रातो मच्छिन्द्रनाथलाई बुङमती लगियो
ललितपुर : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङमती लगिएको छ। सोमबार दिउँसो ३ बजे बुङमतीतर्फ लगिएको हो। आठ जना पुजारीले भगवानलाई खटमा हालेर लगेका छन्। चारैतिर नाका बन्द गरेर प्रहरीले सुरक्षा दिएपछि अगाडि पछाडि विभिन्न थरीका बाजासहित लगिएको थियो।
यो वर्ष जाउलाखेलमा पुर्याएर भोटो देखाउन र रथ तानेर पाटनका विभिन्न ठाँउ पुर्याउन सकिएन। मच्छिद्रनाथका पुजारी पुर्णराज शाक्यका अनुसार आज बिहान १० बजेर १५ मिनेटमा मच्छिन्द्रनाथलाई लैजानुपर्ने शुभ साइत थियो। बिहान मुर्तिलाई एक ठाउँबाट अलिकति सारेर ३ बजे लैजाने तय भएपछि लगिएको उनले बताए। पुजारीहरु पैदलै बुङमती पुग्छन्।
खोकना दोबाटोदेखि छ्वाली बाल्दै बाल्दै मच्छिन्द्रनाथलाई लगिने उनले बताए। आज बेलुका ७/८ बजेसम्म भोज खाइन्छ। बुङमती पुगेको चार दिनमा फेरि अर्को भोजसँगै यस वर्षको जात्रा सकिने उनले बताए। उनले भने, 'खुशी लागेको छ। ढिलै भएपनि जात्रा टुङोमा पुग्यो।' कोरोनाका कारण पाँच महिनादेखि जात्रा अलपत्र परेको थियो।