अज्ञात रोगले मर्न थाले मुस्ताङमा 'हिमाली नाउर'
जोमसोम :विश्वकै अग्लो उचाइमा अवस्थित तिलिचो पदमार्गको मुस्ताङतर्फ पर्ने मेसोकोन्दो लेकमा हिमाली वन्यजन्तु नाउर धमाधम मर्न थालेका छन् । अन्नपूर्ण संरक्षण आयोजनाअन्र्तगत पर्ने मुस्ताङको ठिनीहुँदै तिलिचो पदमार्गको उच्चलेकमा पछिल्लो समय वन्यजन्तु नाउर अज्ञात रोगले मर्न थालेका हुन् ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाको वन्यजन्तु वर्गीकरण नियमावली अनुसार नाउर अर्धसंरक्षित प्रजातीको रुपमा मानिएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड—१९ का कारण मुस्ताङका व्यवसायी तिलिचो भ्रमण गर्ने क्रममा वन्यजन्तु नाउर उच्चलेकमा मृत फेला परेको हो ।
तिलिचोबाट फर्किएका केही व्यक्तिहरुले उच्चलेकमा नाउर रोगव्याधीले मरेको खबर गराएपछि अहिले एक्यापको प्राविधिक तथा संरक्षण व्यवस्थापन समितिको टोली घटनास्थलतिर जाँदै गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए ।
कार्यालय प्रमुख दाहालका अनुसार प्रारम्भिक जानकारीमा ३ वटा हिमाली नाउर मरेको पुष्टि भएको छ । लेक पुरै चाहार्दै गएपछि कति संख्यामा मरेको भन्ने एकिन गर्न सकिने कार्यालय प्रमुख दाहालले स्पष्ट पारे ।
तिलिचो घुमेर फर्किएका व्यक्तिहरुले उच्चलेकमा बस्ने याकचौरी गोठालासँग सोधपुछ गर्दा नाउरहरुमा आँखा पाक्ने समस्या देखिएको हो । जस्तोसुकै अप्ठ्यारोमा पनि सहजरुपमा आउजाउ गर्न सक्ने वन्यजन्तु नाउर आँखामा रोग लागेपछि आँखा देख्न छाडी भीरबाट लडेर मर्न थालेको जनाइएको छ । २ दिनअघि तिलिचो पुगेर फर्किएका जोमसोमका स्थानीय विकल गुरुङले उच्चलेकमा दर्जनौं नाउर मरेको हुनसक्ने आशङ्का व्यक्त गरे ।
एक्याप जोमसोमले वन्यजन्तु के कारण र कसरी ? कुन प्रकारको रोग लागेको हो भन्नेबारे अनुसन्धान गरिने जनाएको छ । एक्याप प्रमुख दाहाले घटनास्थलबाट टोलि फर्किएपछि मरेका नाउरको र्याल संकलन गरी राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगतको जैविक विविधता केन्द्र चितवनको प्रयोगशाला पठाइने जानकारी दिए ।
र्याल ल्याबमा पठाउने तैयारी भएको छ । प्रयोगशालाको अनुसन्धानपछि रोगको पहिचान हुने र त्यसको रोकथामका लागि आवश्यक पहल गरिनेछ । समुन्द्री सतहबाट करिब ३ हजारदेखि ५ हजारभन्दा बढी उचाइसम्मको उच्चलेक नाउरको मुख्य बासस्थान हो । मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउपालिकाको कोवाङदेखि माथिका उच्चलेकमा नाउर पाइने गर्छ । गर्मीयामको मौसममा नाउर पानी खान कालिगण्डकी नदीमा आइपुग्छन् ।
हिमाली क्षेत्रका भूगोलसँग मिल्दो नाउरको प्राकृतिक विशेषताले नजिकैबाट ठम्याउन सकिदैन । मुस्ताङमा अधिकांशले बुद्ध धर्म मान्ने भएकाले बस्ती नजिक आएका नाउरको शिकार गर्दैनन् ।
स्तनधारी जनावरको रुपमा चिनिने नाउर नेपालका हिमाली जिल्लामा पाइने गर्छ। नेपाल र तिब्बतमा नाउर पाइन्छ । हिमाली क्षेत्रमा नाउरको ५ वटा प्रजाति रहेको पाइन्छ । त्यसमध्येको नेपालमा धेरै पाइने मुख्य हिमाली भेडा नाउर नै हो । यसको पेट तथा सपेटामा हल्का खैरो र अन्य भागमा खैरो रङ्ग हुन्छ। नाउर गर्मी समयमा करिब १५ हजार फिटभन्दा माथि नै बस्ने गर्छ । जाडो समयमा अलि तल झर्ने गर्छ । बिहान र साँझपख मात्रै आहाराका लागि निकै सक्रिय हुने गर्छन् ।