ओझेलमा शास्त्रीय संगीत

ओझेलमा शास्त्रीय संगीत

काठमाडौं : गीत संगीतको मियो हो, शास्त्रीय संगीत। मेलवादेवी, उस्ताद सेतुराम, नरराज ढकाल, चन्द्रराज शर्मा, गुरुदेव कामत आदिले नेपाली शास्त्रीय संगीतको विकासमा ठूलो योगदान पुर्‍याउँदै आएका छन्। तर यो विधा अहिले निकै ओझेलमा परेको छ।

यसै परिप्रेक्ष्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा ध्रुपद गुरुकुल काठमाडौंले सोमबारदेखि शास्त्रीय संगीतसम्बन्धी नियमित संवाद शृंखला सुरु गरेकोे छ। सोमबारको पहिलो शृंखलामा प्रख्यात शास्त्रीय संगीतज्ञ पं. धनबहादुर गोपालीले नेपालमा शास्त्रीय संगीत ओझेल पर्नुका कारण खोतले। नेपाल शास्त्रीय संगीत समाजका अध्यक्षसमेत रहेका उनीसँग ध्रुपद गायनका युवा साधक विशाल भट्टराईले भर्चुअल संवाद गरेका थिए।

आरआर, पद्मकन्यालगायत क्याम्पसमा शास्त्रीय संगीत पढाइरहेका गोपालीको विचारमा उनको पालामा रेडियो नेपालमा स्वर परीक्षा दिनुपर्दा मेहनत गर्ने बानी थियो। संगीत निर्देशक अमरराज शर्माबाट रेडियोमा डोर्‍याएर लगिएका उनी आफंै पनि पहिलो पल्टको स्वर परीक्षामा फेल भएका थिए। तर अहिले त संगीतलाई साधनाभन्दा पनि सामान्य रुचिको विषयका रूपमा लिन थालिएको छ। संगीतसूत्रलगायत धेरै पुस्तकका लेखकसमेत रहेका उनी गीतसंगीतको क्षेत्रमा आउन चाहनेलाई शास्त्रीय संगीतको ज्ञान हुनैपर्ने जिकिर गर्छन्।

गोपालीको विचारमा संगीतले लामो अभ्यास खोज्ने भएकाले एक न एकजना गुरु थाप्नैपर्ने हुन्छ। उनी कुनै समय होमनाथ उपाध्याय, संगीतप्रवीण नरराज ढकाल, रंगराव कादम्वरीका एक्ला चेला थिए। भन्छन्, ‘संगीतप्रवीण भएर पनि नरराज गुरु निष्कपट हुनुहुन्थ्यो। कुनै चीज नआए, यो त मलाई पनि थाहा भएन भन्नुहुन्थ्यो।’

‘लोकगीत सर्वसाधारणबाट सुनेको भरमा गुन्गुनाउन सकिन्छ। तर, शास्त्रीय संगीतलाई कडा अभ्यास चाहिन्छ। शास्त्रमा आधारित भएर संगीतको व्याकरण सिकेजस्तो हो यो’, गोपाली भन्छन्, ‘शास्त्रीय संगीत त गाउनेलाई मात्रै होइन, सुन्नेलाई पनि धैर्य चाहिन्छ।’

शास्त्रीय संगीतलाई ओझेल पार्नुमा रेडियो नेपाल पनि जिम्मेवार देख्छन् गोपाली। रेडियो नेपालले पहिले सातामा ६ दिन शास्त्रीय संगीत कार्यक्रम दिन्थ्यो। पछिपछि घटाउँदै लगेर पूरै कार्यक्रम नै बन्द गर्‍यो। केही वर्षपहिले नेपाल शास्त्रीय संगीत समाज अर्थात् गोपाली नेतृत्वकै अगुवाइमा पुनः रेडियो नेपालबाट शास्त्रीय संगीत कार्यक्रमलाई ब्यूँताउने प्रयास गरिएको थियो। तर कलाकारलाई पारिश्रमिक दिन आनाकानी गरिएपछि त्यत्तिकै सेलायो।

नेपाल शास्त्रीय संगीत समाजले पहल गरेपछि शास्त्रीय संगीतबारेको छुट्टै कोर्स बनाउन थालिएको छ। चन्दनकुमार श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति बनेको छ। यो लागू हुन सके शास्त्रीय संगीत कोर्सको परीक्षा दिन इलाहाबाद जाने बाध्यता हट्छ।

शास्त्रीय संगीतका धुरन्धर जानकार भारतका रविशंकरले यसलाई पश्चिमा देशमा पनि पुर्‍याएका छन्। रविशंकर बीचबीचमा नेपालमा पनि प्रस्तुति दिन आइरहन्छन्। तर नेपालका शास्त्रीय संगीतका ज्ञातालाई विदेशमा प्रस्तुतिको अवसर छैन। सरकारले दूतावासमार्फत अन्य देशमा प्रस्तुतिको चाँजोपाँजो मिलाउन सके नेपाली संगीतको प्रचार हुने विचार राख्छन् गोपाली।

स्वर मध्यमा शीर्षकको यो बहस शृंखला प्रत्येक साता सोमबार र बुधबार नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको फेसबुक पेजबाट साँझ ४ बजे प्रत्यक्ष प्रसारण हुनेछ। प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘आज खुल्छ, भोलि खुल्छ भन्दाभन्दै लकडाउन लम्बिँदै गएपछि भर्चुअल बहसबाहेक अरू उपाय रहेन। शास्त्रीय संगीतलाई जीवन्तता दिन यो शृंखलाले सञ्जीवनीको काम गर्नेछ।’

शास्त्रीय संगीतको इतिहास

नेपालमा शास्त्रीय संगीत शताब्दीऔंदेखि चल्दै आएको छ। १३औं शताब्दीदेखि मुसलमान र हिन्दु संस्कृतिको सम्मिश्रणबाट विकसित हुँदै आएको उत्तर भारतीय संगीत नै शास्त्रीय संगीत हो। हिन्दुस्तानी शास्त्रीय संगीत पनि भनिने यसमा सितार, सरोद, हार्मोनियम, तबलाजस्ता मुख्य बाजा र ध्रुपद, खयाल, ठुमरी, गजल, भजन, कब्बालीजस्ता गायनशैली पर्छन्। यो दक्षिण एसियाकै प्रतिनिधित्व गर्ने शास्त्रीय संगीत हो।

राजा, महाराजाहरूले शास्त्रीय संगीतको संरक्षण गर्दै आएका थिए। दरबारमा ओस्तादहरूको ठूलो मानसम्मान हुन्थ्यो। सन् १८५७ मा भारतमा सैनिक विद्रोहपछि विभिन्न प्रान्तका हिन्दु राजा, मुसलमान नवाबहरू पलायन हुँदा शास्त्रीय संगीतले संरक्षण पाएन। शास्त्रीय संगीतका कतिपय कलाकार दरबारबाट सडक, कोठी, मदिरालयमा समेत संगीतको उपयोग गर्न बाध्य भए। कोठीमा नाच्ने तबायफदेखि थिएटर तथा सडकमा नाच्ने नौटंकीहरूलाई सिकाउनु र गाउनु, बजाउनुपर्ने अवस्थाले समाजमा यसलाई हेर्ने दृष्टिकोण फरक भइसकेको थियो। त्यस्तो अवस्थामा नेपालमा भने राणा शासकहरूले दरबारमा संरक्षण दिएर शास्त्रीय संगीतकर्मीको मान बढाएका थिए।

सन् १८८५ पछि वीरशमशेरको पालामा नेपालमा भारतबाट शास्त्रीय संगीतकर्मीको ठूलै जमात छिरेको थियो। वीरशमशेरको दरबारलगायत उनका भाइभारदारका दरबारमा समेत भारतीय शास्त्रीय संगीतकर्मीले रौनक बढाएका थिए। तर राणाशासनको पतनसँगै शास्त्रीय संगीतको जगजगी नेपालमा पनि रहेन।

२००७ सालमा रेडियो नेपाल स्थापनासँगै आधुनिक गीतसंगीतले बढी स्थान पाउन थाल्यो। त्यसो त रेडियो नेपालले शास्त्रीय संगीत कार्यक्रम पनि दिन्थ्यो। शास्त्रीय संगीत प्रतियोगिता पनि आयोजना गथ्र्यो। तर सहभागी कम भएको भन्दै प्रतियोगिता त हरायो नै, रेडियो नेपालबाट शास्त्रीय संगीतको कार्यक्रम नै हरायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.