चन्द्रगढी विमानस्थलमा यात्रु लामवद्ध, विमान भने थिएन
झापा : आइतबार बिहान एक्कासी चन्द्रगढी विमानस्थलमा हातमा बोर्डिङ पास बोकेका करिब ७० जना व्यक्ति ह्वार ह्वारर्ती विमानस्थल छिरे । काठमाडौं उडानका लागि विमानस्थल पुगेका उनीहरु सबैका हातमा टिकट र ब्याग थिए ।
विमानस्थलको गेटमा कर्मचारीले उनीहरुलाई स्यानिटाइजर छर्किदिए । गेटभित्र छिरेका यात्रुहरु १–१ मिटरको दूरीमा लामवद्ध भए । लामवद्ध यात्रुलाई मास्क, स्यानिटाइजर र फेस सिल्ड विमानस्थल कम्पनीले उपलब्ध गराएका थिए ।
त्यसपछि यात्रुहरु बोर्डिङ पास लिएर उडानको प्रतिक्षामा सेक्युरिटी जाँच गरेर भित्र छिरे । भित्र छिरेका यात्रु प्रतिक्षालयमा लस्करै राखिएका कुर्सीमा दुरी मिलाएर बसेका थिए । त्यसपछि यात्रुहरुलाई बोर्डिङ पास जाँच गरेर विमानतर्फ उडानको लागि पठाइयो । यो सबै गरिराख्दा ग्राउण्डमा विमान भने थिएन ।
कोरोना महामारीको जोखिमका बीचमा उडानको तयारीका लागि अभ्यास मात्र गरिएको थियो ।
झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले कोभिड–१९ को महामारीका बेला उडान सुरु हुँदा अपनाउनु पर्ने सजगताका बारेमा आइतबार उडानको पूर्वतयारी गरेको हो ।
सरकारबाट जारी भएको सुरक्षा निर्देशिका अपनाएर आन्तरिक उडान खुलेपछि यात्रुलाई कोरोना जोखिमबाट जोगाएर उडान गराउन सकिन्छ कि सकिदैन भन्ने अभ्यास भएको विमानस्थल प्रमुख मुरारी पौडेलले जानकारी दिए।
लामो समयदेखि विमानस्थल बन्द भएपनि चन्द्रगढी विमानस्थलले विमानस्थलको मर्मत सम्भारमै ध्यान दिइरहेको छ । पौडेलले भने, ‘उडान रोकिएको समयलाई पूर्णरुपमा सदुपयोग गरिएको छ । सुरक्षा सर्तकतामा विशेष ध्यान दियौँ ।’सरकारले जुनबेला पनि अब उडानको तालिका सार्वजनिक गर्न सक्छ । यात्रुहरुलाई संक्रमणको जोखिम कम गर्न कुनै कसर बाँकी नरादिने पौडेलले बताए । पौडेलका अनुसार विमानस्थलमा भौतिक दूरी सहितका जानकारी मुलक रङरोगन लगाउने काम सँगै पुराना संरचनाको मर्मत–सम्भार गरिएको छ ।
आइतबार जिल्लाका पर्यटन व्यावसायी, ट्राभल व्यावसायी र सञ्चारकर्मीलाई विमानस्थलले जोखिमका बीचमा उडानका लागि गरेको तयारी बारे जानकारी गराएको थियो ।
विमानस्थल प्रवेश गर्ने ठाउँमा साबुनपानीको व्यवस्थादेखि प्रतिक्षालयमा एक कुर्सी पछि अर्को हटाएर बिचमा खाली छोडिएको छ ।
चन्द्रगढी विमानस्थलले विमानस्थलको ग्राउण्ड मर्मत सम्भारको कामलाई पनि निरन्तरता दिइरहेको छ । पछिल्लो समय विमानस्थलको पश्चिम–उत्तर भागमा रहेको पुरानो घेराबार भत्काएर नयाँ तारबार लगाइसकिएको छ । विमानस्थल प्रमुख पौडेलका अनुसार विमानस्थलको मुख्य गेट देखिको केही भाग पनि कालोपत्रे गरिएको छ ।