विपन्नहरुको हातमुख जोड्दै फुड बैंक
ललितपुर : लुभूको महालक्ष्मी मन्दिर छेउको एउटा पेटीमा चामल, दाललगायत अन्य खाद्यन्नका पोकाहरु राखिएका छन्। खानेकुराको खातसँगै टाँसिएको फ्लेस्कमा लेखिएको छ, ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं ।’
निशुल्क दामचामल पाइन्छ भनेर शनिबार बिहानै त्यहाँ पुगेका मजदुर हर्क तामाङ दंग देखिन्थे । उनले भने, ‘यो हामी जस्तालाई ठूलो राहत भयो नि हजुर ।’ हर्कले केही पोका चामल र दाललगायतका खाद्यन्न त्यहाँबाट लगे। कोरोना महामारी अनि लकडाउनले गर्दा महिनौंदेखि बेरोजगार र बेखर्ची भएको उनी बताउँछन् ।
कोरोना संक्रमण तथा लकडाउनका कारण हातमुख जोर्न सकस भएका हर्कजस्ता थुप्रै मजदुर फुड बैंकबाट लाभान्वित भएका छन्। भोकभोकै बस्नुपर्ने वाध्यता यो अभियानले अन्त्य गरिदिएको छ। फुड बैंकमा आउनुअघि हर्क कति दिन भोकै बस्नुपरेको पीडा सुनाउँछन् ।
हर्कसँगै फुडबैंकमा राहत लिन पुगेका अर्का रामबहादुर खुसी देखिन्छन्। उनी भन्छन्, ‘हामीजस्ताको पेटको पीडा बुझ्ने मानिस पनि हुँदा रहेछन् । नत्र हामी भोकभोकै मर्नुपर्ने थियो ।’
पूर्व मोरङबाट केही युवाले थालेको अभियान यतिखेर देशव्यापी बनेको छ। यसलाई फुड बैंकको नाम दिइएको छ। दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउनेलाई राहत दिने उद्देश्यले लुभू महालक्ष्मी युवा क्लबले पनि लुभुमा फुड बैंक संचालनमा ल्याएको छ । अभियानमा अहिले स्थानीय सहयोग र सहभागिता बढेको छ।
दैनिक जीवनयापनमा आएको जटिलता र रोजीरोटी गुमाएका मजदुर परिवारलाई लक्षित गरी लुभू महालक्ष्मी युवा क्लबले यो कार्यक्रम सञ्चालनमा ल्याएको क्लबका अध्यक्ष नविन्द्र देव सिंहले बताए। सिंहका अनुसार कोही पनि भोकै बस्नु नपरोस् भन्ने उदेश्यका साथ सञ्चालनमा ल्याइएको फुड बैंकबाट ८ औं दिनसम्म आइपुग्दा करिब २ हजार जनाले खाद्यन्न सामाग्री प्राप्त गरिसकेका छन् ।
‘मजदुर परिवारका पीडा र विशेष गरी भोको पेटलाई लक्षित गरी फुड बैंक सञ्चालनमा ल्याएको हो, सिंह भन्छन्, ‘फुड बैंकमा आदि केजी दाल, दुई केजी चामल, नुन, आदि खाध्य सामाग्री राखिएको छ ।’
स्थानीय सरकारसँग समन्वय गर्दै संचालन गरिएको यो अभियानको लुभू महालक्ष्मी नगरपालिका ८ का वडाअध्यक्षले सुभाराम्भ गरेका थिए। तर स्थानीय सरकारबाट जिन्सी वा आर्थिक सहयोग अहिलेसम्म भएको छैन। क्लबका अध्यक्ष सिंह भन्छन्, ‘तर यस्तो संकटका बेला सरकारको मात्रै मुख ताक्नु हुँदैन। हामी जस्ता युवाको पनि दायित्व हुन्छ। त्यही सम्झेर हामीले यो अभियान चलाएका हौं।’
समान दिन र लिन आउनेका लागि सुरक्षाका मापदण्ड अपनाइएको छ । राहत लिनुअघि साबुन पानीले हात धुने, स्यानिटाइज्ड गर्ने, सामाजिक दुरी कायम गर्ने र मास्कको व्यवस्था मिलाइएको छ । फुड बैंकसम्म आउन नसक्नेहरुका लागि भने सुरक्षित तवरले घरसम्म नै खाद्यन्न पुर्याउने व्यवस्था मिलाइएको छ ।
यो अभियानमा स्थानीयबाट पनि राम्रो सहयोग र सहभागिता पाएको क्लबका सदस्य रविन्द्र मर्हजनले बताए। बैंकमा अहिलेसम्म दुई लाख बराबरको खाद्यान्न र आर्थिक सहयोग पुगेको छ । यसले साँझ-बिहान छाक टार्न कठिन भएकाहरूलाई राहत पुगेको छ ।
यो अभियानमा अरु स्थानीय संस्था तथा राजनीतिक संगठनहरुले पनि सघाएका छन् । कोरोना महामारीका बेला युवाको सक्रियतामा भएको यो काम प्रशंसनीय रहेको तरुण दलका अध्यक्ष जीत सिंह बस्नेत बताउँछन् । उनी भन्छन् ‘यस्ता सामाजिक कार्यक्रमलाई हामीले पनि सक्दो सहयोग गर्छौ।’ यस्तो अभियानमा स्थानीय सरकारले पनि सघाउनुपर्ने उनी बताउँछन् ।