। उत्पादन वृद्धिका निमित्त माटोको उत्पादकत्वमा गुणात्मक वृद्धि गरी निम्न वर्गका किसानमा समृद्धिको प्रकाश पार्ने स्थानीय फस्फोराइटको घरेलु विधिबाट प्रयोग पनि गर्न पनि सकिन्छ भने विस्तृत रूपमा उपयोग गर्नु राज्यको जिम्मेवारी हो। सरकारले देशका जनताको गरिबी निवारण र राष्ट्रिय पुँजीको पलायन रोक्न कम्तीमा आफ्नो आवश्यकता पूर्ति गर्ने उद्देश्यका साथ फस्फोराइट खानीको उत्खनन र उपयोग गर्नुपर्छ।

नेपाललगायत एसियाको खाद्य सुरक्षा मूलतः उच्च उत्पादन हुने धान र गहँुबाली, सिँचाइ र वर्षा र रसायनिक मलमै निर्भर छ। सामान्यतः धानबालीमा पानीमा घुल्ने फस्फोराइटको मात्रा २५ किलोग्राम प्रतिहेक्टर प्रयोग गरिएको छ। उच्च भूभागमा भने फस्फोराइटको मात्रा अझै कम हुन्छ।

फस्फोराइट, रासायनिक कृषि मल निर्माण गर्ने मुख्य खनिज कच्चा पदार्थ हो। नेपालजस्तो कृषिमा निर्भर अर्थतन्त्र भएको देशमा फस्फोराइट खानीको रणनीतिक महत्व हुन्छ। नेपालमा फस्फोराइट प्रारम्भिक अन्वेषणको काम धेरै पहिलेदेखि हुँदै आएको छ। केही स्ट्रोमाटोलाइट जीवाशेषसहितको डोलोमाइट चट्टान र कालो चेर्ट, क्ले माटोबाट बनेको सेल चट्टानमा नेपालको बैतडीको ढिकगढदेखि बझाङको टारुगढसम्म करिब ५० किलोमिटर लम्बाइमा ७० सेन्टिमिटरदेखि ४.७ किलोमिटर मोटाइ भएका पाँचदेखि ३२ प्रतिशत फस्फोराइट खनिजयुक्त भण्डार रहेको विभिन्न अध्ययनले देखाएका छन्। यस्तो अवस्थामा आर्थिक र प्राविधिक रूपमा उपयुक्त फस्फोराइट खानीको अन्वेषण, उत्खनन गरी स्वदेशमै कृषि मल उत्पादन गर्नु सरकारको आवश्यकता र दायित्व पनि हो। तत्कालीन सरकारको चौथो पञ्चबर्से योजनामै समावेश गरिएको र खानी तथा भूगर्भ विभागले १९६७ मा नै प्रारम्भिक फस्फोराइट खानीको अन्वेषण र उत्खनन कार्य हालसम्म पनि निरन्तर नै छ। भारतमा पनि नेपालको बैतडीकै फस्फोराइट खानी भएको समान चट्टानमा फस्फोराइट उत्खन्न गरिएको थियो।

बैतडीको ढिकगढ, जुन्कुना, धोउ बिसाउने, सनागाउँ, बझाङको टारुगढ, जुलीगढ, गोल्छङ, काडाचौरसँगसँगै वराह क्षेत्रमा टाकुरे, तावाखोला र थोङसार, स्वार खोलादाङ, मारी खोला प्युठान, खुलिया खोला (चिसापानीबाट उत्तर–पश्चिम), आदि क्षेत्रमा विभिन्न गुणस्तरका विभिन्न परिणाममा फस्फोराइट खानी पाइन्छ।

अगाडि गरिएका खोज तथा अनुसन्धनमा यातायात, प्रविधिको अभावमा उपयुक्त नमुना संकलन हुन नसकेको पनि हुन सक्छ, जसका कारणले यथार्थ र औसत गुणस्तरभन्दा सतहमा भएका नमुनाको गुणस्तर प्राप्त भएको हुन सक्छ। तसर्थ फस्फोराइट खनिज फरक–फरक घनत्व भएको २२–३० मिटरको फस्फोराइटयुक्त चट्टानको प्रकृतिअनुरूप ड्रिलिङ गरी भित्रको ताजा नमुना संकलन गरी यथार्थ र विस्तृत अध्धयन हुनु आजको आवश्यकता हो। उक्त नमुनाको प्रयोगशाला परीक्षणका लागि विस्तृत अध्ययन गर्न सकिने प्रयोगशालामा परीक्षण गर्नुपर्छ किनकि खानीको गुणस्तर स्पष्ट भएपछि मात्रै राज्यको लगानी गर्ने योजना गर्नु वैज्ञानिक र मितव्ययी हुन्छ। खानीमा फस्फोराइटको मात्रा कम भएमा बेनिफीकेसन प्रक्रियाबाट गुणस्तर वृद्धि गरी मल निर्माणमा उपयोग गर्न पनि सकिन्छ। फस्फोराइटको प्रशोधन र मल निर्माणमा उच्च विद्युतीय ऊर्जा आवश्यक भएकाले बैतडीको फस्फोराइट उत्खननमा चमेलिया जलविद्युत् एक महत्वपूर्ण आधार बन्न सक्छ। हाल सडकको सुविधा, विद्युत्को उपलब्धता र अम्लको उपयोग गरी यसको विकास गर्ने प्रशस्त सम्भावना छ।

आर्थिक वर्ष २०७६\७७ मा कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.७ प्रतिशत रहने अनुमान गरिएको छ। आव ०७५\७६ मा कृषि क्षेत्रको उत्पदान ५.१ प्रतिशतले वृद्धि भएकोमा धानको उत्पादनमा कमी, मल र बीउको आयातमा कमी र कोरोना कहरका कारण आव ०७६\७७ मा कृषि क्षेत्रको उत्पादन २.६ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ। कूल ग्राहस्थ उत्पादनमा यस क्षेत्रको योगदान क्रमशः घट्दै गए पनि आर्थिक वृद्धिमा कृषि क्षेत्रको योगदान आव२०७५\७६ मा २१.१ प्रतिशत रहेकोमा २०७६\७७ मा ३२.७ प्रतिशत प्रक्षेपित छ, जुन सकारात्मक देखिन्छ। २०७५\७६ को फागुनसम्ममा एक लाख ९१ हजार ५ सय ३६ मेट्रिक टन रासायनिक मल वितरण गरेकोमा २०७६\७७ को फागुनसम्म उल्लेखनीय वृद्धि गरी २ लाख ५० हजार ५ सय ३५ मेट्रिक टन रसायनिक मल वितरण भएको सरकारको तथ्यांक छ तर पनि किसानले समयमा र आवश्यक मात्रामा मल नपाएको खबर सर्वत्र पाइन्छ। यसले नेपाली कृषि बजारमा मलको आवश्यकता र मागलाई प्रस्ट पार्छ।

नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत महत्वका साथ बैतडी र बझाङको फस्फोराइट खानीको अध्ययन, उत्खनन र उपयोग गरी नेपालमा कृषि मल आयात प्रतिस्थापन गर्ने काम अगाडि बढाएको छ। उक्त काम खानी तथा भूगर्भ विभागले विस्तृत योजनाका साथ गरिरहेको छ। भिन्न प्रसंगमा कुरा गर्दा नेपालमा खानी लिएर वा होल्ड गरेर विभिन्न उद्देश्यले काम अगाडि नबढाउने बेथिति पनि हाम्रो समृद्धिका वाधक हुन्। आजसम्म विस्तृत अध्ययनमा भौगोलिक कठिनाइ, आवश्यक प्रयोगशाला र परीक्षणको अभाव, उत्पादन कम्पनी र प्रविधि छनोटलगायतका चुनौतीका बीच फस्फोराइट खानी उत्खनन र उपयोग नेपालको कृषिबाट समृद्धितर्फ जाने यात्राको दरिलो आधार हुनेछ।

भण्डारी चीनको विश्वविद्यालयमा भूगर्भशास्त्रमा अध्ययनरत छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.