ट्विटरमा भाषा सिकाउँदै
काठमाडौं : प्रायः सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो योग्यता, कार्यालयमा आबद्धतालगायत विवरण संलग्न गरी चिनारी दिएका हुन्छन्। उनको ट्विटर चिनारीमा भने योग्यता, कार्यालयमा आबद्धता नभई केवल उल्लेख छ, ‘नेपाल र नेपाली भाषालाई प्रेमसाथ सम्मान गर्छु। भाषा बिगारेको देख्दा दुःखित हुन्छु। पारदर्शिता र मेहनतमा विश्वास लाग्छ।’
ट्विटरमा उनका करिब साढे १३ हजार फलोअर छन्। अरूले भाषा बिगारेर गरेको ट्विट देख्नेबित्तिकै उनलाई सिकसिको लाग्छ। र, गलत सम्प्रेषित सबै शब्द इंगित गर्दै सुधारेर रिट्विट गर्छिन्, ‘शुद्ध लेखौं र नेपाली भाषालाई सम्मान गरौं।’ उनी हुन्, बर्दिया घर भएकी झापाकी कृतिका थारू। ट्विटरमा उनको हेन्डल ‘नेपालीमान ८’ रहेको छ।
पछिल्लोपटक नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको निर्णयबारे जानकारी दिएको स्ट्याटसमा उनले ६ वटा शब्दमा अशुद्धि औंल्याएकी छन्। राप्रपाका नेता कमल थापा आफ्नो भाषा सुधारिदिएकोमा उनीप्रति आभारी छन्। ३१ असारको स्ट्याटसमा थापाले लेखेका छन्, ‘मेरो ह्रस्वदीर्घ र शब्द विन्याससम्बन्धी ज्ञान कमजोर छ। ‘नेपालीमान ८’ले सच्याई दिनुभएमा र सिकाई दिनुभएमा अप्ठ्यारो मान्ने छैन, खुसी हुनेछु।’
प्रायः अनलाइनका समाचार मात्रै होइन, मूलधारका पत्रिकामा पनि भाषाको कन्तबिजोग छ। यस्तोमा सामाजिक सञ्जालमा भाषा शुद्ध खोज्नु गाह्रो काम हो। किनकि कुरा बुझे भैगो नि भन्ने तर्क गरिन्छ। यसरी भाषामा शुद्धता आउँदैन भन्ने मनन गरेर कृतिले नेपाली भाषा सुधारलाई अभियानको रूपमा लाने सोच बनाइन्।
कृतिकाले विद्यार्थी राजनीतिबाट आएकी रामकुमारी झाँक्रीलाई दिदी कमसेकम ‘विद्यार्थी’ शब्द त शुद्ध लेख्नोस् भन्ने आग्रह गरेकी छन्।
आक्कलझुक्कल कृतिकाले पोस्ट् गर्ने शब्दमा पनि गल्ती हुन्छ। यस्तोमा ट्विटेहरूको प्रतिक्रिया हुन्छ, ‘क्या हो, गुरुमा भएर नि गल्ती गर्ने ? ’ यसरी ट्विटर प्रयोगकर्ताहरू उनलाई भाषा सिकाउने गुरुआमा भन्न थालेका छन्। हालै कृतिकाले बुक हिलका प्रकाशक भूपेन्द्र खड्काले ट्विट गरेको स्ट्याटसलाई लिएर चन्द्रबिन्दु र शिरबिन्दुको फरक सुझाएकी छन्। विद्यार्थी राजनीतिबाट आएकी रामकुमारी झाँक्रीलाई दिदी कमसेकम ‘विद्यार्थी’ शब्द त शुद्ध लेख्नोस् भन्ने आग्रह गरेकी छन्।
एक वर्ष भयो, कृतिकाले भाषिक शुद्धता अभियान चलाएको। भन्छिन्, ‘नेपाल आएपछि पो थाहा पाएँ, प्रायःले नेपाली भाषाको हुर्मत काटिरहेका रहेछन्। अनि विशेषतः राजनीतिकर्मी, प्राध्यापक, चिकित्सक र केही सामाजिक अभियन्ता जसलाई नेपाली समाजले बढी सुन्छ र हेर्छ; उनीहरूको स्ट्याटसबाटै सच्याउने अभियान सुरु गरेकी हुँ।’
आफ्नो स्ट्याटसमा शुद्ध लेख्न सुझाएपछि सबैलाई कहाँ पच्छ र ? केहीले उनलाई तीतो वचन लगाए। त्यसैले कृतिकाले ट्विट गरिन्, ‘शुद्ध लेखौं र नेपाली भाषालाई सम्मान गरौं’ भन्ने भाषा सुधारको अभियानलाई साथ दिएर मन पराई दिनुहुने सम्पूर्णमा धन्यवाद। कसैलाई यसबाट दिक्क लागे कृपया जानकारी गराइदिनुहोला। अबदेखि दिक्क नलगाउने निर्णय गरेकी छु।’
उनको त्यस्तो स्ट्याटसमा प्रदेश १ योजना आयोग प्रमुख सुबोध प्याकुरेललगायत धेरैको भाषिक सुधारको अभियानलाई नरोक्न आग्रह आयो। एकजनाले लेखे, ‘जारी राख्नुहोला, बिनाशुल्क कक्षा लिइरहेको महसुस भइराखेको छ।’ अर्कोले लेखे, ‘अभियान जारी राख्नुहोला। दिक्क मान्नेहरू मान्दै गरून्।’
ट्विटरमा आएका यस्ता प्रतिक्रियापछि नेपाली भाषा सुधार्ने कृतिकाको अभियान जारी छ। उनले लकडाउनको यो बीचमा ट्विटर प्रयोगकर्तालाई ट्विट गर्दै व्याकरण सिकाइन्। उनले प्रस्ट्याइन्, ‘मैले सुधारको कार्य बन्द गर्ने भनेकी होइन तर कति व्यक्तिलाई बिगार्न र बिग्रिएकै भाषा मन पर्छ रे, मैले त्यस्ता दिक्क मान्नेहरूको मात्र नसुधार्ने भनेकी हुँ।’
वर्ष दिनपहिले कृतिकाले ‘आउनुहोस् मसँगसँगै संस्कृत सिकौं’ भन्दै संस्कृतको शब्दार्थ दिने अभियान थालेकी थिइन्। कृतिका अमेरिकामा लामो समय पढिन्। यस्तोमा अंगे्रजी त त्यसै पनि राम्रो तर नेपाली लेखन चुनौतीपूर्ण थियो। मेहनत गरेर नेपाली सुधारिन्। प्रयोग हुने माहोल नहुँदा उनको आफ्नै थारू भाषा भने कमजोर भएको छ।